Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

विशिष्ट चिनारी, गर्वको अभिव्यक्ति

Posted by worldamity on March 8, 2010

By ध्रुवहरि अधिकारी

‘बुद्धको जन्म लुम्बिनी नेपालमा भएको हो ।’ यी शव्दहरुको अंग्रेजी रुपान्तरण आफ्नो चिनारी कार्ड भिजिटिङ कार्ड मा छाप्ने र आफूसित परिचयमा आउने हरेक मानिसलाई त्यो कार्ड दिने डा. गोविन्दप्रसाद थापालाई धेरै नेपालीले चिन्दछन् । कतिपयले उहाँलाई प्रहरी सेवामा बहाल छँदै विद्यावारिधि गर्ने पहिलो उच्चपदस्थ अधिकृतको रुपमा हेर्दा हुन् । मैले पनि त्यही क्रममा चिनेको हो । बुद्धसित गाँसिएको देशको विशिष्ट पहिचानप्रति गर्व गर्ने र सजग रहने डा. थापाको कार्यशैली प्रशंसनीय छ ।

‘देखेको मुलुक’ का लेखक कनकमणि दीक्षितको हेराइ अलिक बेग्लै किसिमको रहेछ । लेखकको रायमा नेपाललाई बुद्ध जन्मेको देश भनेर गर्व गर्नुको खास अर्थ छैन किनभने अढाइ हजार वर्षअघि सिद्धार्थ गौतम जन्मिँदा नेपाल भन्ने राज्य नै थिएन । झट्ट सुन्दा हो पनि इतिहासको सन्दर्भमा आजको भूगोललाई नियाल्दा लेखकको कथनलाई गलत भन्न मिल्दैन । र यो तर्कसित सहमत हुने हो भने केटाकेटीलाई पढाइने बुद्धसम्बन्धी पाठ्य सामग्री फेर्नुपर्छ भन्ने लेखकको दिशा-निर्देशलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ । लेखको आग्रह त्यस्तै छ ।

तर कति स्वीकार्य होला यो प्रस्तावः भन्न गाह्रो छ । किनभने ‘उग्रराष्ट्रवाद’ को विरोध गर्ने लेखकको स्वतन्त्रताको सम्मान गर्दागर्दै पनि तथ्यसम्मत सूचना विवरणहरुले स्थापित गरेको यथार्थलाई अस्वीकार गर्ने धृष्टता धेरैले नगर्लान् । र अन्वेषण तथा अनुसन्धानबाट प्रमाणित यथार्थ होः जुन ठाउँमा सिद्धार्थ गौतम जो पछि बुद्ध भए जन्मे त्यो ठाउँ लुम्बिनि हो र लुम्बिनी नेपालमा पर्दछ । भन्नु परोइन यो पर्यटकलाई लोभ्याउने कुरो मात्र होइन । यो बौद्ध-मतावलम्बीहरुको अटुट आस्थाको केन्द्र हो । जापान कोरिया वर्मा श्रीलंका थाइल्याण्ड समेतका देशहरुबाट लुम्बिनी तीर्थाटनमा आउनेहरु मनोराजनको अर्थमा बुझिने पर्यटनका लागि निस्केका डुलुवा होइनन् । बुद्धले ज्ञान पाएको स्थान बोधगया पहिलोपटक उपदेश दिएको ठाउँ सारनाथ र उहाँको महापरिनिर्वाण भएको स्थान कुसीनगर अहिलेको भारत देशमा पर्दछ । यति कुरो भारत सरकारले नै स्वीकार गरिसकेको छ । अन्यथा लुम्बिनीको संरक्षण र प्रवद्र्धनका निम्ति साचालित परियोजनाहरुलाई भारत सरकारका तर्पुबाट दूतावासले किन सहयोग गरिरहन्थ्यो । किन चीन र श्रीलंकाभन्दा पछि परिएला भनेर सावधानि अपनाइरहन्थ्यो  अनि बुद्धको जन्मस्थल हो भन्ने कुरामा ढुक्क नभएको भए दलाई लामा पटक-पटक लुम्बिनी आउन नेपाल सरकारसित किन अनुमति मागिरहन्थे  सन् १९८१ मा एकपल्ट यस्तो अनुमति पाए पनि ।

इतिहासको सन्दर्भ
बुद्धको ज्ञान नेपाल अथवा भारतमा सीमित हुने ‘वस्तु’ अवश्य होइन । र उहाँ एसियाको ज्योति लाइट अफ एसिया मात्र पनि होइन । शाश्वत मान्यताका स्रोतलाई विश्वव्यापी महत्वका आदर्श व्यक्तित्व नै मान्नुपर्छ । तर के यसो भन्दैमा बौद्ध दर्शनबारे पढ्दा लेख्दा सान्दर्भिक भएर आउने बुद्धको जन्मस्थलको उल्लेख नै नगर्ने  त्यसो हो भने त बोधगया सारनाथ र कुसीनगरको पनि चर्चा नगरे भयो । तर यस्तो सोचसित धेरैले सहमति जनाउन सक्दैनन् । जगजाहेर छ बुद्धसित सम्बन्धित चार महत्वपूर्ण ठाउँमध्ये एउटा लुम्बिनी नेपालमा पर्छ र अन्य तीनस्थान भारतमा पर्छन् । कालक्रममा विकसित भएका राजनीतिक नक्साले यस्तो परिणाम ल्याएको हो । विद्यालयका बालबालिकालाई यिनै कुरा सिकाए भैगो तथ्य-सत्य बताए पुगिहाल्यो । अझ छिचोलर कुरो गर्ने हो भने आधुनिक भारत अस्तित्वमा आउको ६३ वर्ष सन् १९४७ देखि मात्र भयो नेपाल र लुम्बिनी त त्यसअघि नै थिए ।

सबैतिरका लेखक नेपालीजति उदार नहुँदा रहेछन् । अहिलेको भूमण्डलीकरणको युगमा समेत । फरिद जकारिया यस प्रसंगका दृष्टान्त हुन सक्छन् । अमेरिकाको ख्यातिप्राप्त पत्रिका न्युजविकको अन्तर्रास्ट्रिय संस्करणका सम्पादक जकारियाको नयाँ कृति ‘द पोस्ट-अमेरिकन वल्र्ड’ (अमेरिकापछिको विश्व) चर्चित पुस्तकहरुको सूचीमा पर्दछ । पुस्तक पठनीय पनि रहेछ । बदलिँदो विश्वमा पनि राजनीतिक नेतृत्व दिने शक्तिरास्ट्र भने अमेरिका नै हुनेछ भन्ने निचोड निकाल्न थरी-थरीका आँकडा र विवरणका अतिरिक्त सशक्त तर्कहरु दिइएका छन् । अस्वभाविक लाग्ने कुरो एउटै रहेछ र त्यो हो सन् १९८२ मा भारतबाट बसाइँ सरेर गएपछि अमेरिकी नागरिक भएका व्यक्तिले रैथाने युवकले भन्दा पनि बढी अमेरिकी शैलीबाट आफूलाई प्रस्तुत गरेको देखिने लेखाइ । यसै सन्दर्भमा हेरौं कितावमा आउने बुद्धसम्बन्धी कुरालाई । ‘बुद्ध भारतीय थिए र बौद्धधर्मको स्थापना भारतमा भएको थियो’ … (बुद्ध वाज् इन्डियन एन्ड बुद्धिजम् वाज् फाउन्डेड इन् इन्डिया) भन्ने उनको कथन रहेछ । यस भनाइको पहिलो अंशमा परेको कुराले सिंगो कितावकै विश्वसनीयतालाई प्रश्नचिह्नमा पार्दछ । जकारिया १८ वर्षको उमेरसम्म भारतमै थिए पढ्दै थिए भन्ने जानकारी यही पुस्तकमा पाइन्छ । तर भारतमा जन्मे हुर्केर पनि बुद्धको जन्मस्थल थाहा नपाउनु उदेकलाग्दो पक्ष हो । दुराशय राखेर तथ्य बङ्ग्याउने कार्य विद्धानका लागि सुहाउने होइन । बुद्ध जहाँ जन्मेको भए पनि त्यसले महत्व राख्दैन मुख्य कुरो त उनको सन्देश उपदेश हो भन्ने मान्यता राख्नेहरुलाई पनि मैले यसबीचमा भेटेको छु । त्यसैले त्यस्ता विद्धान व्यक्तित्वहरुबाट जकारियालाई यस्तो प्रश्न सोधियोस् भन्न मन लागेको हो:  जकारिया महाशय किन तिमी बुद्ध भारतीय नै थिए भनाउनमा जोड गरिरहेका छौ ? बुद्ध जन्मेको ठाउँ लुम्बिनी नेपालमा पर्छ भनेर साँचो कुरा लेख्दा तिमीलाई के नोक्सान पर्छ ? आखिर जहाँ जन्मेको भए पनि बुद्ध बुद्ध नै रहन्थे । रहेकै छन् ।

जन्मस्थलको प्रसंग
जन्मस्थलभन्दा जकारियालाई कर्मस्थल फापेको छ । अमेरिका असीमित अवसरहरु भएको देश मानिएकै छ । त्यहाँ पुगेपछि क्षमता र योग्यताको आधारमा मानिसहरु उच्चभन्दा उच्च ओहोदामा पुग्न सक्छन् । र यस्ता आप्रवासी अमेरिकीहरुमा जकारियाजस्ता पुरुषमात्र छैनन् । महिलाहरु पनि उत्तिकै छन् । २०४६ सालको जनआन्दोलनताका नेपालमा रहेकी अमेरिकी राजदूत जुलिया चाङ ब्लक २०१६ सालतिर सन् १९५९ चिनियाँ शरणार्थीको रुपमा अमेरिका प्रवेश गरेकी महिला थिइन् । यहाँ नेपालमा बस्दा उनी चर्चित विदेशी कूटनीतिज्ञ कहलिइन् । यता रहँदा आफ्नो जन्मभूमि चीन पनि डुलेर आइन् । यस्तै ख्यातिप्राप्त अर्की महिला हुन् म्याड्लिन अलब्राइट जो विल क्लिन्टनको कार्यकालमा अमेरिकाको विदेशमन्त्री नै भइन् । उनी सन् १९४८ मा चेकोस्लोभाकियाबाट शरणार्थी भै अमेरिका पुगेकी हुन् । आफ्नो अध्ययन-मेहनत-प्रतिवद्धताले उनलाई त्यति उच्च पदसम्म पुर् यायो । अमेरिकाबाहिर जन्मेको मानिसले पुग्न पाउने उच्च तहसम्म पुर् यायो । सर्वोच्च अर्थात् राष्ट्रपतिको पदमा पुग्न भने अमेरिकामै जन्मेको मानिसले नागरिकले मात्र पाउँछ । सन् १७८७ मा जारी भएको संविधानमा परेको यस व्यवस्थालाई अमेरिकीहरुले आजसम्म हेरफेर गरेका छैनन् । विश्वव्यापीकरण २१ औं शताव्दीको आगमन लगायतका कुनै कुराले यो प्रावधान संशोधन गराउन सकेको छैन । अमेरिकामा जन्म भएको र नभएको कुराले अमेरिकाजस्तो उदार देशमा त असर पर्दोरहेछ भने अन्यत्रका देशहरुमा के होला ? जे भए पनि हामीकहाँ जस्तो भाँडभैलो नहोला ।

इसाई धर्म मान्नेहरुमध्ये रोमन क्याथोलिक सम्प्रदायका सर्वोच्च धर्माधिकारी हुन पोप । इटालीमा भए पनि पोपको राज्य भ्याटिकन सिटीलाई छुट्टै देशसरह मान्यता दिइन्छ । र पोपको पदका लागि एउटा स्वीकृत विधिद्धारा निर्वाचन हुन्छ । निर्वाचित धार्मिक नेता कहिले कुन देशका कहिले कुन देशका पर्छन् । अहिलेका पोप बेनडिक्ट सोह्रौं जर्मनीका नागरिक हुन् । यसअघि पोपको जिम्मेदारी पोल्यान्डका पादरीले सम्हालेका थिए । यस्तो प्रचलन र पृष्ठभूमिमा जर्मनीका क्याथोलिकहरुले अहिलेका बहालवाला पोप त हाम्रो देका विशिष्ट व्यक्तित्व परे भनेर गर्वको अनुभूति गरे भने त्यो उचित होला कि अनुचित ?

त्यो अनुचित मानिदैन भने बुद्ध भनेर संसारले चिनेका महापुरुषको जन्मस्थल नेपालमा पर्छ भन्दै नेपालीले अतिरिक्त सुखानुभूति लिनु कसरी नाजायज कार्य होला र  आखिर तेन्जिङ नोर्गे पनि सगरमाथा उक्लिँदा नेपाली नै थिए । त्यसै हुनाले जनकविकेशरी धर्मराज थापाले ढुक्क भएर गाइदिए : हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो ।

यो लेख फेब्रुअरी १४ २०१० को राजधानी दैनिकमा प्रकाशित भएको हो ।

About these ads

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,038 other followers

%d bloggers like this: