किन बनायो भारतले आफ्नै लुम्बिनी ?
Posted by Ram Kumar Shrestha on September 24, 2011
By डा.विनिता
नेपालको लुम्बिनी र बुद्धको देश नेपाल भन्ने भनाईबाट कसैलाई बढी आपत्ति छ भने त्यो विश्वकै एकमात्र देश भारत हो। अहिले लुम्बिनीमा ३ अर्ब लगानी गर्न आएका चीन लगायतका बौद्धमार्गीलाई कसैले अप्ठेरो पार्दै आपत्ति प्रकट गरेको छ भने त्यो भारतले हो। भारतकै दबाब झेल्न नसकेर संस्कृति सचिव मोदराज डोटेलले राजीनामा समेत दिएका छन्। एपेक टोली नेपाल आएर राजनीतिकर्मीहरुलाई भेट गरेको छ र लुम्बिनीसमेत भ्रमण गरिसकेको छ। लुम्बिनी विकास कोष र सरकारले आफूले खर्च गर्न नपाएपछि हामीलाई थाहै नदिएको भन्ने आरोप लगाएका छन्। बुद्धको आसन भनेर लुम्बिनीको बोधीबृक्ष काटेर पिर्का बनाउँदै डलरमा बेच्ने र बुद्धका नाममा विदेश भ्रमण गरेर व्यक्तिगत स्वार्थपूर्ति गर्नेहरु चीनको यो लगानी प्रकरणबाट आत्तिन पुगेका छन्।
लुम्बिनीमा ३ अर्ब खर्च हुने अव निधो भाइसकेको छ। मक्का वा भेटिकनजस्तै लुम्बिनी बन्नेमा पनि कसैलाई शंका छैन। तर युनिडो र चीनको संलग्नताले भारतलाई कडा खालको भाइरल ज्वरो आएको छ। भारतले ठूलै लगानी गरेर दुस्प्रचार गर्ने र यो योजनालाई तुहाइदिन पसिना चुहाउन थालिसकेको छ। भारतले आफ्नो देशमा नक्कली लुम्बिनी बनाइरहेको छ र अन्तर्राष्ट्रिय स्तरमै बुद्ध भारतमा जन्मिएका हुन् भनेर अनेकन प्रचार गरिरहेको छ। भारतको यस्ता आपत्तिजनक कार्य र दुस्प्रचारको नेपालले हालसम्म कुनै पनि जवाफ फर्काएको छैन। लुम्बिनीको विकास हुँदा बौद्ध पर्यटन र लुम्बिनी बौद्ध अध्ययन केन्द्रका रुपमा विकसित हुने निश्चित छ। हो, धर्मको आवरणमा आपत्तिजनक र अराष्ट्रिय काम नहोस् भनेर राज्यले सतर्क हुनैपर्छ। तर राष्ट्रसंघकै संलग्नतामा ३ अर्बको जुन योजना कार्यान्वयनमा आउन लागेको छ, यसमा नेपालका कसैले पनि आपत्ति प्रकट गर्नुपर्ने कारण देखिन्न। भारतले आफ्नो स्वीकृतिबिना नेपालका दक्षिण भेगमा कुनै पनि अन्तर्राष्ट्रिय योजना सुरु गराउनुमा टाउको दुखाएको हुनसक्छ, त्यसका लागि राजनीतिक नेतृत्वले भारतलाई यो योजना नितान्त बुद्धधर्म र लुम्बिनीको धार्मिक विकास योजना हो भनेर बुझाउन सक्ने ताकत र क्षमता देखाउनु पर्छ।
भारतले मुगु र मुस्ताङ, सोलु र सल्लेरीसम्म आर्थिक सहयोगका प्याकेज लगेकोतर्फ पनि हेर्नुपर्छ। त्यसमा चीनले कुनै आपत्ति प्रकट गरेन। चीनको सहयोग तराईमा हुनासाथ कम्युनिजम बढ्छ भन्ने भारतको कमजोर सोचाई हो। नेपालमा भारत र पश्चिमा मुलुकले तिब्बत टुक्र्याउने अभियान र बिद्रोहको आगो फुकिरहेको समाचार आइरहेका छन्। तैपनि चीनले आफ्नो सुरक्षाचासो आफैले राख्ने र नेपाललाई सतर्क पार्ने बाहेकको हस्तक्षेपकारी भूमिका खेलेको देखिन्न। प्रश्न के पनि छ भने समाजसेवाका नाममा भारतले अब त गुम्बा निर्माणमा समेत आर्थिक सहयोग गर्न थालेको छ। चीन त बौद्धमार्गी मुलुक नै हो, उसले लुम्बिनी विकासमा सहयोग गर्न आयो त, कसैले यस विषयमा अर्घेलो गर्नुपर्ने कुनै तार्किक कारण देखिन्न।
एपेक भन्ने संस्थाले बुद्धलाई बदनाम गर्न अथवा नेपालमा कुनै बदमासी गर्न थालेको छ भने त्यसबारे नेपाली जनतालाई थाहा हुनुपर्छ। संविधानसभा, संसद छ, सरकार छ भने अपवित्र उद्देश्य लिएर आएको देखिएमा एक मिनेटमा एपेकको विषालु हातलाई रोक्न सकिन्छ। होइन, चीनले सहयोग गर्न लागेको विषयमा कोरा आपत्ति भारतलाई भएको हो र उसले प्रभाव र दबाब दिन थालेको हो भने यो असह्य विषय हो।
नेपालका लागि भारत बढी नजिक छ, यो १८०८ किलोमिटर खुला सीमाका कारणले र अन्य कारणले पनि सही हो। तर परराष्ट्रनीतिका दृष्टिले हेर्ने हो भने नेपालले सधैं समदूरीको नीति अख्तियार गर्दै आएको छ र कमजोर सरकार भएकाले त्यसमा २० को १९ भएको हुनसक्छ। कतिपय नेताहरु दिल्लीको भरमा टिकेका हुनाले पनि भारतको पलडा भारी भएको हुनसक्छ। त्यत्तिकै आधारमा टाइम्स अफ इण्डियाले लेखेजस्तो चीनले स्वार्थपूर्ण ढङ्गले लुम्बिनीमा लगानी गर्न लागेको भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो। यसबाट भारतको दुच्छर चरित्र सार्वजनिक हुदैछ र नेपालको विकास भारतले कुनै पनि हालतमा चाहेको छैन भन्ने पनि देखिदैछ। भारतको यस्तो प्रभुत्ववादी चरित्रले भारतलाई नै नोक्सान छ। भारतले आफू सबल र शक्तिशाली हुने हो भने छिमेकी राष्ट्रहरुको ताकत र क्षमताबृद्धिमा सकारात्मक सोच र सहयोग बढाउनु पर्छ। यस्ता नकारात्मक सोचले भारतको मन सानो छ भन्नेमात्र देखिन्छ। भारत अझै पनि आफूलाई सच्याउन खोज्दैन, आश्चर्य लाग्छ।
@We love Nepal

































Govinda Khanal said
नेपाललाई भुटान जस्तै कमजोर बनाँउदै सिक्किमिकरण गर्ने भारतको अभिष्ट रहेको भारतका कयँन गतिविधिबाट अनुमान गर्न सकिन्छ । झनै लुम्बिनिको विषयमा भारतको जलनले सम्मपूर्ण राष्ट्रप्रेमी नेपालीहरुलाई उपहास गरेको छ । विभिन्न प्रकृतिबाट अन्तराष्ट्रिय रुपमा बुद्धको जन्मस्थल भारतहो भन्न पछि नपरेको भारतले बालबालिकाहरुको पाठ्यक्रममा समेत यस्ता भ्रम छर्ने गरेको छ । यस्ता राष्ट्रिय साख गिराउने जस्ता भारतीय गतिविधिको खुलेर विरोध गर्नु आम नेपालीको धर्म हो । सरकार किन मौन रहन्छ यस्ता सवालमा ? किन यस्ता झुटको सामना गर्न आँट गर्दैन ? आम नेपालीको प्रश्न यस्तै रहेको छ । भारतको लुम्बिनी बिरुद्ध अभियानलाई निश्तेज पार्न सबैले आफ्नो कर्तव्य ठानौँ र आजै देखी लागि परौँ ।