Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध जन्मस्थलका आधारहरु

Posted by worldamity on April 17, 2010

By दिवस ढकाल

बौद्ध ग्रन्थ अनुसार सिद्धार्थ राजकुमारकी हजुरआमा लुम्बिनी नामले परिचित भएकोले कपिलवस्तु र देवदहबीच अवस्थित दुबै देशको साझा यस रमणीय उद्दानको नाम कालान्तरमा लुम्बिनी रहन गयो । तिब्बती मूल स्रोत अनुसार लुम्बिनीको अर्थ ‘नगरकी भद्र महिला’ भन्ने हुन्छ भने बौद्ध साहित्यिक स्रोतहरूले लुम्बिनीलाई ‘प्रदिमोक्ष वन’ भनी स्वर्गका ईन्द्रको बगैंचा ‘चित्तलता वन’ संग तुलना गरेको पाइन्छ । बुद्धकालीन भारतीय भूगोललाई अध्ययन गर्दा यसले प्राचीन व्यापारिक मार्ग ‘उत्तरापथ’ को प्रतिनिधित्व गरेको बोध हुन्छ । सुरूमा यस ठाउंलाई रूमनदेइ भनियो र पछि यही नै रूपन्देही हुन पुग्यो । पुरात्तत्त्वविद्हरूले उत्खनन्बाट प्राप्त पुरातात्त्विक सामाग्रीहरूको निर्माणकाल करिब सय बर्ष अघिदेखि नै मानिसहरूको त्यस ठाउंमा बसोबास भएको बुझिन्छ । लुम्बिनी भैरहवादेखि करिब २२ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित छ ।

बुद्धले महापरिनिर्वाण अगाडि आफ्ना शिष्य आनन्दलाई चार ठाउंलाई तीर्थस्थलका रूपमा स्वीकार्नु भन्नुभएको थियो । ती चार तीर्थस्थलहरूमा – बुद्ध जन्म भएको – लुम्बिनी, ऊहांले ज्ञान प्राप्त गर्नुभएको ठाउं – बोधगया, पहिले उपदेश दिएको – सारनाथ र महापरिनिर्वाण भएको ठाउं – कुशीनगर हुन् । तसर्थ बुद्धको महापरिनिर्वाणपछि वा बुद्धधर्मको विकाससगैं यी ठाउंहरूको महत्त्व बढ्दै गई तीर्थयात्रीहरूको भ्रमण गर्ने परम्परा शुरू भयो । ई.सं. २४९ मा भारत जम्बुद्विपका सम्राट् अशोक आफ्ना गुरू उपगुप्तसंग नेपालको लुम्बिनी, गोटीहवा र निग्लिहवा आएको पुरातात्त्विक प्रमाणहरु पाइन्छन् । यसै क्रममा उनले गोटीहवा पुगी क्रकुछन्द बुद्धको निर्वाण स्तूप भएका ठाउंमा अशोकले स्तम्भ गाडेको पुरातात्त्विक प्रमाण पाइन्छ । यो अभिलेख सहितको स्तम्भ अहिले निग्लिहवामा छ । क्रकुछन्द बुद्ध जन्मिएको ठाउंमा अहिले अभिलेख नभेटिए पनि निग्लिहवामा अभिलेखसहित स्तम्भ छ र यस अभिलेखलाई विभिन्न विद्वानहरू इ.जे. थोमस, डा.ए. फुहरर, भि. स्मिथ र भुवनलाल प्रधानले आफ्नै तरिकाबाट व्याख्या गरेका भएपनि जी. बुहलरका अनुसार “देवताहरूका प्रिय प्रियदर्शी राजा अशोकले राज्याभिषेक भएको चौधौं बर्षमा कनकमुनि बुद्धको स्तूप दोब्बर ठूलो बनाउन लगाइबक्स्यो र २० औं बर्षमा आफै आई पूजा गरी यो शिलास्तम्भ खडा गर्न लगाइबक्स्यो ।“ अशोकले लुम्बिनी आई भगवान् बुद्ध जन्मेको ठाउंमा धर्मचिन्ह शिलास्तम्भ अभिलेख राख्न लगाए । देवताहरूको प्रियदर्शी राजाले आफ्नो राज्याभिषेकको २० बर्षपछि लुम्बिनीमा आफै आएर पुजा गरे । यही ठाउंमा शाक्यमुनि बुद्ध जन्मेका थिए भन्ने बेहोराको शिलास्तम्भ पनि ठड्याए । यस ठाउंमा बुद्ध भगवानको जन्म भएकोले लुम्बिनीग्रामका बासिन्दालाई करमुक्त गरिदिए । हुन त ‘सिलाविगडभीचा’ को अर्थको व्याख्यामा विद्वानहरूको विवाद रहेको छ । कसैले यसलाई घोडाको मूर्ति, कसैले शिलास्तम्भको चारैतिर ढुङ्गाको पर्खाल (बार), सिद्धार्थ जन्मबोध गराउने महामायादेवीको प्रतिमा, कसैले सिद्धार्थको सात पाइला, कसैले सूर्यवंशी देखाउन सूर्यको प्रतीक ढुङ्गाको चिन्ह आदि भनेका छन् । तर ‘हिदबुधेजाते शाक्यमुनीति’ को अर्थ यहां ‘शाक्यमुनि जन्म भएकोले’ बाट बुद्ध जन्मको विवाद नै रहंदैन । लुम्बिनी भ्रमण गर्ने मध्ये चौथो शताब्दीका चिनिया यात्री शुई चिङ्ग चु पर्दछन् । यिनी लुम्बिनी आउंदा उनको बर्णनअनुसार – महामायादेवीले समाएको अशोक बृक्ष देखेको, महामायादेवीको मूर्ति रूखमुनि देखेको र बुद्धको पहिलो भूमिस्पर्श पदचिन्हमा भक्तजनहरूले फूल चढाउने गरेको र यस पदचिन्ह ढुङ्गालाई अशोकले छोपेर सुरक्षा गरेका थिए । यसपछि ४०३ ई.सं. मा अर्का चिनिया यात्री फास्यानले लुम्बिनी क्षेत्रको तीर्थाटन गरेका थिए भन्ने उल्लेख उनको यात्रा विवरणमा पाइन्छ । उनले मायादेवीले स्नान गरेको शाक्य पुष्करिणी देखेको र त्यही पुष्करिणीको २० पाइला उत्तरमा बुद्धलाई जन्मदिनु अगाडि मायादेवीले समाएको रूख थियो भन्ने लेखेका छन् । ६३६ ई.सं. मा  यस क्षेत्रको भर्मणमा आएका अर्का चिनिया यात्री युयान–च्वाङले पनि तीर्थाटनका क्रममा लुम्बिनी शाक्यपुष्करिणी देखेको र त्यसबाट २४-२५ पाइला उत्तरमा सुकिसकेको अशोक वृक्ष थियो भनेर आफ्नो यात्रावृत्तान्तमा लेकेका छन् । त्यसपछि पश्चिम नेपालका राजा रिपु मल्लले १३१२ ई.सं. मा लुम्बिनी भ्रमण गरेको कुरो उनैले भ्रमणको क्रममा अशोक स्तम्भमा कुदांएको उनको नामबाट थाहा पाइन्छ । त्यसपछि ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिकोणले लुम्बिनी अन्धकार युगमा प्रवेश गरेको पाइन्छ ।

उपर्युक्त भनाइ, पुरातात्त्विक, साहित्यिक स्रोत र चिनिया यात्रीहरुको वर्णनबाट भगवान् बुद्ध जन्मेको लुम्बिनी हो भन्ने त थाहा भयो तर ठाउ कुन त ? भारतमा अंग्रेजहरूले शासन थालेपछि सर विलियन्स जेन्सले ई.सं. १७८४ मा कलकत्तामा शाही एसियाली समाजको स्थापना गरी यस क्षेत्र वरपर र छिमेकी मुलुकहरूमा रहेका इतिहास, पुरातत्त्व, संस्कृति, कला र साहित्यको खोजी गरेका थिए । ई.सं. १८३७ मा जेम्स फिलिपले ब्राह्मी लिपीका अक्षरहरुको रहस्य पत्ता लगाएका थिए, यसलाई एउटा उत्कृष्ट उपलब्धि हासिल भएको मानिन्छ । सर अलेक्जेन्डर कनिङगम भारतको पुरातत्त्व विभागका प्रमुख (ई.सं. १८७१ मा) भएपछि उनले भारतमा थुप्रै महत्त्वपूर्ण बौद्ध स्थलहरू पत्ता लगाए । नेपालमा भने राणाहरूको राज्य भएकोले उनीहरूको अनुमति बिना विदेशी नागरिकहरूलाई प्रवेश निषेध थियो । भारतका बलरामपुरका मेजर जसकरण सिहंले शिकार खेल्न आउंदा अशोक स्तम्भ जंगलमा देखेको भन्ने प्रचार गरेपछि कनिङ्गमले तत्कालिन राणा प्रधानमन्त्री वीरशमशेरसंग अनुमति लिई डा. फुहररलाई ई.सं. १८९५ मा पुरातात्त्विक वस्तुको खोजीका लागि नेपाल पठाए । उनको सहयोगको लागि पालपाका तत्कालीन बडाहाकिम खड्गशमशेर खटिएका थिए । फुहररको पडरियामा खड्गशमशेरसंग भेट हुदां उन (खड्गशमशेर) ले अशोक स्तम्भ भेटिसकेका थिए । लिपिको ज्ञान नहुंदा खड्गशमशेरलाई महत्त्व थाहा भएन । फुहररले अशोक स्तम्भको शिलालेखको प्रतिलिपि उतारी लगेका थिए । पछि लिपि विशेषज्ञ जी.  बहुलरले त्यसलाई उल्था गर्दा थाहा भयो – यो त बुद्ध जन्मेको ठाउं पो रहेछ । तसर्थ यसको श्रेय खड्गशमशेर र ए. फुहररलाई जान्छ । यसरी ई.सं. १८९६ डिसेम्बर पहिलो तारिखमा हराएको भनिएको लुम्बिनी पाइएको प्रमाणित हुन्छ ।

फुहररको नापमा अशोक शिलास्तम्भको उचाई २२ फिट ४ ईञ्च छ र जगदेखि ९ फिट ८ ईञ्च माथि अभिलेख छ । स्तम्भको गोलाई फेदमा ८ फिट ३ ईञ्च, अभिलेख स्थानमा ७ फिट ५ ईञ्च र टुप्पोमा ६ फिट ६ ईञ्च छ । इन्जिनियर स्वयम्भूरत्न तुलाधरका अनुसार – लुम्बिनीस्थित अशोक शिलास्तम्भ ३० फिट ४ ईञ्च उचाई र तौल ३७ टनको छ । हुन पनि कनिङ्गमले अशोक शिलास्तम्भका बारेमा ५० फिट उचाइ र ५० ईञ्च गोलाइको एउटा शिलास्तम्भको तौल ५० टन भएको लेखेका छन् । लुम्बिनी पत्ता लगाउंदा त्यस ठाउंमा सिद्धार्थ जन्म स्मारक शिलामूर्तिमा बली दिने प्रथा प्रचलन रहेको उल्लेख पाइन्छ । बुद्धधर्मको चरम विकासपछि फेरि हिन्दूधर्मको पुन:स्थापना यस ठाउंमा भएको देखिन्छ । यस्ता धेरै बौद्ध स्थलहरूमा हिन्दूहरूको पछि प्रभाव भएको यस ठाउंको अध्ययन गर्दा थाहा हुन्छ । हाल यहां बलि प्रथा रोकिएको छ । यसपछि लुम्बिनी भ्रमण गर्ने विद्वानहरूमध्ये ओ.ए. वार्थ ई.सं. १८९७, जर्ज बुहलर १८९८, भी.ए. स्मिथ १९०५, जे.एफ. फ्लीट १९०८ मा लुम्बिनीको भ्रमण गरी अशोक स्तम्भमा लेखिएका लिपिका अक्षरलाई अर्थ्याएर लुम्बिनीमा पुरातात्त्विक अध्ययनका लागि उत्खनन् तिर जोड दिए । भारतिय पुरातत्त्वविद् पूर्णचन्द्र मुखर्जीले ई.सं. १८९८ मा सिद्धार्थ जन्म स्मारकको उत्खनन् कार्य गर्नुभयो । यह उत्खनन् बाट गर्भगृहमा रहेको बुद्ध जन्म भएको मायादेवी मूर्तिको टाउको भेटियो । यसैगरी बराही/तारादेवीको मूर्तिको शिरको भाग ई.सं. १८९९ मा प्राप्त भई मूर्ति टाउको सहित भयो र अध्ययनको लागि यसबाट ठूलो उपलब्धि भयो ।  ई.सं. १९३२ देखि ई.सं. १९३९ सम्म जनरल केशर शमशेरको नेतृत्वमा लुम्बिनीको उत्खनन् भएको र यसलाई पुरातत्त्वको ईतिहासमा ठूलो दुर्धटना मानिन्छ । किनभने केशर शमशेर पुरातत्त्वविद् नभएकोले उनले अनजानमा नै ढिस्कोलाई सम्याइदिंदा त्यसबाट पुरातात्त्विक वस्तुहरू धेरै नै नाश भएका छन् । तैपनि उनले सम्याएको माटोलाई दुई ढिस्कोमा जम्मा गरिदिएका थिए । भविष्यमा यस ढिस्कोलाई उत्खनन् गरेर अध्ययन गर्न सकिनेछ । ई.सं. १९६२ मा भारतिय पुरातत्त्वविद् देवला मित्रले यस ठाउंमा पुरातात्त्विक अध्ययन गरेकी थिइन् । ई.सं. १९७०/७१ तिर डा. निलरत्न वनर्जी र बाबुकृष्ण रिजालबाट लुम्बिनीको उत्खनन् गरी सिद्धार्थ जन्म स्थलको स्मारकमा मौर्य, शुङ्ग, कुशान र गुप्तकालका निर्माण, बुद्ध मुर्ति, मुद्रा, क्यासकेट, माटाका भांडाका टुर्काहरू, ईटाहरू, बुट्टाहरू सहित अवशेषहरू भेटिएका थिए । सिद्धार्थ जन्म स्मारक बचाउन वा जीर्णोद्वार तथा उत्खनन् गर्ने क्रममा यस ठाउंमा लुम्बिनी विकास कोषका तर्फबाट बाबुकृष्ण रिजाल, पुरातत्त्व विभागबाट कोष प्रसाद आचार्य र जापानी बौद्व फेडेरेसनका तर्फबाट एस. वोसाका सहित तीन पुरातत्त्वविद्हरूको संयुक्त कार्यदल (ई.सं. १९९२ मा) गठन भयो । ई.सं. १९९६ मा यस दलद्वारा गरिएको उत्खनन् बाट Conglomerate Stone प्राप्त भयो, जसलाई Maker Stone पनि भनिएको छ । कहीं यो तीर्थाटनमा आउने चिनियां शुई-चिङ्ग-युले भनेको बुद्धको पहिलो भूमिस्पर्शको पदचिन्हमा भक्तजनले विश्वास गरी फूल चढाउने गरेको पदचिन्ह ढुङ्गा त होईन ?

(लेखक त्रि.बि. नेपाली ईतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रिय विभागका पूर्ब प्राध्यापनरत हुनुहुन्छ)

Source: Nepstime.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: