Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बर्तमान नेपालको राष्ट्रियता र विस्व शान्तिका सूत्राधार बुद्ध र कपिलवस्तु दिवस अभियान

Posted by Ram Kumar Shrestha on October 31, 2011

By रामकुमार श्रेष्ठ,  विस्व संयोजक कपिलबस्तु दिवस अभियान
[यही अक्टोबर २९-३१, २०११ मा लण्डनमा भएको नेवारहरुको पहिलो विस्व भेलामा प्रस्तुत कार्य पत्र हो यो । उक्त भेलामा संस्कृतिबिद सत्य मोहन जोशी, सभासद भान्टे आनन्द पथ, मानब अधिकारबादी समाजसेवी पद्मरत्न तुलाधर, प्रो मणिक लाल श्रेष्ठको समेत सहभागिता थियो । भेलामा अमेरिका, बेल्जियम, हल्याण्ड, नेपाल र वेलायतका प्रतिनिधिहरुले भाग लिएका थिए । ]
पृष्ठभूमि: समाज जहाँ छ त्यसैमा चित्त बुझाई रहने, समाजले जे मान्ने र स्वीकार्ने गरेको छ त्यही नै संधै मान्न र स्वीकार्न खोज्ने, समाजले जुन कुराहरुलाई जसरी बुझिरहेको छ त्यस्लाई त्यसरी नै मात्र बुझ्न खोज्ने जस्ता प्रबृत्तिले न त मानिस महान बन्न सक्छ न त समाज अगाडि बढन नै । यसरी समाजमा विद्यमान अप्रगतिशील मान्यताहरुलाई तात्कालिन अवस्थामा सामना गर्नु पर्ने अनेकन जटीलता, कठीनता र ब्यबधानका बाबजुद पनि अस्वीकृत गर्दै अगाडि बढ्ने क्रममा प्राप्त प्रतिफलहरुलाई के कस्तो तबरले के कति हदसम्म स्वीकार्य बनाउँदै अगाडि बढन र बढाउन सक्षम भइन्छ तदनुरुप नै महानताको स्वरुप पनि निर्धारित हुन सक्छ । युवराज सिद्धार्थ मूलत: धार्मिक तथा दार्शनिक चिन्तनका दृष्टिले बौद्धिक जगतमा आमूल परिवर्तनकारी सिद्धान्तका प्रतिपादक, शान्तिका अग्रदूत एवं सर्वमान्य महामानव गौतम बुद्धका रुपमा रुपान्तरण हुनुको कसी र आधार यही नै हो । र जीवनको अर्थ बुझ्ने क्रममा उहाँद्धारा गरिएका त्याग र ततपस्चात प्राप्त संपूर्ण सफलताका कारण सिंहासनभन्दा जनताको दिलको आशन महत्वपूर्ण भन्ने भनाइलाई चरितार्थ बनाउने सबभन्दा राम्रो उदाहरण संपूर्ण मानब इतिहासमा बुद्ध नै हुनुहुन्छ भन्ने कुरामा बिबाद गरिराख्नु पर्ने देखिन्न । त्यसैले बुद्धको बिस्वब्यापी महत्व हुनु स्वाभाबिक देखिन्छ र छ पनि । बुद्ध ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज हुनुहुन्छ र त  करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा पनि झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित  उहाँप्रति संपूर्ण जाती, धर्म, सम्प्रदाय नमस्तक भएका छन । यो नै हो मैले बुझेको र परिभाषित गरिने श्रद्धेय बुद्ध ।
ब्यक्तिको महानतासंगसंगै निजसंग सम्बन्धित हरेक कुराको महत्व पनि बढन थाल्छ । बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको दृष्‍टिकोणले । त्यसैले युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा  समाबेश गरेको हो १९९७ मा ।
बुद्ध अनेकतामा एकता कायम गर्ने बर्तमान नेपालको राष्ट्रियताको प्रमुख सूत्राधार मात्रै नभएर उहाँद्धारा प्रतिपादित बुद्धिज्म युद्ध र अशान्तिले ग्रस्त बर्तमान बिस्व परिबेशमा विस्व भातृत्व एबं विस्व शान्तिका सूत्राधार पनि मानिन्छ ।
बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रमको कारण: बिस्वमा करीब ५० करोड बुद्धिस्ट छन भने बिस्वभरि बुद्धिज्मलाई धर्मभन्दा बिज्ञानको रुपमा लिने पनि लाखौं छन । अत: बुद्ध नेपालमा जन्मनु भएको कारण नेपालीहरु गर्बान्वित हुनु स्वाभाबिकै भए तापनि उहाँको विस्वब्यापी महत्वका कारण उहाँ बिस्वकै साझा संपत्ति भएको यथार्थतालाई पनि बिर्सनु  हुन्न । त्यसैले बुद्धलाई आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । बुद्ध सबैको साझा भएको कारण बुद्ध जन्मस्थलबारेको यो बिबाद निरर्थक भनेर भन्नेहरु यहींनेर चुकेको देखिन्छ । प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ निरर्थक बिबादको नभएर बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थल दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याउँदै उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको नभएर विस्वब्यापी महत्व भएकाले उनको जन्मस्थलबाट नाजायज किसिमले फायदा लिन बिस्वब्यापी दिग्भ्रम सिर्जना गर्ने प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । सत्यको रक्षा गर्दै विस्व जनमतलाई दिग्भ्रमित अवस्थाबाट मुक्त पार्न यथासक्य प्रयास गर्नु हाम्रो कर्तब्य हो भने शान्ति र सत्यका प्रतिमूर्ति बुद्धप्रति गरिने सच्चा आदर र कदर पनि ।
नक्कली लुम्बिनी निर्माण र यस्का असारहरु:  बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुसँग सीमा जोडिएको उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम भएको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । बिस्वका अधिकांश बौद्धमार्गी समेत बुद्ध नेपालमा जन्मिनु भएको भन्ने कुरामा अनभिज्ञ छन । म्यानमार लगायत केही पक्षबाट गरिने झिनो प्रकृतिको दावीले नेपालको लागि खासै असर पार्ने देखिन्न, तर भारतद्धारा निर्माणाधिन नक्कली कपिलबस्तु नेपालको सक्कली कपिलबस्तुबाट अत्यन्तै नजिक हुनु, पर्यटकहरुका लागि अत्याबस्यक कुराहरु नेपालमा भन्दा भारततिरै धेरै राम्रो हुनु, भारतको संचार जगत र ट्राभल एजेन्सीहरु नेपालको तुलनामा धेरै सशक्त हुनु र लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्वका धेरै मानिसहरुलाई बुद्धको जन्मभूमिका बारेमा दिग्भ्रमित पारिनु जस्ता कारणहरुले  गर्दा  बुद्धिस्ट एबं बुद्धको बारेमा चाख राख्ने पर्यटकहरु बुद्धको जन्मभूमि जाने भनेर भारत घुमेर फर्कनेहरुको संख्या अत्यधिक हुने गरेको पाईन्छ ।  सुन्दा यो आस्चर्यजनक भए तापनि यथार्थ हो र यो नेपालको राष्ट्रियता र आर्थिक बिकासका दृष्‍टिकोणले अत्यन्तै संबेदनशील बिषय पनि ।  र अर्को महत्वपूर्ण कुरो बुद्ध र बुद्ध धर्ममा आस्था राखेर बुद्धको जन्मभूमिमा जाने भनेर कति आस्थापूर्बक आउने निर्दोष पर्यटकहरु बुद्धको नक्कली जन्मस्थलमा घुमेर फर्कदासम्म उनीहरुलाई त्यसबारे  अत्तोपत्तो नै हुँदैन । कस्तो बिडम्बना ! नेपाल पक्षबाट आफ्नो मौनतालाई यसरी नै निरन्तरता दिइन्थ्यो भने अधिकांश देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारेको गलत जानकारी र भारतीय पक्षबाट बिभिन्न तवरले दिग्भ्रमलाई निरन्तरता दिइने जस्ता कारण यसरी अनजानमा बुद्धको नक्कली जन्मस्थलमा घुमेर जानेहरुको संख्या आगामी दिनमा बढदै जानु आस्चर्यको बिषय हुन सक्तैनथ्यो ।

कपिलवस्तु दिवस अभियानको सूत्रपात र गतिबिधि: नक्कली कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता र कैयौं देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको कुरा उल्लेख भएको पाइंदा समेत यस्तो संबेदनशील बिषयमा नेपालको तर्फबाट देखिएको सर्ब पक्षीय मौनताका कारण कपिलबस्तु दिवस अभियानको जन्म हुन गयो यस किसिमका भ्रमहरूलाई निस्तेज पारी दिग्भ्रमित बिस्व जनतालाई बुद्धको वास्तबिक जन्मभूमिमा नै जाने बातावरण तयार गर्ने, पर्यटन प्रबर्द्धन मार्फत देशको आर्थिक बिकास कार्यमा सहयोग पुर्याउने र राष्ट्रियताको जगेर्ना गर्ने जस्ता उद्धेस्यहरु लिएर ।

अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरे र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबस मनाइने निर्णय गरिएको हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध हुन र उनी जन्मेको स्थान पत्ता लागेको सो दिनलाई महत्व दिइनु न्याय संगत नै देखिन्छ । गौतम बुद्ध तिलौराकोट कपिलबस्तुमा जन्मी २९ बर्षको उमेरसम्म राजकुमारको रुपमा यस ठाउँमा रहेकाले यस ठाउँको धेरै अर्थमा ठूलो महत्व रहेको छ अन्तरराष्ट्रिय स्तरमा नै । त्यसैले १९९७ मा युनेस्कोले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बिस्व संपदा सूचिमा समेत समाबेश गरेको छ । अत: उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयले यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्णय गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलकदमीमा ।

जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन नक्कली लुम्बिनी नै निर्माण गर्ने र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा बिभिन्न किसिमले चुनौती दिने काम भएकोले यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको रक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ ।

त्यसबेला यो अभियानले संस्थागत रुप लिने नलिने कुराको कुनै निस्चितता नभए तापनि यही अभियानकै प्रयोजनको लागि सामान्य ब्लग शुरु गरियो । बिस्तारै ईमेल, फेसबुक मार्फत अभियानको जानकारी दिने काम बढदै गयो भने Kapilvastu Day कै नाममा फेसबुकमा  अकाउण्ट र फ्यान क्लब खोल्ने र ट्विटर अकाउण्ट खोल्ने काम अगाडि बढदै गयो ।
हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन र उपर्युक्त कारणहरुले गर्दा बिस्वका अधिकांश जनता दिग्भ्रमित छन भन्ने कुरा बुझ्न जरुरी छ र बिद्यमान सर्ब पक्षीय मौनतालाई यथास्थितिमा रहन दिने हो र लुम्बिनीलाई यसरी नै बेवास्ता गर्ने हो भने आगामी एक दशकभित्रमा बुद्धको जन्मस्थलमा जान चाहने अधिकांश बिस्व पर्यटक नेपालमा नभएर भारतमा जाने बातावरण बन्ने कुरामा सन्देह छैन । ती दिग्भ्रमित जनताका अज्ञानताका कारण PBS तथा गुगल जस्ता समस्याहरु देखा परिरहन्छन । स्मरण रहोस गुगलमा बुद्धको जन्मस्थल भारत देखाउने गर्थ्यो भने यस्को बिरोध गरिएको कारण हाल यस्लाई सच्याउने काम भने भैसकेको छ । सरकारको संलग्नता बिना यो समस्या समाधान बर्षौं लाग्न सक्छ कैयौं बुद्धिजीबिको भगिरथ प्रयासको बाबजुद पनि । अत: समस्याको गांभीर्यताको कारण नेपाल सरकारको प्रत्यक्ष सकृय सहभागिता बिना समस्या समाधान सहज छैन र पनि सरकारलाई पनि आबस्यक दबाब दिंदै सबैले नागरिकीय जिम्मेवारी बोध महसूस गर्दै आ-आफ्नो क्षमताले सक्दो योगदान दिने हो भने निकट भबिस्यमा यो समस्या समस्याको रुपमा रहने छैन । मूलत: नक्कली कपिलबस्तुको बिषयमा दुई सरकारको बीचमा कुराकानी गरिने र बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे उल्लेख गरिएको गलत जानकारीबारे कुटनितिक नियोगहरु मार्फत काम गर्ने हो भने समस्याले शीघ्र निकास पाउन सक्छ भन्ने अभिप्रायले त्यस्को लागि  अभियानले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने काम पनि भैसकेको छ यद्यपि ज्ञापनपत्रको भावनानुरुप काम भने अगाडि बढन सकेको देखिन्न ।
न्यासनल आर्चिभस अफ इण्डियाका महानिर्देशकले बुद्धको जन्मस्थलबारे सिर्जित भ्रमका कारण ततसम्बन्धमा सोधिएको लिखित प्रश्नमा “the desired information is not available in the record holdings of National Archives of India” जबाफ दिएबाट उनीहरुसंग प्रमाण नभएको कुरा स्पस्ट हुन्छ । तात्कालिन मन्त्री डा मिनेन्द्र रिजालले नक्कली कपिलबस्तुको बिषयमा एक टिभी कार्यक्रममा भारत सरकारद्धारा आधिकारिक दाबी नगरेको कुरा उल्लेख गरेका छन । त्यति ठूलो परियोजनाबारे भारत सरकारलाई थाहै नहुने भन्ने प्रश्न हास्यास्पदभन्दा अरु केही हुन सक्तैन बरु यहाँ के हुन सक्छ भने यस किसिमबाट अगाडि बढने भन्ने कुरा भारतको भित्री रणनीति हुन सक्छ जस्ले गर्दा भारत सरकारलाई संभाबित बिरोधबाट पन्छन सजिलो होस । र भारत सरकारले आधिकारिक दाबी गरेको छैन भनेर यो अवस्थामा आइपुग्दा समेत नेपाल सरकारले यस बिषयमा कुरा अगाडि नबढाउनुलाई पनि जिम्मेवारी बोध नगरी आफूलाई असहज स्थितिको सामना गर्नबाट जोगाउन अबलम्बन गरिने नीतिको रुपमा लिइनु  पर्ने देखिन्छ ।
पछिल्लो समयमा देखा परेका बुद्ध सर्क्युट बनाउने परियोजनामा चीन सरकार सकारात्मक हुनु, हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी बेलायती डरहाम विश्वविद्यालयका बिशेषज्ञहरुले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि हुनु,संयुक्त राष्ट्र संघका महासचिब बान्की मूनद्धारा लुम्बिनीको संरक्षण र संबर्धन नेपालको लागि मात्र नभएर संपूर्ण देश र बिस्व नागरिकको लागि नै महत्वपूर्ण भएको बताउँदै लुम्बिनीको बिकासको लागि मिलेर काम गर्न इच्छुक भएको बताउनु, एपेकले ३ अरब डलरको ब्रिहत लुम्बिनी परियोजनाको अवधारणा अगाडि बढाउनु जस्ता परिघटनाहरु नेपालका लागि सुखद हुन तापनि सात बर्षमा संपन्न गरिनु पर्ने लुम्बिनी बिकासको गुरु योजना झन्डै तीन दशक ब्यतित भैसक्ता पनि संपन्न गर्नतिर चासो दिएको नदेखिनुले उपर्युक्त सुखद कुराहरु संपन्न नहुँदासम्म ढुक्क हुने स्थिति देखिंदैन ।
यसै सन्दर्भमा अगस्ट १२, २०१० का दिन पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई बुद्धको जन्मस्थानबारे सिर्जित विश्वव्यापी भ्रम निवारणका लागि नेपाल सरकारका तर्फबाट चालिनु पर्ने कदमहरुको बारे जानकारी गराउँदै मूलत: नक्कली लुम्बिनीका बिषयमा सरकारका तर्फबाट कुराकानी गर्न पहल गर्न र बिभिन्न देशका पाठ्य पुस्तकमा भएको बुद्ध जन्मस्थानबारे भएको गलत जानकारीबारे कुटनीतिक नियोग मार्फत कार्य गर्न अनुरोध गर्दै अभियानले बुझाएको ज्ञापन पत्रको संस्मरण पनि गराउन चाहन्छौं ।
नयाँ किसिमको राष्ट्रियताको प्रश्न र चुनौति : भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको रास्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS [1] द्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट नगरिएको बिरोधका कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ । उनीहरुको लागि महत्वपूर्ण बुद्ध र बुद्धका उपलब्धीहरु हुन, तर बुद्धका बारे प्राप्त जानकारीको श्रोतको नियतबारे भने उनीहरु अनभिज्ञ देखिन्छन । किनकि मौन अवस्थामा रहेका नेपाल सरकार, नेपाली संचार माध्यमहरु र बुद्धिजीविका कारण नेपालको तुलनामा धेरै गुणा सशक्त देखिने भारती संचार माध्यम र बुद्धुजीविको एकलौटी र एकतर्फी अभियानले बिस्वमा नै यतिसम्म प्रभुत्व जमाउन सफल भयो कि अधिकांश देशका पाठ्य पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी लेखाउने बातावरण बनिसक्यो र झन्डै ९०% चिनीया बुद्धिस्टहरु समेत यही भ्रमको शिकार भएको पाईन्छ । त्यसैले लुम्बिनीको कारण नेपालको रास्ट्रियतामाथि आँच आउने जुन किसिमको नयाँ समस्या देखा परेको छ त्यस्को निराकरण गर्नु हाम्रो सामू एउटा प्रमुख चुनौति हुन आउने देखिन्छ । यहाँनेर अनौठो कुरो के छ भने भारत सरकार यस अभियानमा मौन बसेको छ र उस्ले कहीं पनि बुद्ध भारतमा जन्मेको भन्ने कुरामा आधिकारिक धारणा ब्यक्त गरेको छैन । यतिसम्म कि करोडौं रुपयाँ लगाएर यत्रो बर्ष काम भैसकेर झन्डै अन्तिम अवस्थामा पुगिसकेको नक्कली लुम्बिनी निर्माण कार्यमा समेत सरकारी संलग्नता नभएको देखाइरहेको छ ।  र तात्कालिन संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले पनि एउटा टेलिभिजन अन्तर्बार्तामा भारत सरकारले नै यस किसिमको दाबी आधिकारिक रुपमा नगरेको कुरा उल्लेख गर्नु भएको छ । भारतको आधिकारिक सरकारी निकायसंग पनि बुद्ध भारतमा जन्मेको आधार छैन भन्ने कुराको पुस्टि यो पत्रले पनि प्रस्ट पार्छ :

F.No. 11-2/2010-R-I,
Subject: Buddha’s birth place.
This has reference to your e-mail dated 18 January 2010 on the aforementioned subject. I am to inform you that the desired information is not available in the record holdings of National Archives of India. However, you may contact the following addresses for eliciting the desired information.

for Director General of India,
Government of India.

त्यसो भए समस्या कहाँ त?

भारत सरकार बुद्ध भारतमा जन्मेको भन्ने बिषयमा मौन बसी  कहीं पनि बुद्ध भारतमा जन्मेको भन्ने कुरामा आधिकारिक धारणा ब्यक्त गरेको देखिन्न । यतिसम्म कि करोडौं रुपयाँ लगाएर यत्रो बर्ष काम भैसकेपछि करीब ८०% काम सकाइ २०१२ सम्ममा सम्पन्न गर्ने किसिमले जोडका तोड साथ काम हुँदा पनि नक्कली लुम्बिनी निर्माण कार्यमा समेत सरकारी संलग्नता नभएको देखाइरहेको छ । २००९ मा भारतले कपिलबस्तु दिवस नै मनायो । के यो संभब छ कि भारत सरकार यी संपूर्ण गतिबिधिबाट अनभिज्ञ छ? के यो संभब छ कि आफ्ना कार्यक्रम, लेख र पुस्तकहरु मार्फत दुनियाँभरको जानकारी भएको देखाउने किसिमले बिस्लेषण गर्ने अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरिया बुद्धको जन्म स्थानका बारेमा अनभिज्ञ छ? उस्को The Post American World जलाइयो, उन्को कार्यको बिरोध गरिएको कैयौं समाचार र बिरोधका प्रतिकृयाहरुका लिंकहरु पठाइएका छन, उनकै फ्यान क्लबमा उन्को त्यस कार्यको प्रसस्त बिरोध भएको छ, तर आजसम्म उन्ले नैतिकताका आधारमा कुनै पनि किसिमले क्षमा याचना गर्ने नैतिकता प्रदर्शन नगरी अमेरिकामा बसेर पनि भारतीय मानसिकताकै प्रदर्शन गरिरहेका छन । त्यसैले यो समस्याको जड भनेको नियत र नैतिकताको हो, यो समस्याको आधार भनेको छिमेकीसंग गरिने व्यबहारको पुरानै बानीको निरन्तरताको हो ।

भारत किन यसो गर्दैछ त?
यूनेस्कोले बिस्व संपदा सूचिमा पारिसकेको वास्तबिक लुम्बिनी नेपालमा हुँदाहुँदै नक्कली लुम्बिनी बनाएर जानाजान दुनियाँको अगाडि कुनै न कुनै दिन पूर्ण रुपमा नांगिने काम किन गरिरहेको होला त भारतले ? यस्का पछाडि ‘मानो लगाएर मुरी भित्र्याउने’ भारतीय नीति रहेको स्पस्ट देखिन्छ । किनकि बुद्ध सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव, दार्शनिक  भएकाले उनी संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएका छन जस्ले ज्ञान र प्रेमको शान्तिप्रिय माध्यमबाट युगौँदेखिको हिंसावादी अन्धसंस्कृतिलाई जनमानसबाट फाली नयाँ लौकिक दृष्टिकोण स्थापना गरेका थिए र उन्का सन्देशहरु दिन प्रतिदिन झन झन सान्दर्भिक र अझ बढी महत्व पाउनु पर्ने महसूस संपूर्ण मानब मात्रले गरेका छन । बुद्धको यही बिस्वब्यापी महत्व र आदरबाट लालायित भारतले बुद्धलाई बलजफ्ती भारती प्रमाणित गर्दै नक्कली लुम्बिनी मार्फत बिस्वको भ्रमित टुरिस्टलाई भारतमा भित्र्याएर दीर्घ कालीन फायदा लिने अभिप्रायले भारत यो दुस्प्रयास गर्दैछ सत्यका पर्यायबाचि बुद्धमाथि असत्यको खेती गरेर । कुरोको चुरो यही हो भन्ने देखिन्छ ।समस्याको समाधान के त?

वास्तबमा यो समस्या लामो समयसम्म समस्याको रुपमा रहन सक्तैन यदि नेपाल सरकारले यस्लाई गंभीरता पूर्वक लिने हो र यथोचित प्राथमिकताका साथ कदम चाल्ने नै हो भने । मुख्य रुपमा यी समस्याको समाधनका लागि नक्कली लुम्बिनी जस्ता बिषयमा सीधै भारत सरकारसंग कुरा गर्ने र बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएका बुद्धको जन्मस्थानका बारेमा भएको भ्रम निबारणका लागि कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसंग कुराकानी गर्ने हो भने यी समस्या र यी समस्याको प्रिस्ठभूमिमा रहेर देखा परेका र पर्ने अन्य समस्याहरु स्वत: कमजोर भएर जानेछन । जाकारीया जस्ता प्रब्रितिहरुले टाउको उठाउने हिम्मत गर्न सक्ने छैनन र उठाइहाले पनि कुहिराको काग हुनेछन । नेपाल पर्यटन बर्ष २०११ मा लुम्बिनी र बुद्धलाई नेपालसंग जोडेर प्रचार प्रसारमा जोड दिइनु पर्छ ता कि दिग्भ्रमित बिस्व जनमतमा भएको भ्रम निवारणमा सहयोग पुगोस । संसदले हालसालै सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पुरा गर्नु पर्दछ जुन कार्य ब्याप्त भ्रम निवारणमा सहायक सिद्ध हुन सक्छ ।

कपिलबस्तु दिवस अभियानको जिम्मेवारी  के त?

नक्कली लुम्बिनी र विस्वभरी नै बुद्धको जन्मस्थलको सम्बन्धमा सिर्जना गरिएको भ्रमका कारण नेपालले दुई किसिमका समस्याहरु सामना गर्न परिरहेको छ: राष्ट्रियताको र पर्यटनको । दिग्भ्रमित हजारौं पर्यटक बुद्धको जन्मस्थल भन्दै भारत जाने गर्छन् यथार्थ बोध नहुनाले । यस किसिमका समस्याहरु सरकारी तर्फबाटै समाधानका लागि प्रयास गरिंदा समस्या समाधान छिटो र सहज हुने भएकोले नेपाल सरकारलाई नक्कली लुम्बिनी जस्ता बिषयमा सीधै भारत सरकारसंग कुरा गर्न र बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएका बुद्धको जन्मस्थलका बारेमा भएको भ्रम निबारणका लागि कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसंग कुराकानी गर्नका लागि दबाब दिइनु पर्छ । संसदले सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पुरा गर्न झकझक्याउनु पनि यस अभियानले आफ्नो कर्तब्यको रुपमा लिनेछ नेपाल सरकार, नेपाली बुद्धिजीबि र नेपाली संचार क्षेत्रमा यस्तो संबेदनशील बिषयमा दायित्व बोधले प्राथमिकता पाउन नसकेको पृष्ठभूमिमा । त्यसरी नै यस किसिमका समस्याहरुलाई समाधान गर्न सीमित साधन र श्रोतका बाबजूद आफ्नो क्षमताले भ्याएसम्म सन्जाल बढाउँदै [२] बिभिन्न तवरले प्रयासरत रहनु यस अभियानको एउटा मुख्य जिम्मेवारी हुनेछ ।


उपसंहार:

यसरी नेपाललाई बिस्वमा चिनाउने एउटा प्रमुख आधार लुम्बिनीको बिकासको लागि अरु कसैले केही नगरे पनि हामी आँफैले स्वत:स्फूर्त रुपमा कार्य तत्परता दर्शाउनु पर्नेमा अन्य देश र बहु-पक्षीय अन्तरराष्ट्रिय संस्थाहरुले यति धेरै सहयोग गर्न अग्रसरता दर्शाउँदा समेत हामी भने त्यस्को लागि तयार नभएको जस्तो भान हुने परिस्थिति देखिएको छ । अत: अन्य देश र बहु-पक्षीय अन्तरराष्ट्रिय संस्थाहरुद्धारा लुम्बिनीको संरक्षण, संबर्द्धन, बिकासको लागि जे जस्तो तवरबाट तदारुकता दर्शाइएको छ ती सबैलाई उच्च प्राथमिकता दिएर परिवर्तित राष्ट्रिय सन्दर्भमा लुम्बिनी र यस्को वरिपरिका महत्वपूर्ण स्थलहरुलाई एकीकृत रुपमा ठोस कार्य योजना सहित यस्को बिस्वब्यापिकरणको लागि अविलम्ब कदम चालिनु हाम्रो नैतिक दायित्व हो ।
संयुक्त राष्ट्र संघलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत बुद्धको जन्मभूमि लुम्बिनीको बिकासको लागि अन्तरराष्ट्रिय सहयोग र सदभाब र अन्तरराष्ट्रिय समितिको यथाशीघ्र पुन: सकृयताको लागि गरिएको आह्वान र यही ३० असोजमा मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाउन गरेको निर्णय अभियानको उद्धेस्य प्राप्तीमा सहायकसिद्ध हुने भएकोले अभियान हार्दिक स्वागत गर्दछ । बैठकले रुपन्देही, कपिलबस्तु र नवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको र माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीको विकासका लागि महत्वकाक्षी योजना अघि सार्ने एपेकको समेत उपाध्यक्ष हुनुभएकोले लुम्बिनी बिकासका लागि शुरु भैसकेका, हुन लागेका र संभाबित संपूर्ण परियोजनाहरुलाई यथाशीघ्र कार्यन्वयन गर्न एकीकृत रुपमा ठोस कार्य योजना सहित अगाडि बढनु पर्दछ । यस्ले नक्कली लुम्बिनीद्धारा सिर्जित दिग्भ्रम निस्तेज पार्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने भएकोले सिर्जित दिग्भ्रम निस्तेजको लागि बाँकी समस्या समाधानको लागि बिभिन्न देशमा भएका पाठ्य सामग्रीहरुमा बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी हटाउन कुटनीतिक नियोगहरु मार्फत काम गर्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।
[1] PBS is made up of more than 350 local public noncommercial TV stations and reaches more than 115 million people each month through on-air and online content, and, increasingly, in other platforms. PBS content is available on air through its local stations and, for many programs, online, in the form of podcasts, blogs, video clips, and full episodes.Key programs include PBS KIDS & PBS KIDS GO! series, as well as NATURE, MASTERPIECE, ANTIQUES ROADSHOW, GREAT PERFORMANCES , BILL MOYERS JOURNAL, TAVIS SMILEY, WASHINGTON WEEK, FRONTLINE and THE PBS NEWSHOUR
 [२] अभियान स्थापना भएको यो एक बर्षको छोटो समयमा नै स्पेनबेल्जियमवेलायतक्यानडान्यूजिल्याण्डताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन भैसकेको छ ।
About these ads

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,126 other followers

%d bloggers like this: