Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कपिलवस्तु : दक्षिण एसियाको जेरुसालम

Posted by worldamity on November 21, 2009

(सन्दर्भ – कपिलवस्तु दिवस)

भानु पौड्याल

परिचय

नेपालको दक्षिणी जिल्ला कपिलवस्तु प्राचिन कपिलबस्तु गणराज्यको केन्द्र, सांख्य दर्शनका प्रणेता ऋषि कपिलको तपोभूमि तथा गुरुकुल र शाक्यमुनी बुद्धको जन्मस्थल हो। भनिन्छ, ऋषि कपिलद्वारा प्रतिपादित प्रकृति र पुरुषको द्वैदतामा आधारित दर्शनको जन्मभूमि भएका कारणले प्राचिन कालमा यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो। कक्रुछन्द बुद्धको जन्मभूमि गोटिहवा र कनकमुनी बुद्धको जन्मभूमि निग्लिहवा (निग्लीसागर) पनि यसै जिल्ला अन्तर्गत पर्दछन। शाक्यमुनी बुद्धको खास जन्म स्थल लुम्बिनीमा एक प्राचिन शिवलिङ्ग पनि छ।  शाक्यमुनी बुद्धलाई हिन्दूहरुले समेत विष्णुको दशम अवतार मान्ने भएकोले बिश्वभरी छरिएर रहेका हिन्दू तथा बुद्ध धर्मावलम्वीहरु र शान्ति र समानताका पक्षधरहरुका लागि
कपिलवस्तु र कपिलवस्तु अन्तर्गत लुम्बिनीको त्यति नै महत्व छ जति यहुदी, क्रृस्चियन र मुस्लीमहरुकोलागि जेरुसालमको छ।

भौगोलिक अवस्थिति

कपिलवस्तु अन्तर्गतको लुम्बिनी काठमाण्डौ बाट ३०३ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। प्राचिन कपिलवस्तुको राजधानी तौलिहवा लुम्बिनीबाट २० किलोमिटर पश्चिममा पर्दछ भने यस प्राचिन गणराज्यको सानो हिस्सा भारतमा समेत पर्दछ। शाक्यमुनी बुद्धको मामा घर अथवा माता मायादेवीको माइति घर देवदह भने लुम्बिनीभन्दा ३० किलोमिटर पूर्व रुपन्देही जिल्लामा पर्दछ। कक्रुच्छन्द बुद्धसंग सम्बन्धित निग्लिहवा तौलिहवाबाट करिव १० किलोमिटर पश्चिममा पर्दछ। कपिलवस्तु जिल्लाभरिमा शाक्यमुनी बुद्धसंग सम्बन्धित १३८ वटा पुरातात्विक तिर्थस्थलहरु छन। हरियालीले भरिपूर्ण पर्वत शृङ्खलाहरुको काखमा रहेको बुद्ध र हिन्दू धर्मावलम्वीहरुको लागि पावन कपिलवस्तु र देवदह अन्य पर्यटकहरुको लागि समेत अत्यन्त रमणीय पनि छन।

ऐतिहासिक पृष्टभूमि

शाक्य बंश

कपिलवस्तु गणराज्यका नेतृत्वकर्ता शाक्यहरु प्राचिनकालमा तात्कालिन अयोध्यामा शासन गरिरहेको इच्छ्वकु बंशवाट आएका थिए। पहिलो इच्छ्वकु राजाकी पहिली श्रीमतीका जेठा छोरालाई आफ्नी आमाको मृत्युसंगै देश निकाला गरिएको थियो। देश निकालापछि यी राजकुमार आफ्नो मातृभूमिको उत्तरतर्फ पहाडको काछमा बसाई सरे। आफूलाई गौतम गोत्रका सूर्यबंशीय क्षेत्री मान्ने कपिलवस्तुका प्राचिन शाक्यहरुलाई ईतिहासदबिद् डिल्लीरमण रेग्मीले यिनै इच्छ्वकु राजकुमारका सन्तान मानेका छन।

शाक्यमुनी बुद्धको जन्म र कपिलवस्तुको उन्नति

सन ६२३ बि. सि. मा शाक्यमुनी बुद्धकी माता मायादेबी माइती घर देवदहबाट पति घर तौलिहवा जाँदाजाँदै बाटैमा बालाक शिद्धार्थ गौतमको जन्म भएको थियो। यिनै बालक शिद्धार्थ अहिले शाक्यमुनी बुद्धको नामले र उनको जन्मस्थल लुम्बिनीको नामले बिश्व प्रशिद्ध छन। तात्कालिन अवस्थामा उन्नतशील शाक्य गणराज्य कपिलवस्तु शाक्यमुनी बुद्धको प्रशिद्धीसंगै सम्पन्न पनि हुंदै गयो। ठूलो संख्यामा स्तूप र बिहारहरु निर्माण भए। बिभिन्न यात्रीहरु र पुरातत्वबिद्हरुको अनुसार सिङ्गो कपिलवस्तु झकिझकाउ थियो। स्वयम सम्राट अशोकले लुम्बिनी र निग्लीहवामा स्तूपहरु निर्माण गरी शिलालेख सहितका पाषाण स्तम्भहरु खडा गरेका थिए। कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रभरी छरिएर रहेका पुरातात्विक महत्वका स्थान र सामाग्रीहरु प्राचिन कपिलवस्तुको उन्नतिका जीबित साक्षी हुन।

दुर्दशाका शताव्दीहरु

सम्राट अशोकले २६४ बि. सि. मा निग्लीहवा र २४९ बि. सि. मा लुम्बिनी भ्रमण गर्दा कपिलवस्तु उन्नत र बौद्ध भिक्षुहरुको केन्द्र थियो। दुर्भाग्यबश यो सर्वतोमूखी सम्पन्नता धेरै शताव्दीसम्म रहन सकेन। सन ४०३ मा चिनिया यात्री फा सियानले देखेको लुम्बिनी दर्दनाक स्थितिमा थियो। उनले लुम्बिनीमा त्यागिएका बौद्ध बिहारहरु र कपिलबस्तुमा खण्डहर शहर देखेका थिए। फा सियानले भ्रमण गरको करीव २०० बर्ष पछि अर्का चिनिया यात्री तथा बौद्ध भिक्षु हुयान साङ्गले भत्किएका १००० वटा बौद्ध बिहारहरु र चट्याङले भांचिएको अशोक स्तम्भको बर्णन गरेका छन। लुम्बिनी र कपिलवस्तुमा बचेखुचेका मूर्ति र बिहारहरु पनि चौधौं शताव्दीमा आक्रमण गर्न आएका मुगलहरुले तालिवानले अफ्घानस्तानमा बामियां बुद्धको मूर्तीहरु ध्वस्त पारेको शैलीमा संहार  गरिदिए। त्यसपछि लगभग बिर्सिएको लुम्बिनीलाई सन १११३ मा बर्तमान पश्चिम नेपालमा पर्ने एक गणराज्यका तात्कालिन राजा रिपु मल्लले दर्शन गरे तापनि कपिलवस्तुको उद्दारमा कुनै काम हुन सकेन। लुम्बिनी निर्जन जङ्गलमा परिणत भयो। १८९६ मा पाल्पाका तात्कालिन गभर्नर खड्ग सम्सेर ज. ब. रा. ले उत्खनन र जर्मन पुरात्त्वबिद् डा. एन्टोन फुहररले अशोक स्तम्भको प्रमाणिकरण नगरेसम्म कपिलवस्तु आफ्नो अस्तित्वको खोजीमा तडपिरह्यो।

खड्ग सम्सेर, डा. फुहरर र उत्खननका सिलसिलाहरु

सौखिन पुरातत्वबिद् खड्ग सम्सेरले १८९६मा लुम्बिनीमा आशोक स्तम्भ फेला पारेपछि तात्कालिन ब्रिटिस इन्डियाका कर्मचारी डा. एलोइस एन्टोन फुहररले उत्खननलाई अगाडि  बढाए। डा. फुहररको उत्खनन र डिसेम्बर १, १८९६ मा अशोक स्तम्भको प्रमाणिकरण लुम्बिनी र समग्रमा कपिलवस्तुको संरक्षण र बिकासको लागि कोसे ढुङ्गा प्रमाणित भयो। अशोक स्तम्भमा भएको शिलालेख, जसमा अशोकको भ्रमण र बुद्धप्रतिको उनको समर्पण, बुद्धको जन्मस्थान लुम्बिनी भएको जानाकारी र बुद्ध जन्मस्थलका बासिन्दाहरुलाई अशोकले गरेको कर माफीको बारेमा बर्णन गरिएको छ, बुद्धसम्बन्धी अनुसन्धानको आधार बन्यो। सन १८९९ मा पि के मुखर्जीले उत्खननलाई अझ अगाडि बढाए भने १९६१ मा देवला मित्राले इटाले बनेको मन्दिरको भग्नावसेष र त्यस भित्र मायादेबीले बुद्धलाई जन्म दिएको अवस्था झल्किने मूर्ति  फेला पारिन। यिनै पुरातत्वबिद्हरुका अथक परिश्रम र अद्वितीय उपलब्धीहरुले गर्दा लुम्बिनी १९९७ देखी UNESCO को बिश्व सम्पदा सूचिमा सूचिबद्ध छ।

उ थान्त र संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघका तात्कालिन महासचिव उ थान्तले सन् १९६७ मा कपिलवस्तुको भ्रमण गरे। उनको यस भ्रमणले कपिलबस्तुको सम्बर्धन र बिकासको कामलाई अन्तरराष्ट्रीय चासोको बिषय बनाउन सहयोग गर्‍यो। उ थान्तकै प्रयासको परिणाम स्वरुप १९७० मा १३ देशहरुको प्रयासमा गठित लुम्बिनी बिकास कोष  लुम्बिनीलाई अन्तररास्ट्रिय धार्मिक, पर्यटन तथा शान्ति केन्द्रको रुपमा बिकसित गर्न प्रयत्नरत छ। उ थान्तकै पद चिन्ह पहिल्यउंदै १९७९ मा सं. रा. स. का नया महासचिव कुर्त वाल्ढेइमले जापानी आर्किटेक्ट केन्जो ताङ्गेले तयार पारेको गुरु योजानालाई कार्यान्वयन गर्नकोलागी आर्थिक सहयोग प्रदान गर्न बिश्वका देशहरु तथा संघ संस्थाहरुलाई आह्वान गरेका थिए। १९९३ मा बुत्रोस बुत्रोस घालीले र १९९८ मा कोफि अन्नानले समेत कुर्तकै भाषा दोहोर्‍याए तापनि लुम्बिनीको अपेक्षित द्रुत गतिमा बिकास भने हुन सकेको छैन।

सन १९८९ मा लुम्बिनीको बारेमा तात्कालिन सं. रा. स. का महासचिव हावियर पेरेज द कुयारले लुम्बिनीलाई सांस्कृतिक आदान प्रदान र शान्तिको केन्द्रको रुपमा ब्याख्या गरेका थिए। बर्तमान महासचिव बान कि मुनले २००८ मा लुम्बिनी र गौतम बुद्धको बारेमा बोल्ने सिलसिलामा बुद्धको शिक्षाले बिभिन्न बिचार र संस्कृति बोकेका मानिसहरुमा शान्ति, सह-अस्तित्व र आत्ममूल्याङ्कनको बिकास गर्न सहयोग पुर्‍याउने कुरामा आफ्नो बिश्वास रहेको कुरा ब्यक्त गरेका छन। यसर्थ, बिश्वका बिभिन्न देशहरु आन्तरिक र बाह्य स-शस्त्र द्वन्द र बिदेशी कुटनैतिक दबाबमा फसिरहेको बेला उत्पादनका साधनहरुको समानुपातिक बितरण र दिगो शान्तिको पक्षमा संयुक्त राष्ट्र संघ दह्रो रुपमा उभिने छ र शान्ति, समानता र सह-अस्तित्वका प्रचारक शाक्यमुनी बुद्धको जन्स्थलको संरक्षण र बिकासमा बिशेष जोड दिनेछ भन्ने आशा गर्न सकिन्छ।

कपिलवस्तुसम्बन्धी भ्रमहरु

यथेष्ट प्रमाणहरुले नेपालमा अवस्थित कपिलवस्तु जिल्ला प्राचिन कपिलवस्तु गणराज्य भएको कुरा सिद्ध गरिसक्दा पनि अन्तररास्ट्रिय बुद्धि बजारमा केही भ्रमहरु छरिएका छन। जानेर वा नजानेर। केही भ्रमहरु पश्चिमी लेखकहरुवाट छरिएको छ भने केही भारतीय बिस्तारबादी शासक बर्गबाट।

पश्चिमी लेखकहरुले बुद्धलाई भारतीय राजकुमार भन्ने गरेका छन। हिन्दू धर्म शास्त्रमा उल्लेखित दन्त्यकथाका सम्राट भरत इतिहासको कुनै पानामा पनि भेटिदैनन। माहाभारत र रामायणले समेत बर्तमान दक्षिण एसियमा बिभिन्न राज्य/गणराज्यहरु भएको देखाउछन। यसर्थ चन्द्रगुप्त मौर्यभन्दा पहिले बिशाल भारत केही पौराणिक लेखकहरुको कल्पनामा मात्रै थियो। ईतिहास अनुसार चन्द्रगुप्त मौर्य बुद्ध जन्मेको करीव पौने दुई सय बर्षपछि राजा भएका थिए। यस हिसाबले चन्द्रगुप्त मौर्यको राज्य भित्र कपिलवस्तु गणराज्य पर्ने कुरा पनि आएन। त्यो एक स्वतन्त्र गणराज्य थियो। त्यो गणराज्यका प्रमुख क्षेत्रहरु हालको नेपालमा पर्दछन भारतमा हैन। त्यस कारण शिद्धार्थ गौतम या शाक्यमुनी बुद्ध प्राचिन कपिलवस्तु गणराज्यका राजकुमार थिए भारतका हैनन।

केही भारतीय तथाकथित बिद्वानहरु अशोक स्तम्भको प्रामाणिकतामाथि समेत प्रश्न चिन्ह उठाउने कोसिस गरिरहेका छन। यसरी प्रश्न उठाउनेहरुको लाममा एक बेलायती लेखक चार्ल्स आलेन पनि पर्दछन। तर भारतीयहरुको नियतमा खोट छ भने श्री आलेनको बुझाईमा। चार्ल्स आलेनले लुम्बिनी अहिले मानिएको लुम्बिनीमा नभएर बाणगङ्गाको किनारामा रहेको तिलौराकोटतिर हुने कुरा अनुमान लगाएका छन। प्रमाणित कुरा के हो भने शिद्धार्थ गौतमको बालापन तिलौराकोटामा बितेको थियो।

माहायान बौद्धमार्गीहरुका अनुसार साक्यमुनी बुद्धभन्दा पहिले अरु बुद्धहरु पनि थिए। कनकमुनि, कक्रुछन्द, दीपङ्कर र तारा आदी  शाक्यमुनी बुद्धभन्दा पहिलेका बुद्धहरु हुन। सम्राट अशोकले खडा गरेको निग्लिहवाको स्तम्भबाट पनि महायानीहरुको दाबिलाई पुष्टी गरेको छ। लुम्बिनीमा स्थापित स्तम्भलाई शाक्यमुनी बुद्धलाई समर्पण गरेजस्तै लुम्बिनीमा भन्दा १५ वर्ष पहिले निग्लिहवामा स्थापित स्तम्भलाई उनले कनकमुनी बुद्धलाई समर्पित गरेको कुरा लेखिएको छ। बुद्ध बिहार र स्तुपहरु संसारभरि नै एकै खाले देखिन्छन। यसर्थ केरलामा वा ओरिसामा स्तम्भ, बुद्ध बिहार र स्तुपहरु भेटिए यसर्थ कपिलवस्तु त्यही  हो भन्नु बौद्विक बेईमानी हो। भारतको पिपराहवामा स्तुपहरु भेटिए भन्दैमा लुम्बिनीको अशोक स्तम्भमा लेखिएको शिलालेख मेटिने हैन।

बर्तमानमा लुम्बिनी

लुम्बिनीलाई अन्तररास्ट्रिय तिर्थ तथा शान्ती केन्द्रको रुपमा बिकास गर्ने काम भईरहेको छ। लुम्बिनी बिकास कोष र ईन्जिनीतरिङ अध्ययन संस्थान, पुल्चोक क्यम्पस आफ्नो आर्थिक, भौतिक र बौद्विक क्षमता अनुसार अथक परिश्रम गरिरहेका छन। मायादेबी मन्दिर, अशोक स्तम्भ, पुस्करिणी पोखरी आदिलाई पुनर्स्थापित गरिसकिएको छ। भारत लगायत बिभिन्न देशका बौद्ध संध संस्थाहरुले स्तूपहरु, बिहारहरु र चैत्यहरु निर्माण गरेका छन। कपिलवस्तु अझै पनि सबा दुई हज्जार बर्ष अघिको बैभवको प्रतिक्षामा छ।

उपसंहार

नेपालका हिसावले अहिले रास्ट्रियता र रास्ट्रिय एकताका सूत्रहरु र ती सूत्रहरुलाई ब्यबहारिक पुष्टी गर्ने धरोहरहरुको खोजी र बिकासको समय हो। शाह राजशाहीले थोपरेको रास्ट्रियता र रास्ट्रिय एकताका परिभाषाहरुलाई खारेज गर्दै नय जनआधारित र जनपृय परिभाषाहरुको बिकास गर्ने समय हो। शाक्यमुनी बुद्ध  र उनको जन्मस्थल नेपालीले मात्र हैन सारा विश्वले नै गर्व गर्ने धरोहर भएकाले रास्ट्रियता र रास्ट्रिय एकताका धेरै प्रतिकहरुमध्ये सबैभन्दा दरिला प्रतिक हुन। बुद्धको शान्ती, समानता, र चराचर जगतको सह-अस्तित्वको सन्देशलाई एक धर्मको सांघुरो दायराभित्र राख्न सकिदैन। मूर्ती-पूजाका बिरोधी शाक्यमुनी बुद्धले आफूलाई कहिल्यै नया धर्मको जन्मदाता र ईश्वर भएको घोषणा गरेका छैन। मानवताका पुजारी बुद्धलाई एउटा धर्मको दायराभित्र बाध्नु उनी  र उनको दर्शनप्रति अन्याय गरेको ठहरिन्छ। बुद्ध सम्पूर्ण मानव जगतका उत्कृष्ठ शिक्षक हुन।  यसर्थ, बुद्ध र लुम्बिनीको बिकास र प्रचार प्रसार गर्नु प्रत्येक नेपालीको कर्तब्य हो।

विश्वका हिसावले हेर्ने हो भने आन्तरीक र बाह्य स-शस्त्र युद्धहरु, कमजोर राष्ट्रहरुमाथि बिदेशी कुटनैतिक/राजनैतिक हस्तक्षेप, असमानता र अन्याय बढिरहेको परिप्रेक्षमा सं. रा. स. का महासचिव बान कि मुनले भने झै बिभिन्न बिचार र संस्कृति बोकेका मानिसहरुमा शान्ती, सह-अस्तित्व र आत्ममूल्याङ्कनको बिकास गर्न वुद्ध र उनका शिक्षाको बिशेष महत्व छ। देश, जाती र धर्मको आधारमा इतिहार र तथ्यहरुलाई तोडमरोड गरियो भने दक्षिण एसियाको जेरुसालमले भबिष्यमा बर्तमान जेरुसालमको नियति भोगनु पर्ने हुन सक्दछ। शन्तीका दूतको जन्मस्थल शान्ति, उत्पदनका साधनहरुको समानुपातिक बितरण, सामाजीक न्याय र भतृत्वको बिकास गर्न प्रयोग हुनु सबैकोलागी श्रेयस्कर छ। मानव जातिवीच बिभाजनका रेखा कोरिनुभन्दा समानताका बिन्दुहरु खोजिनुले दीगो शान्ती, समानता, सामाजिक न्याय र सम्बृद्धिको पक्षमा विश्वलाई डोहोर्‍याउने छ। बुद्धका सकारात्मक शिक्षाहरुको अध्ययन र उनका बिचार र उनको जन्मसंग सम्बन्धित स्थान र वस्तुहरुको निरन्तर प्रचार यस दिसामा हामी सबैले पुर्‍याउन सक्ने योगदान हुन सक्दछन।  यसर्थ विश्वका सबै न्याय र दीगो शान्तीका पुजारीहरुले कपिलवस्तु र लुम्बिनीकोर भ्रमण, प्रचार प्रसार र बिकासको अभियानमा हातेमालो गर्नु अत्यन्त आवश्यक छ। अस्तु।

शन्दर्भ सामाग्रीहरु

  1. http://www.snowlionpub.com/pages/appeals10.html
  2. http://www.lonelyplanet.com/nepal/the-terai-and-mahabharat-range/lumbini/history
  3. http://www.lumkap.org.uk/Lumbini%20On%20Trial.htm
  4. http://www.lumbinitrust.org/messageunsg.htm
  5. Stupas of previous Buddha, B. Gosh , http://himalaya.socanth.cam.ac.uk/collections/journals/bot/pdf/bot_1989_03_03.pdf
  6. Ancient inscriptions of Nepal, D. R. Regmi, Abhinav Publications, New Delhi, 1983
  7. Lumbini for peace and pilgrimage, (Ancient Nepal, Journal of Department of Archaeology,  Government of Nepal, October 1967), T .R. Vaidya
  8. The Buddha and Dr Fuhrer: An Archaeological Scandal, Charles Allen, Haus Publishing Limited, UK, 2008

Published link:

http://usnepalonline.com/lumbini-kapilbastu-day/buddhas-birth-place-at-a-glance.html

http://solidaritykhabar.com/index.php?option=com_content&view=article&id=6552:2009-11-26-04-46-52&catid=70:2009-02-12-10-56-54&Itemid=92

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: