Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपाली उपन्यास जगत्मा नयाँ पाइला ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’

Posted by Ram Kumar Shrestha on May 5, 2012

– डा. देवीप्रसाद सुवेदी

छब्बीस सय वर्ष अघिका महामानव गौतम बुद्ध अनि २०२६ सालमा एउटा आन्दोलन वा अभियानका रुपमा देखापरेको अस्वीकृत जमात ! अभियानका अग्रगामी पाइला महात्मा बुद्धका अनि सामाजिक र साहित्यिक अन्धविश्वास र अन्धपरम्पराप्रति अस्वीकृतिस्वरुप जन्मिएको केही युवा साहित्यकारहरुको सामूहिक प्रयत्नको नाम ‘अस्वीकृत जमात ’। यो सबै आकस्मिक वा अज्ञात संयोजन बनेको हो वा अस्वीकृत विचारका उन्नायक कवितारामको तिनलाई संयोजन गर्ने प्रयत्नको प्रतिफल ? यति परसम्म सोच्ने बौद्विक विकास २६ साले ती युवाहरुमा कहाँ पाइनु ? तिनले त ठिटौले आवेगमा, केही पाश्चात्य बिटल र विट्निकहरुको अनि केही मात्रामा कलकत्ताको ‘हङ्ग्री जेनेरेसन’का युवाहरुको मिसमास अनुकरण गरेका थिए । ती सबै केही समय नेपाली कला साहित्यमा केही हुनुको रुपमा देखापरे र अन्तत ः अभियानका सबैजसो सदस्यहरुले क्रमश त्यसलाई छोड्दै गएपछि कविताराम एक्लै अस्वीकृत अभियानलाई विचार र चिन्तनको भारी बोकाउने प्रयत्नमा लाग्दै आए । उनले आफ्ना कविता,कथा,नाटक,उपन्यास आदि विधागत सिर्जनामा अस्वीकृत विचारको छाप त्यसपछि लगाउँदै आएका छन् । त्यसबाहेक उनले नेपाली भाषा साहित्य जगत्मा अपुरस्कृत अतः अस्वीकृत स्रष्टाका कृितलाई पुरस्कृत गर्ने शैलीद्वारा पनि अस्वीकृत विचारलाई निरन्तरता दिँदै आएका छन् । त्यही निरन्तरतामा उनको नवीन प्रयत्न बनेर आएको छ उपन्यास ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइलाहरु’ पनि ।

‘महाभिनिष्क्रमणका अस्वीकृत पाइलाहरुलाई’बुद्धका जीवनमा आधारित अनुसन्धानात्मक उपन्यास भनिएको छ । नेपाली साहित्यको औपन्यासिक परम्पराका क्रममा जीवनीपरक एवम् एेितहासिक उपन्यासहरुको भन्दा यो पृथक् चिनारीका साथ देखा परेको छ।

कपिलबस्तुका राजा शुद्धोदन र आमा मायादेवीका पुत्ररत्नका रुपमा नामाकरण गरिएका सिद्वार्थ गौतम, बुद्धत्व प्राप्तिपछिका महात्मा बुद्ध (इ.पू.६२३–५४३) का जीवनीमा आधारित प्रस्तुत उपन्यास शुद्धोदन र मायादेवीको भेटवाट सुरु भई बुद्वद्धलाई ज्ञानप्राप्तिको उन्मेष हुदाँसम्मको घटनामा पुगेर टुिङ्गएको छ । यसरी उपन्यासभित्रका घटनाहरु शृङ्खलाबद्व रुपमा महात्मा गौतम बुद्धको जीवनको प्रस्तुितका रुपमा देखापरेको छ । यस उपन्यासलाई निम्न आधारहरुमा विश्लेषण गर्न सकिन्छ ।
१ औपन्यासिकता
२ यथार्थपरकता र कल्पनामूलकता
३ अनुसन्धानात्मकता
४ आर्दशपरकता
५ अस्वीकृतिमूलकता
‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ उपन्यासको संरचना मूलतः औपन्यासिक दृष्टिले सबल रहेको छ । यसको कथानक सूत्र महात्मा गौतम बुद्धको जन्मकालभन्दा अघिको अवस्थादेखि उनले महापरिनिर्वाण प्राप्त गरेको अवस्थाको घटना शृखंलामा आधारित छ । जम्मा ९६ वटा शीर्षकहरुमा विभाजित यस उपन्यासलाई बुद्धको ज्ञान प्राप्तिसम्मका कथानक विकासक्रमका आधारमा यसलाई आदि, मध्य र अन्त्य गरी तीन भागमा विभाजन गर्न सकिन्छ, जसअनुसार, शुद्धोदन र मायादेवीको भेट’ बाट ‘सिद्धार्थको जन्म र मायादेवीको मृत्यु’ शीर्षक कथानकसम्मको भागलाई आदि भाग , सिद्धार्थको स्याहार’ देखि ‘गुरु आश्रममा प्रव्रज्या’ सम्मलाई मध्यभाग र ‘विछोडको वियोग’ देखि ‘ज्ञान सम्योजन तथा उद्घोष’ सम्मलाई अन्त्यभागका रुपमा लिनु पर्ने स्पष्ट आधारहरु उपन्यासमा देखा पर्छन् । वस्तुत ः सिद्धार्थ गौतमको जन्मको पूर्वाधार शुद्धोेदन र मायादेबीको भेटले नै तयार गरेको वास्तविकतालाई उपन्यासले देखाएको छ । शुद्धोदन र मायादेवीको संयोगबाटै उपन्यासको वीजाधान हुन्छ र मायादेवीको गर्भस्थापनाभन्दा अघिका घटनाहरुले कथानक वीजको पृष्ठभूमिको काम गरेको पाइन्छ । उक्त घटना शृङ्खलादेखी ‘सिद्वार्थको न्वारन र मायादेवीको मृत्युसम्मका कथानक शृङ्ृखलाले सिद्धार्थबाट महात्म बुद्ध बन्न पुग्नुको आदि अवस्थालाई स्पष्ट गरेको छ ।
उपन्यासको दोस्रो अर्थात् मध्यभागले उपन्यासको बृहत् रुपलाई समेटेको छ । सिद्धार्थका बाललीलादेखि गुरु आश्रममा प्रव्रज्या अर्थात् सन्यासग्रहणसम्मको भाग यसको मध्य भाग हो । यही भागमा सिद्धार्थ गौतमका जीवनका द्वन्द्वहरु विस्तृत रुपमा देखापर्छन् । त्यस्ता द्वन्द्वहरुमा दाम्पत्य द्वन्द्व, पारिवारिक द्वन्द्व, राजनैतिक र सामाजिक द्वन्द्व, धार्मिक –दार्शनिक द्वन्द्व र सिद्वार्थ गौतम स्वयम् भित्रको द्वन्द्व आदि देखापर्छन् । वस्तुतः दरबारको युवराजका रुपमा जन्मेको एउटा सम्पन्न परिवारको बालकको जीवनले अन्ततः प्रव्रज्याग्रहणसम्मको स्थितिमा पुग्दा उनका जीवनमा देखापरेका अनेकन् आँधी–तूफान र तिनसगँको लड्दाको उनको अवस्थाले पार गरेका अनगिन्ति द्वन्द्वात्मक अवस्थाले र्नै यस उपन्यासलाई रोचक र जीवन्त तुल्याइएको छ । सिद्धार्थ गौतमका रुपमा बुद्धका द्वन्द्वहरुलाई १. बाह्य र २ आम्यन्तर गरी दुई रुपमा देखाउन सकिन्छ । सिद्वार्थको बाह्य जीवनको द्वन्द्वको क्षेत्र जति व्यापक र विशाल छ त्यसभन्दा बढी पेचिलो र गहन द्वन्द्व उनी स्वयम्भित्रको द्वन्द्व छ । उनी जति बाहिरी द्वन्द्वको ब्यापकताबाट भित्री दरबार, परिवार दाम्पत्य जीवन हुँदै स्वयम्भित्रको द्वन्दमा पस्दै र फस्दै जान्छन् त्यति नै उनीभित्रको द्वन्द गहन, गहनतर र गहनतम हुन पुग्छ । प्रस्तुत उपन्यासले सिद्धार्थ गौतमको जीवनमा देखा परेका उपर्युक्त प्रकारको द्वन्दलाई आर्कषक रुपमा प्रस्तुत गरेको छ । वास्तवमा उपन्यासको कुशलता नै त्यसको मध्य भागको कथानक प्रस्तुतिमा निर्भर रहन्छ । त्यो मध्य भागले उत्पन्न गर्ने संवेदनशीलता रोचकतामा कथानकका पात्रहरुका बीचका पत्नी, परिवारजन, साथीसँगी कौशल दरबार र त्यसका राजा र राजकुमार आदि सँगका द्वन्द्वका विविध रुपलाई उपन्यासले रोचक किसिमले प्रस्तुत गरेको छ । यसले उपन्यासको बाह्य संरचनालाई जति आर्कषक बनाएको छ त्यत्तिकै सिद्धार्थ गौतमका मानसिक आरोह–अवरोहगत द्वन्द्वले यसलाई गम्भीर रुपमा प्रस्तुत गरेको छ । उपन्यासका घटना शृङ्खलाहरुको प्रस्तुतिको यो बृहत् आयामले अन्त्य भागसम्म पुग्दा उपन्यासलाई प्रौढ र परिपक्क बनाएकोमा द्विविधा छैन ।

उपन्यासको तेस्रो वा अन्त्य भागले उपन्यासलाई निष्र्कषतिर डो्ययाएको छ । सिद्वार्थ गौतमको बुद्धत्व प्राप्तिको मार्गलाई उनले गुरु आश्रममा गरेको प्रवज्या अर्थात् सन्यास ग्रहणले प्रशस्त गरेको हो ।
यहीँबाट उनको साँसारिक वैयक्तिक जीवनसँग सम्वन्ध विच्छेद भई ज्ञानको विशाल जगत्तिर प्रवेश भएको हो । व्यक्तिबाट छुटेपछि उनको समूह हुदै विशाल विश्वको हितमा जुन प्रवेश भयो त्यसले नै उनलाई बुद्धत्व प्राप्त गर्न सहज तुल्याएको हो । उनको ज्ञानले संसारको विशालता र व्यापकतामा प्रव्रज्याग्रहणपश्चात् नै प्रवेश गरेको हो । यस बीचमा गौतम बुद्धको बुद्धत्व प्राप्तिका निम्ति भएका प्रयत्न र सङ्घर्षहरुले उनको बोधिप्राप्तिकै उपसंहार भागलाई सघाएका छन् र उपन्यास सिद्धार्थको बुद्धत्व प्राप्तिलाई सीमा मानी चुप लागेको छ । अतःयस उपन्यासलाई गौतम बुद्धको समग्र जीवनलाई समेट्ने उपन्यासका रुपमा लिन सकिदैन । बोध गयाको बोधिवृक्षमुनि उनले पाएको बुद्धत्व अर्थात् निर्माण प्राप्तिसम्मको जीवनको अंश मात्र समेटिएको हँुदा यसलाई औपन्यासिक कथानकको सीमा मान्न सकिन्छ ।

‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ उपन्यास बुद्धको जीवनीमा आधारित भए पनि यसमा बुद्वका जीवनसँग सम्बन्धित कैयन् उल्लेखनीय घटनाहरु समावेश गरिएका छैनन् र कतिपय कल्पित घटना प्रसङ्गहरु पनि समाविष्ट भएका छन् । यो स्वभाविक हो । कुनै ऐतिहासिक पात्रलाई र उसको जीवनलाई साहित्यिक विधागत रुपमा ढाल्दा त्यहाँ समग्र जीवन नै आउनुपर्छ र यथातथ्य हुनुपर्छ भन्ने हुदैन । उपन्यास सिर्जनात्मक विधागत रचना हुनाले कवि वा साहित्यकारको आफनो कल्पना र सिर्जनामूलताको त्यसमा विशिष्ट ठाउँ हुन्छ । उपन्यासकारले यस उपन्यासमा बुद्धको जन्मदेखि निर्वाणप्रप्तिसम्मका घटनाहरुमा कतिपय ठाउँमा आफ्नो काल्पनिकताको जलप लगाएका छन् भने कतिपय घटनाहरुलाई छुटाएका पनि छन् । त्यो उपन्यासकारको सिर्जनात्मक अधिकार हो । बुद्धको जीवनलाई आधोपान्त राम्रोसँग पढेको पाठकले कतिपय छुटेका घटनाहरु र कतिपय कल्पित घटनाहरुलाई लिएर जीवनको त्यो अंश छुट्यो र त्यो अंश अतिरञ्जित भयो भन्न सक्ला तर त्यसले औपन्यासिकताको औचित्यलाई त्यस आधारमा विस्थापित गर्न सक्दैन । किनभने यो जीवनपरक उपन्यास हो जीवनी नै होइन । जीवनीमूलक उपन्यासका रुपमा पनि बोधगयाको उरुवेल वनमा वैशाख पूर्णिमाका दिन पिपलको रुखमुनि सिद्धार्थलाई प्राप्त भएको बुद्वत्वसँग सम्बन्धित कथानक नै यस उपन्यासको कथानकसीमा रहेको हुँदा यो अंशतः जीवनी र पूर्णत ःउपन्यास हो भन्ने बुझ्नुपर्छ ।
नेपाली आख्यान र प्रबन्धकाव्यहरुले वैदिक,औपनिषदिक र पौराणिक आख्यान उपआख्यानहरुलाई लिएर काव्य महाकाव्य, उपन्यास, कथा, नाटक, आदि सिर्जनामूलक कृतिको निर्माण गर्ने परम्परा नेपाली साहित्यको प्राचीनकालदेखि नै बस्दै आएको हो र घटना र पात्रहरुको प्राचीन मिथकीयतालाई आधुनिक मानव संवेद्यताको अनुकूल रुपान्तरण गर्ने परिपाटीको पनि निकै हदसम्म विकास भएको हो । यस पक्षतिर दृष्टिगत गर्दा ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ ‘ उपन्यासले पनि त्यसतर्फ केही कसरत गरेको पाइन्छ । यसलाई बुद्धको जीवनबारे पछिबाट जोडजाड गरिएका अतिरञ्जित र जनश्रुतिमूलक कथाबाट उनको जीवनको बास्तविकतालाई छान्ने प्रयत्नका रुपमा पनि लिन सकिन्छ । मिथक,अतिरञ्जना ,वा जनश्रुतिमूलक कल्पनाको यथार्थीकरणतिर उपन्यासकारको प्रवेशलाई सकारात्मक रुपमा लिन सकिने आधारहरु यसभित्र पाइन्छन् । सिद्धार्थ गौतमले घरपरिवार त्यागेको कारणको खोजी पनि उपन्यासकारका त्यस्तै जनश्रुति वा कल्पनाबाट यथार्थको खोजीको प्रयत्न हो । सिद्धार्थले दरवारदेखि बाहिर घुम्न जाँदा रुग्ण, वृद्व र मृत व्यक्तिहरुलाई देखेपछि उनमा वैराग्य उत्पन्न भएको जनश्रुितलाई अस्वीकार गरी राजनैतिक द्वन्द र संभावित युद्धबाट देश र दरबारलाई त्राण दिन सिद्वार्थले गृहत्याग गरेको यथार्थ प्रस्तुत गरी उपन्यासमा नयाँ मोड दिएको घटना त्यस्तै मध्ये एक हो ।

‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ उपन्यास नेपाली उपन्यास परम्परामा एक सर्वथा नवीन उपलब्धि बनेर देखापरेको छ । यसको संरचना आजसम्मका नेपाली उपन्यासहरुभन्दा पृथक् हुनुमा यसमा रहेको अनुसन्धानात्मकतालाई कारण मान्नै पर्छ । यसरी हेर्दा यसलाई अनुसन्धानमूलक उपन्यास भन्नुपर्छ । उपन्यासलाई यथार्थ र वास्तविक धरातलमा उभ्याउन उपन्यासकार कवितारामले बुद्धको जीवनी र उनको दर्शनलाई आधिकारिक सूचनाहरुले पुिष्ट दिने प्रयत्न गरेका छन् । उपर्युक्त शोधखोज का क्रममा उनले लगभग साँढे पाँच पत्रपत्रिका र ग्रन्थहरुको आधार लिएका छन् । उनले मूलतः डा. भीमराव रामजी अम्बेडकरको ‘भगवान बुद्ध और उनका धर्म ’ शीर्षक कृतिलाई आधारका रुपमा लिएका छन् । र बुद्धको जीवनी र उनका उपदेश, विचार, चिन्तन र धर्म दर्शनसँग सम्बन्धित कैयन् लेख रचना र पुस्तकहरुलाई उपन्यासकारले प्रामाणिक सन्दर्भ सामाग्री रुपमा उल्लेख गरेका छन् ।

उपन्यासकार कविताराम श्रेष्ठ स्वयम् विद्यावारिधिका विद्यार्थी रहिसकेका हुुँदा उनमा कुनै प्रतिपाद्य विषयलाई आम्यन्तरसम्म पुगेर खोतल खातल गर्दै त्यसको प्रामाणिकता सिद्ध गर्ने तरिका राम्रैसँग ज्ञात छ भनिरहनु पर्दैन । तर साहित्यका विधागत सिर्जनामा अनुसन्धान विधिको प्रयोग भने नेपाली साहित्यमा उनले सम्भवतः पहिलो पटक गरेका हुन् । अनुसन्धेय विषयको लागि उनले विभिन्न किसिमका स्रोतसामाग्रीहरुबाट पादटिप्पणीहरु दिएका छन् र सन्दर्भगत पुस्तक र पत्रपत्रिकाहरुमा प्रकाशित लेख रचनाका उद्धरणहरुको प्रयोग गरेका छन् । यसरी प्रस्तुत अनुसन्धनात्मक उपन्यासद्वारा उनले बुद्धको जीवनीसँग सम्वन्धित कतिपय भ्रमात्मक अवधारणाहरुको खण्डन गर्ने प्रयत्न गरेका छन् भने तिनलाई आधारभूत प्रमाणहरु र आफ्ना तर्कहरुद्वारा पुष्टि दिने उद्योग उनको रहेको छ । उनको यो खण्डनमण्डन शैलीले उपन्यासलाई अनुसन्धनमूलकता प्रदान गरे पनि यसले औपन्यासिकतालाई भने केही तिरोहित गरेको छ । यसबाट काल्पनिकता र रोचकता पनि केही खण्डित बनेको छ जुन सिर्जनात्मक विधाका रुपमा उपन्यासमा पाइन्छ । तर पनि यो आफैमा नेपाली साहित्यको आधुनिक कालमा आएर लेखिएको एक पृथक् चिनारी र फरक शैलीको उपन्यास रहेको तथ्य भने छर्लङ्ग नै छ । यसबाट उनले साहित्यिक (औपन्यिासक) अभीष्टसिद्विका अतिरिक्त बुद्धको जीवनी, बुद्धको जन्मस्थल र बुद्धत्व प्राप्ति पूर्वका सामाजिक राजनैतिक घटनाहरुबारेका भ्रमहरुलाई चिर्दै वस्तुगतता र यथार्थता सिद्ध गर्न खोजेका छन् । उनीबाट यस कृतिमार्फत दिन खोजिएका आधारहरुको प्रामाणिकतामा अझै पूर्णता नहुन सक्छ र ती प्रमाणहरु विवादास्पद पनि बन्न सक्लान् । तर पनि उनको प्रस्तुतिमा कतिपय दह्रा तर्क र पुिष्टगत खोजद्वारा स्थापित तथ्यहरु छन् । तिनले उपन्यासको अनुसानात्मक पक्षलाई सबल तुल्याएका छन् ।

महात्मा गौतम बुद्ध अलाैिकक पुरुष होइनन् तर उनी असाधारण पुरुष हुन् । यसै रुपमा उपन्यास ‘महाभिनिष्क्रमणका अस्विकृत पाइला’ ले बुद्वलाई प्रस्तुत गर्न खोजेको छ एक आदर्श मानवका रुपमा । यसैले यस उपन्यासको प्राप्ति बुद्वका आदर्शको प्रस्तुति पनि हो । व्यक्तिका जीवनका घटना परिघटनाहरु यथार्थ हुन्छन् । त्यहाँ ,सुःख आँसु ,हाँसो ,काम ,क्रोध, लोभ, मोह आदि सबै हुन्छन् । सामान्य मानिसमा हुने सबै प्रवृत्तिबाट उठ्दै मानिसले पाउने असाधारणतालाई देवता भन्ने गरिन्छ । तर देवताका विषयका अन्धविश्वास र अतिरञ्जनाले तिनलाई अलौकिकतामा पुयाइदिन्छन् । कैयन् बुद्धमार्गीहरुले बुद्धलाई अलौकिक रुपमा देख्दै आएका छन् । धर्मगुरुहरुका गुम्बा र चैत्यहरुमा हुने गरेका कतिपय गतिविधिहरु र महायान, हीनयान जस्ता सम्प्रदायहरुका पृथक् मतान्तरहरुमा पाइने रुढि र अन्धविश्वासहरुले बुद्ध विषयका भ्रमात्मक प्रभाव पनि नपारेका हैनन् । तर वाद, सम्प्रदाय, अलौकिकता, अतिरञ्जना आदिबाट पर रहेर हेर्दा बुझ्दा र उनको जीवनी, धर्म र दर्शनलाई ऐतिहासिक यथार्थको कसीमा राखेर जाँच्दा बुद्धलाई एक असाधारण दैवी शक्तियुक्त मानव भन्नु उपयुक्त हुन्छ । उपन्यासकारको प्रयास पनि त्यसैतिर परिलक्ष्यित छ । उपन्यासकारकै भनाइ छ ः बुद्धलाई मानवीकरण गरी यथार्थ भूमिमा उतार्ने क्रममा मैले बुद्धकै अभीष्ट बमोजिम युगौदेिखका स्थापित अलाैिकक मान्यतालाई या त मैले छोएकै छैन या तिनलाई यथार्थीकरण गरी पुनः प्रस्तुत गरेको छु । ( भन्दा भन्नुपर्ने कुरा डा कविताराम श्रेष्ठ )

उपन्यासकार कवितारामका माथिको उद्धरण अन्तर्गत आएका ‘यथार्थ भूमिमा उतार्ने’ ‘यथार्थीकरण गरी’ जस्ता पदावलीले उनको उपन्यासकारिताको निर्माण प्रक्रियालाई बुझाउँछन् । तर यस उपन्यासको मूल आशय भने यथार्थ नभएर आदर्शको प्रस्तुति हो भन्ने बुिझन्छ । मिथक र कल्पनाको यथार्थीकरणले उपन्यासलाई वास्तविकतामा बुभ्mन सहज बनाएको हो । उपन्यासको निष्कर्ष र प्रतिपाद्य आशय आदर्श नै हो । यसैले यस उपन्यासको भावभूमि आदर्शवाद द्वारा नै अनुप्राणित छ । उपन्यासको अन्त्यतिर उल्लेख गरिएका ‘बोधिप्राप्ति’ ‘बुद्वत्व प्राप्तिको स्वीकारोक्ति’ विमुत्ति सुख र प्रतीत्य समुत्पादको स्थापना र ‘ज्ञान संयोजन तथा उदघोष ’शीर्षक अन्तर्गत का अध्यायमा उल्लेख गरिएका पादटिप्पणीहरु र बुद्धत्व प्राप्तिका समग्र घटनाहरुले उपन्यासका आदर्श पात्रका रुपमा बुद्धलाई प्रस्तुत गर्ने आशय रहेको कुरा अर्थिन्छ । समष्टिमा भन्नु पर्दा महात्मा गौतम बुद्धको आर्दशद्वारा प्रेरित नभएको भए उपन्यासकारद्वारा यस ग्रन्थको सिर्जना नै हुने थिएन । मात्र अन्तर के हो भने बुद्वलाई अलौकिक शक्तिका रुपमा भन्दा लाैिकक आदर्श पुरुषका रुपमा उभ्याउने प्रयत्न यस उपन्यासले गरेको छ ।

प्रस्तुत उपन्यासका कतिपय प्रारम्भिक अध्यायहरु सिद्धार्थ गौतमको जन्म र जन्मकालभन्दा पूर्वका घट्नासँग सम्बध्द छन् । तिनमा केही वास्तविकता, केही काल्पनिकता र केही शोधपरकता पाइन्छ । मिथकहरुलाई यथार्थमा ल्याउन उपन्यासकारले केही कसरत यी अध्यायमा गरेको देख्न पाइन्छ । सिद्धार्थ गौतमको जन्मसँग सम्बन्धित घटनालाई यथार्थमा बुझाउन गरिएको प्रयत्न त्यस्तैमध्येको एक हो । ‘सन्तानोत्पादनका लागि प्रयास’ शीर्षकभित्रको अध्यायमा पनि केही काल्पनिकता र केही तार्किकताको मिश्रण पाइन्छ र तिनद्धारा मायादेवीको गर्भधारणको यथार्थलाई सिद्ध गर्न खोजिएको छ । उपन्यासकारको प्रयत्न प्रशंसनीय छ ।

बुद्धले परिव्रज्या ग्रहण गर्नुअघि र पछि पनि विदेह,कौशल, मगध आदि राज्यहरुमा पौरोहित्य र कर्मकाण्डीय पद्धति प्रचलित थियो । बुद्धले ती पद्धतिप्रति विमति देखाए तर ब्राह्मणजाति प्रति नै उनले तिरस्कारभाव प्रकट गरेनन् । उनका उपदेशहरुका कारण नै पौरोहित्य, कर्मकाण्ड र मूर्तिपूजाका पक्षधरहरु परास्त भए । काम ,क्रोध, लोभ आदिमाथि विजय पाएका बुद्धका परिवारका मान्यजनहरुका मुखबाट यस उपन्यासमा ब्राह्मण जातिका विरुद्ध जे जस्ता पद–पदावली ‘ब्राह्मणवर्चस्व अवसान र क्षत्रिय उत्कर्षबारे संवाद’ शीर्षकमा प्रयोग गरिएको छ तिनले उपन्यासको गरिमालाई केही हलुका तुल्याएका छन् । बुद्ध धर्मको प्रचार ब्राह्मणजातिका विरुद्ध नभई पौरोहित्य, कर्मकाण्डवाद र मूर्तिपूजाका विपक्षमा थियो । बुद्धको बुद्धत्व जन्माउने पारिवारिक परिवेशमा उपन्यासमा प्रयोग भएजस्ता अमर्यादित र अशिष्ट शब्दहरु प्रयोग भएहोलान् भन्ने कल्पना गर्न सकिँदैन । फेरि कुनै सम्प्रदाय, प्रचलन वा वाद एउटा जातिसँग मात्र सम्बन्धित रहेको देख्नु पनि दृष्टिदोष हो । यसबाट उपन्यासले छुट्कारा लिएमा त्यसले उपन्यासको महानतालाइ अरु उत्कर्षमा पुरयाउथ्यो ।

उपन्यासकार कविताराम श्रेष्ठको प्रस्तुत ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ शीर्षक उपन्यास उनले २०२६ सालदेखि जन्माउँद,ै पाल्दै र हुर्काउदै आउँदासम्मको अस्वीकृत विचार र मान्यतालाई अड्याउने प्रयत्नगत उपलब्धि पनि हो । शीर्षकमै परेको ‘अस्वीकृति’ शब्दले उपन्यासकारको त्यसप्रतिको मोहको प्रर्दशन गरेको पनि छ । ‘अस्वीकृत’ वा ‘अस्वीकृति’ शब्दलाई बुद्धका वैचारिक धर्म, दर्शन र जीवनीसम्मले पृष्ठपोषण गरेका छन् । क्षणिक सुख, क्षणिक जगत्, क्षणिक जीवनप्रतिको अनासक्ति वा अस्वीकृति बुद्धको जीवनदर्शन रह्यो । अर्थात् ‘सर्व क्षणिँक क्षणिँकं’ बाट नै उनलाई आत्यन्तिक सुख प्राप्तिको ढोका खोल्ने दार्शनिक साँचो प्राप्त भयो । त्यसकै परिणति थियो वैयक्तिक रुपको प्रेम र सुखलाई अस्वीकृति जनाउँदै विश्वप्रेम र आत्यन्तिक दःुख निवृत्तिको मार्ग तय गर्ने बुद्धको बुद्धत्व पनि । त्यसका लागि उनले परम्परागत अन्धविश्वास र रुढिवादका विरुद्ध संघर्ष गरे ती सबैप्रति अस्वीकृति दर्शाउँदै । उनले वैदिक कालपछि तत्कालीन समाजमा उत्पन्न कर्मकाण्डवाद अर्थात् पौरोहित्यवादप्रति अस्वीकृित मात्र देखाएनन् बरु त्यसको विकल्पमा समाजलाई पृथक् धर्म र दर्शनको प्रतिपादन गरे । उनको विज्ञानसम्मत दार्शनिक मार्गले उनी भन्दा पूर्व र उनकै समकालीन अवैज्ञानिक चिन्तनप्रति अस्वीकृितको झन्डा उठायो त्यस्तै हिंसा, अशान्ति, क्रोध, काम, लोभ जस्ता कुत्सित मनोवृतिप्रति उनले अस्वीकृितका रुपमा स्वरुप अहिंसा, शान्ति, प्रेम, करुणा आदि मानवीय सद्भाव माथि जोड दिए । यिनैले बुद्धलाई साधारण मानवबाट महामानवमा पुग्ने मार्ग प्रशस्त गरेका हुन् । बाल्यकाल पार गरेपछि र किशोरावस्थामा टेकेपछि नै सिद्धार्थ गौतमका मनमा जीवन–जगत्सम्बन्धी अनेकौ जिज्ञासा र उत्सुकताका आँकुराहरु अङ्कूरित भए र उनले राजवंशको उत्तराधिकार र पारिवारिक, वैयक्तिक मोहमाथि अस्वीकृति जनाउदै विद्रोह गरे । त्यस प्रकारको उनको अस्वीकृतिको विरुवा झाँगिदै र मौलाउँदै गएर महाभिनिष्क्रमण हुँदै अनन्तः परिव्रज्या वा निर्वाण प्राप्तिसम्म फूल र फल दिने अवस्थामा पुग्यो । त्यही फल नै आज विश्वव्यापी बनेको बौद्ध धर्म र दर्शन हो । यस धर्म र दर्शनको सुरुवातको पाइला नै सिद्धार्थभित्र उत्पन्न अस्वीकृत वैचारिक चिन्तन हो भन्ने अभिप्राय पुस्तकले लिएको छ । पुस्तकको आशय बुद्धको जीवनको मूल मार्गसँग तादात्म्य राख्नु रहेकोलाई अस्वीकृत गर्न मिल्दैन पनि । अर्को तर्फ बुद्धको वास्तविक जीवन र उनका चिन्तनहरुको उचित विश्लेषण नहँुदा यथार्थिक बुद्धलाई बिर्सिई अलाैिकक बुद्ध प्रकाशित हुनाले अस्वीकृत भएको भन्ने उपन्यासकारको कथनको औचित्य पनि आफनो ठाउँमा छँदैछ । उनी लेख्छन् ‘सही बुद्ध बिर्र्सिएका छन् ,अस्वीकृत छन् । त्यसैले मेरो यो प्रयास बुद्धको त्यो धूिमल व्यक्तित्वलाई त्यस अन्धकारबाट प्रकाशमा ल्याउनु रहेको छ ।’

डा. कविताराम श्रेष्ठ विगत झन्डै पाँच दशकदेखि नेपाली साहित्यका कविता, कथा, नाटक, निबन्ध आदि विविध विधागत रचनाका प्रबल र प्रखर स्रष्टाका रुपमा स्थापित नाम हो । नेपाली बालसाहित्यमा उनको विशिष्ट र पृर्थक चिनारीको अर्को पाटो पनि छँदैछ । उनकोृ सिर्जनात्मक यात्राको पछिल्लो उपलब्धिको रुपमा भने ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ शीर्षक उपन्यास एक सशतm कृति बनेर उदाएको छ । नेपाली मौलिक उपन्यासका पङतिmमा यसको स्थान ऐतिहासिक उपन्यासको कोटिमा पर्दछ । तर यस उपन्यासको निर्माण ऐतिहासिक घटनामा उत्पन्न कतिपय भ्रमहरुलाई निवारण गर्ने उद्देश्यका साथ खोजमूलक ढङ्गले भएको छ । यस उपन्यासका नायक पात्र सिद्वार्थ गौतम बुद्ध हुन् । उनको जीवनीमा आधारित रहँदै रचिएको यस कृतिमा गौतम बुद्ध विषयक प्रचलित कतिपय धारणा र मान्यताहरुमा सुधारको प्रयत्न गरिएको छ र कतिपय भ्रमहरु प्नि यसमा देखा पर्छ । उपन्यासको साहित्यिक स्वरुपलाई अनुसन्धानका दृष्टिले विश्लेषण गर्ने प्रयासलाई यत्किञ्चित् धृष्टता पनि मान्न सकिएला तापनि नेपाली जीवनीपरक ऐतिहासिक उपन्यासका क्षेत्रमा यस प्रयासलाई भने सर्वथा नवीन पाइलाका रुपमा लिन सकिन्छ । अझ यसको थप विशेषता चाँहि कवितारामले चार दशक अघिदेखि नेपाली साहित्यका क्षेत्रमा चलाउँदै आएको अस्वीकृत मान्यतासंग प्रस्तुत उपन्यासलाई जोड्ने जुन प्रयत्न गरेका छन् त्यसले यस उपन्यासलाई अरु विशिष्टता प्रदान गरेको छ ।

About these ads

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,126 other followers

%d bloggers like this: