Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्धस्थललाई विवादित तुल्याउने षडयन्त्र

Posted by Ram Kumar Shrestha on June 20, 2010

By भिक्षु कोण्डन्य

सम्राट अशोकले राख्न लगाएको अशोक स्तम्भमा उत्कीर्ण ‘हिद बुधे जाते सक्यमुनी’ति (यहाँ शाक्यमुनि बुद्धको जन्म भएको हो) ‘हिद भगवं जाते’ति लुंमिनि गामे’ (यहाँ भगवान् बुद्ध जन्मनुभएको लुम्बिनी ग्राममा) ब्राह्मी लिपिको अभिलेख प्रमाणको शिलास्तम्भ इ.सं. १८९६ मा प्राप्तिलाई बीसौं शताब्दीको सबैभन्दा ठूलो पुरातात्विक अभिलेख मानिन्छ। यसरी नै चीनिया यात्री फाहियानको ‘लुनमिन’ होस्, ह्वेनसांगको ‘ल-फ-नि’ होस्, अशोक स्तम्भमै पुनः उत्कीर्ण ‘रिपुमल्लस्य चिरं जयतु’ नै होस् यसबाट बुद्धको जन्मभूमि लुम्बिनी नै हो भन्ने अविवादित तथ्यलाई विश्वसामू स्पष्ट पारेको छ।

साथै लुम्बिनीको मायादेवी मन्दिरमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापानी बौद्ध परिषद्को संयुक्त उत्खनन् क्रममा जुन चिनो ढुँगा : Marker Stone पाइयो त्यसबाट अझ बढी प्रमाणित भएको छ। किनकि अशोकको लुम्बिनीस्थित शिलास्तम्भको अभिलेखमा कुंदिएको ‘सिलाविगडभिचा’ को अध्ययन अन्वेषण वि.सं. २०५३, वि.सं.२०५५ मा गरेअनुरुप जापान बौद्ध परिषद्ले सन् २००१मा दिइएको माहामाया देवीको मन्दिर उत्खनन्को पहिलो भागमा पनि ‘सिलाविगडभिचा’ को अर्थ चिनो ढुंगा : Marker Stone भनी स्वीकारिएको छ। 

विश्व शान्तिको मुहान बुद्ध जन्मभूमिलाई युनेस्कोले सन् १९९६ मा विश्व सम्पदा सूचीमा समाहित गरिएको लगत्तै संयुक्त राष्ट्र संघले १३ डिसेम्बर १९९९ का दिन ५४ औं सेसनको एजेण्डा आइटम १७४ ले बैशाख पूर्णिमाका दिन अन्तर्राष्ट्रिय विदाको घोषणा गरेको थियो। यसरी लुम्बिनी नेपाल राष्ट्रको अन्तर्राष्ट्रिय गौरव भएको छ भने यसलाई विश्व शान्तिको मुहानको परिकल्पनास्वरुप शान्तिउन्मुख धार्मिक आयामिक कार्ययोजना तर्जुमासँगसँगै लुम्बिनीको मर्ममा आघात हुनेगरी बेलाबेलामा तथाकथित विद्वानकै नाउँमा होस्, वा अन्य छद्म व्यक्ति वा तत्वको हवाला दिंदै आधारहीन कुराहरु छापामा देखिइनु परम्पराजस्तै भएको छ। जुन अवश्यपनि सुखकर विषय होइन।

वास्तवमा सार्वभौमसम्पन्न राष्ट्र नेपालको राष्ट्रिय मामिलामा ठेस पुग्ने गरी अनावश्यक विवादलाई प्रश्रय दिई मात्रा विवादमाथि विवाद श्रृजना हुने दुस्साहसपूर्ण कुरालाई प्रकाशन स्वतन्त्रताको नाममा छापिनु पत्रकारिता धर्म विपरीत पीत पत्रकारिता हो भन्नुमा अत्युक्त नहोला। यस उसले नेपाललाई फुच्चे राष्ट्र ठानी हाम्रो आस्था, विश्वास अनि राष्ट्रियतामा आँच ल्याउने दुष्प्रयासलाई कसैले पनि, कतैबाट पनि, कुनै पनि स्तरमा स्थान दिइनु हुँदेन। विशेषगरी सार्क राष्ट्रको एक सदस्य राष्ट्रले अर्को सदस्य राष्ट्रको सार्वभौमिकतामा खलल पुग्नेगरी कुनै पनि तरहले प्रयास गर्न सार्क राष्ट्रकै आदर्शमयी गरिमामा आघात पुर्‍याउनु समान हुनेछ। त्यसैले यस विषयमा सार्क राष्ट्रका विवेकी नागरिकहरु सचेत हुनुपर्छ।

सम्बद्ध क्षेत्र मुखमा दही जमाएर बस्ने हो भने भविष्यमा असहज परिस्थिति सृजना हुँदै जानेछ। गतवर्षमात्र विश्वका पचासौं देशमा एकसाथ रिलिज भएको हिन्दी चलचित्र ‘चाँदनी चोक टु चाइना’ ले विश्वका करोडौं मानिसलाई बुद्धको जन्म भारतमा भएको भनी निकृष्ट रुपले झुटको खेती गर्ने धृष्टता गरियो। नेपालको सार्वभौमसत्ता र राष्ट्रियता विरोधी चलचित्रले त्यतिबेला नेपालभित्रै कसरी प्रवेश पाए? यो गम्भीर विषय हो। ‘उस देश मे जहाँ बुद्धका जन्म हुवा’ भनी सो चलचित्रको सुरुवातसँगै भारतलाई सम्बोधन गरिएको उक्त संवादले बुद्धको पवित्र जन्मस्थललाई भारतीयकरण गर्ने दुस्साहस गरियो। वास्तवमा नेपालमा धार्मिक, साँस्कृतिक, सामाजिकजस्ता सम्पदामाथि आँच आउने पक्ष सबल हुँदा सम्बन्धित नेपाल सरकार टुलुटुलु हेरेर बस्न मिल्छ र? हरेक कुरामा जनताले सरकारलाई सचेत गराउन विरोध र आन्दोलन चर्काउने कार्य मात्र गर्नुपर्ने?

उपरोक्त उल्लेख्य विवादित चलचित्रको रिलिजपछि तत्कालै सम्बन्धित बौद्ध संघसंस्थाहरु खुलेर विरोधमा देखिएनन् तरपनि राष्ट्रियताको सवाल भनी विद्यार्थीसंगठनलगायत विरोध गर्नेहरुले जुन विरोधका आवाज बुलन्द पारे, त्यस कदम सही कदम भएको त्यतिबेला सावित भयो जतिबेला अन्ततः सो चलचित्रलाई नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइयो। त्यसपछि बल्ल सो चलचित्रका निर्देशक रोहन सिप्पीले भूलवश त्यस्तो हुनगई नेपाली जनताको मनमा चोट पुगेको भनी आत्मालोचना गरी माफी मागेका थिए।

बुद्धको जन्म नेपालमै भएको शाश्वत यथार्थतालाई बंग्याएर भारतमा जन्मिएका हुन् भनी फिल्ममा समेटिएको संवाद भूलवश भएको हो भन्दा पत्याउने कसरी? नितान्त गंभीर एवं संवदेनशील पक्षलाई भूलवश भनी फगत झारो टार्ने मात्रै काम गरेका हुन्। सबैलाई थाहा भएकै विषय हो कि भारतसम्बद्ध पक्ष पटक पटक भिन्न रुपले बुद्धमाथि विवादास्पद प्रश्न तेर्स्याउनेजस्ता मनोवृत्ति समयसमयमा कुनै न कुनै रुपले प्रकट हुने गरेका छन्। हामीलाई थाहा भएकै हो कि तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने तथ्य सन् १८९९ मै भारतका पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले ठोकुवा गरेका थिए भने त्यसभन्दा अगाडि जर्मनी पुरातत्वविद् डा. फ्यूहररले तिलौराकोट बारे प्रकाशमा ल्याएका थिए। तर दुःखका साथ भन्नुपर्छ कि उत्खनन्बाट प्राप्त ऐतिहासिक एवं पुरातात्विक अवशेषहरु साक्षी प्रमाण छँदाछँदै मित्रराष्ट्र भारतमा पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्ने अशोभनीय भ्रमपूर्ण कार्य निरन्तर जारी राखेको छ। त्यसो त पिपरहवामा भारतीयपक्षबाट आवश्यकीय व्यवस्था गरेकै हुनाले तीर्थयात्रीहरु समेत उतै ओइरिने क्रम बढ्दो छ, यो स्वाभाविक पनि हो। किनकि नेपाल सरकारसम्बद्ध निकायले बेलैमा उचित कदम उठाउन सकेन, परिणामतः लाचारपनालाई नै मलजल थप्ने कार्य भइरहेको छ। यसउसले नेपाल सरकारले बुद्धसम्बन्धी लुम्बिनी, कपिलवस्तु, रामग्रामआदि महत्वपूर्ण स्थलमा पुग्न व्यवस्थित परिक्रमा-पथ निर्माण गरी समुचित विकासको लागि पहल गर्न बेलैमा ध्यान पुर्‍याउनुपर्ने अपरिहार्य देखिन्छ, होइन भने सुनियोजित विवादजन्य इस्यू एकपछि अर्को उठाउँदै जानेहरु झन् सकृय हुने छन्। यस्तै रवैया कायम भइरहनु र सफेद झूट कुरा आउँदा समेत मुखमा दहीचिउरा कोचेर कानमा तेल हाली बस्दा नेपालराष्ट्रसम्बद्ध अन्य संवेदनशील क्षेत्रमा समेत नांगो हस्तक्षेप गर्ने कार्यलाई निरन्तरता दिंदै जाने सुनिश्चित छ।

केही समय अगाडि “The Post American world” पुस्तकले चर्चा पायो, जस्का लेखक Fareed Zakaria हुन्। उनले ‘विश्वहिन्दू दृष्टिकोण’ शीर्षकअन्तर्गत लेखेका छन्-‘बुद्ध भारतीय थिए र बुद्धिजम् भारतमा पत्ता लगाइएको थियो तर त्यो देशमा वास्तवमा कुनै बुद्धिष्ट छैनन्।’ (पृष्ठ-१५४ को अन्तिमहरफ एकजना ख्याति प्राप्त अमेरिकी लेखक तथा राजनीतिक विश्लेषक, अमेरिकाबाट प्रकाशन हुने न्यूजविक साप्ताहिक सम्पादक, अन्तर्राष्ट्रिय गतिविधिका नियमित लेखक, अमेरिकी टेलिभिजन च्यानल सिएनएनका संचालक, अझ सर्वाधिक विक्री भएकामध्ये प्रकाशित स्वतन्त्रताको भविष्य अर्थात The Future of Freedom विषयक पुस्तक जस्ले लेखेका छन्, त्यस्तो छवि स्थापित लेखक महोदयले गैरजिम्मेवारीपूर्ण तवरले लेख्नु दुःखदायी कुरा हो। भारतीय मूलका अमेरिकी नागरिक फरीद जाकरियालाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा जानकारी नभएर लेखिएको भन्ने? धर्मको समेत व्याख्या गर्नसक्ने महाशयले जानीबुझी पूर्वाग्रहीसहित नै आफ्नो असलीरुप प्रस्तुत गरेका हुन् अवश्य पनि। यसै विषयमा व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी (एनेकपा) का प्रवत्ता एवं सभासद् दिनानाथ शर्माले ध्यानाकार्षन गर्नुभएको थियो। भनिन्छ गृहमन्त्रीमार्फत संस्कृति मन्त्री हुँदै राष्ट्रपतिको समेत ध्यानाकर्षण गरिएको भनिएतापनि नेपाल सरकारसम्बद्ध निकायबाट आधिकारिक जवाफ आएको देखिन्न।

यसरी नै हालसालै नयाँ पत्रिका दैनिक (४ चैत्र, २०६६) मा प्रकाशित “भारतमा बन्दैछ लुम्बिनी” शीर्षकीय प्रकाशनले यौटा तरंग पैदा गरिदियो। लुम्बिनी र कपिलवस्तुको फोटोकपि उतारेझैं नेपालकै सीमानजिक उत्तरप्रदेशको आलिगढमा निर्माणाधीन त्यस कार्यले विश्वलाई झुक्याउने नै भयो भनी सर्वसाधारणले चिन्ता गर्नु नितान्त स्वाभाविक विषय हुन्। हामीलाई थाहा छ, गत चैत्र १४ देखि करिबन एकसप्ताहसम्म बाबा रामदेवमय झैं मिडियादेखि यत्रतत्र सर्वत्र विभिन्न रुपमा छाएको थियो। (ठट्यौली पारामा भन्दा : – उनको दर्शन गर्न, योग शिविरमा गणतन्त्र नेपालका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीलगायत बडेबडे नेतादेखि लिएर सेठ, महाजन, धनाढ्य, मध्यमवर्ग, कर्मचारी, सेना, प्रहरी, अभिनेताजस्ता धेरै हाजिर भएका थिए, रिंग मास्टरको कोर्रामा बाघ नाचेझैं बाबा रामदेवको इशारामा नाचिरहेका थिए। अरु त के पृथक पहिचानका लागि समर्पित भनिएका मै हुँ भन्ने प्रचण्ड प्रतापी समेत बाबासामू पानी पानी भई त्यहींबाट हुटिंगका बावजूद माओवाद र अध्यात्मवादको मिश्रण राष्ट्रवाद भनी फ्युजनका अवधारणा प्रस्तुत गर्न भ्याए। नेपाल राष्ट्रकै धरोहरझैं लाग्नेगरी निर्विवाद, सर्वस्वीकार्य, सर्वमान्य व्यक्तित्वसामू अधिकांश बडेबडेमा दिग्गज नेताहरुको उपस्थितिजस्तो भान दिने ती दृश्यको मूल्यांकन हुँदैगर्ला, प्रतिक्षा गर्नु छ।)

लुम्बिनीबारे जहाँसम्म बाबा रामदेवको सवाल छ, उनले काठमाडौं आउँदा आउँदै पत्रकारसमक्ष नेपाली भावनासित नजिकिन मन छुनेगरी, जयजयकार पाउनेगरी भनेका थिए-“बुद्ध नेपालमा जन्मेका नेपाली हुन, नेपाल जन्मेका होइनन् भनी जुन कुटिल दुष्प्रचार गरिएको छ, म त्यसको निन्दा गर्दछु।” त्यसो त यो सुन्दा र पढ्नेहरु जो कसैलाई उनको वाणी रचनात्मक र सकारात्मक नै लाग्छन्। तर त्यतिबेला एभिन्यूज टेलिभिजन च्यानम प्रसारित खोतल्याइपछि भने हामीलाई सोच्न बाध्य तुल्याउँछ नै कि एभिन्यूज च्यानलमा प्रसारित (पुस्तकको सम्बन्धित हरफ नै प्रसार गरेको) समाचारअनुसार रामदेवकृत पुस्तकको विमोचन सम्माननीय नेपालका राष्ट्रपति डा. रामवरण यादवबाट भएको थियो भने त्यसमा “गान्धी, महावीर, … , बुद्ध … जस्ता जन्मेका देशमा जन्मेकाले म आफू भाग्यमानी भएको सम्झन्छु” भनिएको छ। यसरी सिंगो सार्वभौमराष्ट्रका राष्ट्रपतिबाट समेत त्यस पुस्तक विमोचन गराउन सफल भएको देखिन्छ। यस सवालमा एभिन्यूजले राष्ट्रप्रति जिम्मेवारीसहित गम्भीर प्रश्न तेर्स्याएकै थियो कि “बुद्ध भारतमा जन्मेका हुन् वा रामदेव नेपालमा?”

यसरी नालीबेली हेर्दैजाँदा हाम्रो सम्पदामाथि आक्रमण गर्ने प्रवृत्ति झ्यांगिदो छ, जहाँसम्म लुम्बिनी, कपिलवस्तुको सवाल हो, यस क्षेत्र बौद्धहरुको मात्र चिन्ताको विषय नठानौं। विश्वसम्पदासुचिकृत राष्ट्रकै गौरव ठानी सबै सचेत नेपाली संवेदनशील तवरमा रचनात्मक कलम चलाएर होस् वा विभिन्न तवरमा आआफ्नो पक्षबाट प्रयास गर्नु नितान्त जरुरी छ भने हामी सचेत नागरिकबाट सार्वभौमिक विषयमा राष्ट्रका प्रत्येक नागरिकलाई ब्युंझाउने कोशिस गरिनु पर्छ, यो सबैको दायित्व पनि हो। साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकारले त्यस्ता अफवाह फैलाउने धृष्टता जोकसै/कहिंबाट नहोस् भनी बेलैमा सकारात्मक कदम चाल्नु अपरिहार्य छ। जुन जोगी आएपनि कानै चिरेको जस्तो मात्र भयो भने गलत मनोवृत्तिलाई मलजल गरेको सिद्ध हुन्छ। चोरीचकारीको सम्भावनाबाट जोगिन झ्यालढोका मजबूत हुनुपर्‍यो, पूर्णरुपमा सजगता र सतर्कतालाई बढावा दिनुपर्‍यो। घटना घटिसकेपछि चोरलाई मात्र चोरीको दोष थुपारेर आफू मात्र चोखिनु बुद्धिमताको विषय हुनसक्दैन, यसमा सम्बद्ध सबैको बेलैमा विचार पुग्नु सबैका लागि सुखकर विषय हुनेछ।

One Response to “बुद्धस्थललाई विवादित तुल्याउने षडयन्त्र”

  1. […] […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: