बुद्ध दर्शन नै अहिलेको आवश्यकता
Posted by Ram Kumar Shrestha on July 5, 2010

By लक्की चौधरी
इसाको छैठौ शताब्दीलाई धार्मिक क्रान्तिको युगले चिनिन्छ, जसको प्रणेता नेपाली दार्शनिक सिद्धार्थ गौतमबुद्ध हुन्। नेपालको प्राचीन इतिहासमा यिनको स्थान अत्यन्त महत्वपूर्ण भए पनि वर्तमान अवस्थामा भने दिवसमै सीमित छ उनको इतिहास। बुद्धको महानता र दर्शनकै कारण विश्वमा उनी प्रख्यात भए। यद्यपि विश्वकै चर्चित दार्शनिक र वैज्ञानिककारुपमा चिनिएका महावीर जैन, प्लेटो, अरिस्टोटल, लाउन्स पनि बुद्धकै सहस्राब्दीका महापुरुषहरु थिए तर बुद्धकोजस्तो ख्याती भने कमाउन सकेनन्। नेपाली धरतीमाताको कोखबाट जन्म लिएर, नेपाल र नेपालीको लागि उच्चतम शान र नक्षत्रको रुपमा रहनुपर्ने गौतमबुद्ध नेपालीबाट नै उपेक्षित हुनुहुन्छ, जुन दुर्भाग्यपूर्ण छ। विश्वमा कैयौं मुलुकले बुद्धलाई महानतम दार्शनिक र नक्षत्रको कोटीमा राखेर उनको अनुयायी बनेको छ र बौद्ध धर्म अङ्गालेको छ तर नेपालमा बुद्धलाई सम्मान गरी यस धर्म अङ्गालेको नेपालीको प्रतिशत जम्मा १.४५ (२०५८ जनगणना अनुसार) देखिनुले पनि बुद्धप्रतिको लगाव स्पष्ट हुन्छ।
गौतमबुद्धको जन्म ई.पू. ५६३ मा कपिलबस्तुको शाक्यकुलमा भएको मानिन्छ। सिद्धार्थका आमा मायादेवी आफ्नो माइतीघर कोलिय राज्यको देवदह जाँदै गर्दाको अवस्थामा लुम्बिनीको एक आँपको बगैचामा उनलाई जन्म दिएको मानिए पनि जन्म भएको सात दिनमा नै उनको देहान्त भएको र उनको सौतेनी आमा महाप्रजापति गौतमीले पालनपोषण गरेको आधारप्रमाण देखिन्छ। गौतमबुद्ध आफू कुल घरानामा जन्मेर पनि आफूलाई कुलीनतामा कहिल्यै समाहित गरेनन्। उनको पीता शुद्धोधन छोरामा साधुको छाप नपरोस भनेर एक सुन्दर केटी खोजेर सानै उमेरमा यशोधरासँग विवाह गरिदिएका थिए तर सोचाई अनुसार बुद्ध परिवर्तन भने भएनन्। छोरा राहुल जन्मेकै दिन २९ वर्षको उमेरमा गौतमबुद्ध घर त्याग गरेका थिए। रोगी, विरामी र सन्यासीका दृश्यबाट उनी साह्रै प्रभावित थिए। रातीको समयमा घर छाड्नु उनको यही कुराको पत्ता लगाउनु थियो कि मानिस बुढो, रोगी भई किन मर्छ? यी कुरालाई एक पाटोमा हेरिए पनि अर्को पाटोमा पनि विभिन्न वैज्ञानिकहरुको मतैक्यता फरक देखिन्छ। अधिकांश विद्वानले उनको गृहत्यागको मुख्य कारण उनको चिन्तनशील प्रवृत्ति तथा मानव जातिप्रतिको कारण भएको मान्दछन्। राजनैतिक कारण यस भन्दा पनि भिन्न विचार देखिन्छ। उनको मावली गाउँ कपिलवस्तुको कोलियगण राज्यबीच बारम्बार रोहणी नदीको पानी बाँडफाँडको विषयलाई लिएर मनमुटाव हुँदा सहन नसकेर उनले गृहत्याग गरेको पनि उल्लेख गरेको पाइन्छ। जे भए पनि कडा तपस्या पछि उनले ३५ वर्षको उमेरमा एउटा पीपलको बोटमुनी बुद्धत्व प्राप्त गरेका थिए। उनले ज्ञान आर्जन गरेको ठाउँ बोधगया हो र त्यस वृक्षलाई बोधवृक्ष भनेर चिनिन्छ। शुरुमा फलफुल बाहेक केही नखाई तपस्या गरे पनि पछि बुद्ध अन्न, जल ग्रहण गरी तपस्या गरे। जसको कारण धेरै ब्राह्मणहरु उनलाई ‘भाते’ भनेर आलोचित पनि गरे। तर पनि बुद्धले भोकै पेट तपस्या नगर्ने सन्देश भने दिए। उसैको परिणाम बुद्धको धम्मपदमा भोकै पेट तपस्या नगर्नु भन्ने उल्लेख भएको पाइन्छ।
बुद्ध आफैमा एउटा मार्गदर्शन भए पनि नेपालीहरु भने उनलाई ‘भगवान’ को संज्ञामात्र दिई पन्छिएको देखिन्छ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमामा झिनो मसिनो बुद्ध जयन्ती मनाएर आफ्नो कर्तव्य पूरा गर्ने काम नेपालीहरु सदियौंदेखि गर्दै आएका भने छन्। यसपाली पनि जेठ १३ गते बुद्ध जयन्ती झिनो मसिनो गरि मनाइने छ र दायित्व पूरा भएको मानिनेछ। बुद्धजस्तो महान दार्शनिकको जन्मस्थल नेपालको कपिलवस्तुलाई नेपाल सरकारले उचित मूल्याङ्कन गरी व्यवस्थित गर्न सकेको भए विदेशी पर्यटकहरुको घुइँचो हुनेथियो र त्यसबाट राज्यलाई धेरै लाभ पनि हुने थियो। तर नेपालमा महापुरुषको जन्म हुनु दुर्भाग्य सावित भएको भान आज भइरहेको छ। विदेशी पर्यटकहरु ठूलो आशा लिएर गौतमबुद्ध जन्मस्थल आउने गरे पनि श्रोतसाधनको अभावकै कारण ठूलो दुःख भोग्दै निराश भएर फर्किन्छन्। गौतम बुद्ध ‘एसियाका तारा’ ले चिनिए पनि हामी नेपालीहरु भने उनलाई नेपाली तारा पनि बनाउन सकेनौं। उनको स्मरण गरी मनाइने जन्मजयन्तीमा नेपाली श्रद्धाकर्ताको आँकलन गरेबाट यो कुराको सहजै पुष्टि हुन्छ।
शान्तिका अग्रदुत गौतमबुद्धकै देशमा विगतका दिनमा भयंकर द्वन्द्व र हत्या हिंसा भए र अझै जारी छन्क। मान्छे मार्ने र मर्ने आजकल चरा मारेझैं भैसकेको छ। उहिले एउटा गाउँमा दुःख बिमारले मान्छे मर्दा पूरा गाउँ नै शोकमग्न हुन्थ्यो। मान्छेप्रति मान्छेको सद्भाव र श्रद्धा त्यसबाट झल्किन्थ्यो। तर अहिले त्यो दिन रहेन। मान्छे मरेको खवर दिनदिनै सुन्दासुन्दा सामान्यप्रायः भइसकेको छ। मान्छेको मानसपटलमा ‘मृत्यु’ शब्दले ठोकर दिन छाडेको छ। मान्छे भएर जन्मिसकेपछि मृत्यु अवश्यम्भावी छ, तर मृत्युलाई सहज बनाउन भने मानवपरक हुनसक्दैन।
विभिन्न विद्वानको हेराईमा बुद्ध फरक–फरक भए पनि थारु जातिको रहनसहन र संस्कृतिसँग मेल खाने हुनाले बुद्धको सन्तानलाई थारुसँग तुलना पनि कतिपय विद्वानले गरेका छन्। यहाँसम्म कि गौतमबुद्धका पुर्खा थारु नै हो भनेर पनि विद्वानले दावी गरेका छन्। तर यो विषय पुष्टि भने भैसकेको छैन। थारु विद्वानले पनि आफूलाई गौतमबुद्धका सन्तान मान्न तयार भैसकेको स्थिति भने छ। यस विषयमा अझ बढी खोज र अनुसन्धान हुन आवश्यक छ।
जातिवादी सोंच व्यापकरुपमा प्रश्रय पाइरहेको स्थितिमा गौतम बुद्धले ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भन्ने कुरा काम र कर्मबाट तय भएको मान्छन्। मानिस समान छन्। होचो, अग्लो र गोरो कालो मात्रै फरक हो, बाँकी सब मानिस एक हो भन्ने सिद्धान्त बुद्धको छ। मानिस मानिस भित्रै उपल्लो जाति, मध्यम जाति र तल्लो जाति नहुने बुद्धको भनाई हो। बुद्धको यस कुराले उनी लोकतन्त्रवादी र गणतन्त्रवादी रहेको स्पष्ट हुन्छ। समानताको कुरालाई उनले जोड्दारले उठाएका छन्। सोझा इमान्दार र शान्तिका पथप्रदर्शक बुद्ध विश्वभरी समानताको पहिचानको सन्देश फैलाएका छन्।
शान्ति र सत्यता अहिले ओझेलमा परे पनि वास्तविकता अन्ततः यही हो। मान्छे आवेशमा आएर धेरै कामहरु गर्छ र विगार्छ, समय क्रमसँगै ठोकर खान्छ र सुधि्रन्छ। आखिरमा सत्यको बाटोमा उसलाई आउन करै लाग्छ। वि.सं. २०५२ साल फागुनदेखि सशस्त्र युद्धको थालनी गरेको आजको शीर्ष पार्टी एकिकृत नेकपा (माओवादी) आखिरमा शान्तिको पक्षमा आउन बाध्य भएकै हो। बन्दुकको युद्धलाई विश्राम दिएर सत्य र शान्तिको पथमा आउनु नै सकारात्मक पक्ष हो। अबको नयाँ बाटो पनि उनीहरुको शान्ति र सत्यले नै तय गर्ने छ। आजको संवेदनशील घडीमा त झन माओवादी लगायत सबै नेपाली सशस्त्र समूह मातृभूमिका महानतम विभूति तथा दार्शनिक गौतमबुद्धको मार्गदर्शनलाई शिरोधार्य गर्नु अपरिहार्य छ। दिवस मनाएर जयजयकार गर्नुभन्दा उनको दर्शन र उनले देखाएको बाटोलाई आत्मसात गरी व्यवहारमा उतार्न सके सबैभन्दा ठूलो स्मरण र जयन्ती त्यही हुनेछ। शान्तिकालागि दुनियासँग राय सल्लाह खोज्दै हिड्नु भन्दा आफ्नै देशबासी बुद्धको शान्तिपथलाई अँगाल्नु नै अहिलेको उत्तम विकल्प सावित हुनेछ। जय बुद्ध!
































