मेलबर्नको साहित्यिक कार्यक्रममा बुद्ध जन्मस्थल प्रसंग प्राथमिकतामा
Posted by Ram Kumar Shrestha on August 5, 2012
५ अगस्ट, २०१२ कोबर्ग, मेलबर्न: आज मेलबर्नको कोबर्गस्थित पुस्तकालयको हलमा साहित्यकार र साहित्यप्रेमीहरुको साहित्यिक जमघट कार्यक्रम संपन्न भएको छ । कार्यक्रमको शुरु गर्दै अंकित सुकीले यस किसिमको कार्यक्रम प्रत्येक महिनाको पहिलो आईतवार करीब एक बर्षदेखि नियमित रुपमा गर्दै आएको जानकारी दिनु भयो । उहाँले बिदेश बसाइको ब्यस्त जीवन र बिभिन्न समस्याका बाबजुद यस कार्यक्रमलाई अबिछिन्न रुपमा जीवन्तता दिन सफल भएको जानकारी दिनु भयो ।लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अभियान शुरु गर्नु पर्नाका कारणहरु र छोटो समयमा यस्ले गरेको संगठनात्मक बिस्तार र प्रगति र यस्का गतिबिधिहरुबारे संक्षिप्तमा जानकारी दिंदै साहित्यकारहरुको एउटा बिशेष चरित्र भनेको समाजमा बिद्यमान सामाजिक बिकृति र बिसंगति निराकरणका खातिर निडरतापूर्बक लडनु पनि भएकोले सत्यका पर्यायबाची बुद्धको बिस्वब्यापी महत्वका कारण लालायितहरुद्धारा बुद्धकै नाममा असत्यको खेती गरेर बुद्ध जन्मस्थलका बारेमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिएको सन्दर्भमा साहित्यकारहरुले निडरतापूर्बक सत्य रक्षाको लागि कलम चलाउनु पनि आजको आवश्यकता भएको कुरामा जोड दिनु भयो ।
आफ्नो कविता र गजल प्रस्तुत गर्ने क्रममा अनुपम पाठकले बिदेशमा रहेर पनि आफ्नो देशको सांस्कृतिक पहिचान जोगाउन क्षमताले भ्याएसम्म यस किसिमका गतिबिधिमा संलग्न भएको बताउँदै हाम्रा बच्चाहरुलाई हाम्रो परिचय दिन नसक्नु उनीहरुको नभएर हाम्रो आफ्नै कम्जोरी भएको धारणा राख्नु भयो ।
गैरआवासीय नेपाली संघ एनआरएनका प्रतिनिधि द्रोण प्रसाद पन्तले आफ्ना कविताहरु बाचन गर्ने क्रममा साहित्यले जस्लाई पनि पगाल्न सक्नु पर्ने धारणा ब्यक्त गर्दै हामी सबै गैरआवासीय नेपाली संघका सदस्यका नाताले अथकित किसिमले उठाउनु पर्ने आवाजहरु उठाइराख्नु पर्ने कुरामा जोड दिनु भयो ।
आफ्ना साहित्यिक सामग्री बाचन गर्ने क्रममा पेशल लुइंटेलले साहित्यिक जमघट कार्यक्रमसंगै हाते पुस्तकालय स्थापना गरिएको जानकारी दिनु भयो ।
कवी बिनोद घिमिरेले आफ्नो प्रकाशित सामग्री “प्रयास” हाते पुस्तकालयलाई प्रदान गर्दै केही कविता र गजल प्रस्तुत गर्ने क्रममा खाडी मुलुकमा भेटिएको यथार्थ जीवनको एउटा मार्मिक कविता पनि प्रस्तुत गर्नु भएको थियो ।
कान्तिपुर टेलिभिजनमा क्याफे कान्तिपुर चलाउने कलाकार सुनिल मरहट्टाले आफ्नो प्रस्तुतिको क्रममा जापानको एउटा कार्यक्रममा एकजना भारतीले बुद्ध भारतमा जन्मेको कुरा ब्यक्त गरेपछि आफ्ना भाईले त्यस्को प्रतिबाद गरेर कार्यक्रममा उपस्थितहरुलाई आफ्नो पक्षमा ल्याउन सफल भएको अनुभब सुनाउनु भयो ।
हरिराम सोनी ‘प्रमोद’ ले सन्चारको क्षेत्रमा स्थान पाउन नसकेका नब प्रतिभाहरुलाई आफ्नो साइट र अन लाइन टेलिभिजन नेपाली संचार डट कममा स्थान दिने जानकारी दिंदै आफ्ना रचनाहरु वाचन गर्नु भयो ।
शम्भु थपलिया र माण्डब राज कार्कीले पनि आफ्नो कविता वाचन गर्नु भएको सो कार्यक्रमको अन्तमा बाँसुरी, मुरली र मादल बजाउँदै नाचगान पनि गरिएको थियो भने उपस्थित अधिकांशले लुम्बिनी-कपिलवस्तु दिवस अभियानका गतिबिधि सिर्जित परिस्थिका कारण आजको आवश्यकता भएको भन्दै यस्लाई कसरी सहयोग गर्ने र मेलबर्नबाट यस्का गतिबिधिमा कसरी योगदान दिने भन्ने बिषयमा जिज्ञासा राख्दै सामान्य छलफल पनि गरे ।
Published Links:
































