Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

मायादेवीको प्राचीन भूमि देवदह

Posted by rajshrestha2002 on June 29, 2010

Nepali Samacharapatra

– केदार शाक्य

पूर्वपश्चिम राजमार्गको नवलपरासीबाट पश्चिम बुटवलदेखि पूर्व १६ किलोमिटर खण्डको उब्जाउ खेतीयोग्य भूभाग उत्तर चुरे पर्वतसम्म हरियाली जंगलले ढाकेको रुपन्देही जिल्लास्थित देवदह गाविस प्राचीन देवदहको पुरातात्विक क्षेत्र भएको विश्वास गरिन्छ।

यहाँ थुप्रै ऐतिहासिक र पुरातात्विक अवशेष पाइएका छन्। प्राचीन कपिलवस्तु राज्यको पूर्वी सीमा र कोलीयराज्यको पश्चिमी सीमा रोहिणी नदी अहिले पनि राजमार्गमा देखिन्छ। यही रोहिणी नदीको पानी उपयोग गर्ने बारे कपिलवस्तु र कोलीयराज्यबीच झगडा भइरहेको बेला सिद्धार्थ गौतमले प्राकृतिक सम्पदामाथि सबैको हक हुन्छ दुबै राज्यले पानी आधा-आधा बाँडेर खेती गर्नु उचित हुन्छ भन्ने प्रकट विचारको मत विभाजन हुँदा सिद्धार्थ अल्पमतमा परेपछि उनले गृहत्यागलाई रोजेका थिए। यद्यपि यो भनाइ डा. भीमराव अम्वेदकरले राजनीतिक कारणले अभिप्रेरित भई उल्लेख गरेका हुन् भनी आचार्य भिक्षा अमृतानन्द महास्थविरले आफ्नो बुद्धकालीन ग्रन्थमा उल्लेख गर्नुभएको छ। मूल कुरा सिद्धार्थ युवावस्थादेखि नै लडाइँ झैझगडाका विरोधी थिए। त्यसमाथि पनि सबैका लागि नभई नहुने पानीमाथि विवाद गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो भन्ने कुरा सिद्धार्थमा त्यसबेलादेखि नै सुदृढ रुपमा थियो भन्ने देखिन्छ।

यसबाट तराईको यो भूमि २६ सय वर्षअघिदेखि नै खेतीयोग्य रहेको पुष्टि हुन्छ। बुद्ध प्रकृतिपे्रमी थिए। खेती किसानी कसरी गर्नुपर्दछ भन्ने कुरा बुद्धले आफ्ना उपदेशहरुमा राम्रोसँग व्याख्या गरेका छन्। तत्कालीन समयदेखि वर्तमानसम्म पनि मानिसहरुमा खेती किसानीका लागि प्रकृतिमा उत्पन्न नदीको पानीमाथि निर्भर रहनुपरेको छ।

मूलतः प्राचीन कोलीयहरुको राजधानी देवदहकै आसपास राजमार्गदेखि दक्षिण ३० किलोमिटर नवलपरासीको रामग्राम स्तुपको एकछेउ उत्खननबाट पाइएका पुराताित्वक अवशेषहरु र अधिकांश भूगर्भमा नै रहेका ऐतिहासिक सम्पदाहरुको अध्ययन र पहिचानबाट प्राचीन देवदह यहीँ कहीँ भूखण्डमा थियो भन्ने विश्वास गर्न सकिन्छ।

लुम्बिनी विकास कोषले स्थानीय जनताको आग्रह र सहयोगमा पुरातात्विक ऐतिहासिक क्षेत्र भनी पहिचान भएका देवदहका जंगलका केही भागलाई राजमार्गको दक्षिणतिर काँडेतारबारले घेरेर संरक्षण दिने प्रयास गरेको छ। प्राचीन देवदहप्रति आकर्षण रहनुका थुप्रै कारण छन्। ऐतिहासिक पुरातात्विक स्थल अध्ययन अनुसन्धान र कुनै समयमा वैज्ञानिक उत्खननपछि प्राचीन कोलीय राज्यको सही पहिचान अवस्य नै हुनेछन्। बौद्ध वाङ्मयमा प्राचीन कोलीय राज्य र कपिलवस्तु राज्यलाई गणराज्य भनिएको छ। जनताद्वारा राजाको चयन गर्ने परम्परा रहेको देखिन्छ। त्यो नामकरण कसरी रहन गयो भन्ने विषय इतिहासको छुट्टै अध्ययन अनुसन्धानको विषय हुन सक्छ। तर पनि यति कुराचाहिँ सहजै भन्न सकिन्छ कि दुवै देशमा राजा थिए। त्यसबेला संभवतः लोकतान्त्रिक सिद्धान्तको आधारमा शाक्यहरुको संघले राजाको चयन गथ्र्यो। प्राचीन कपिलवस्तुका राजा शुद्धोदन जनताका पि्रय थिए। पानी नपरेर खडेरी परेका बेला जनताको आग्रहमा हलो महोत्सव गर्दथे। राजा आफैले हलो चलाएपछि पानी पर्ने जनविश्वास थियो।

दुवै देशका राजकुलमा आपसी वैवाहिक सम्बन्ध थियो। त्रिपिटक- बौद्ध वाङ्मय ललितविस्तरअनुसार दुवै देशमा शाक्यवंशीय राजा थिए। कपिलवस्तुका राजा शुद्धोदन र कोलीयका राजा सुप्रबुद्ध कुटुम्ब थिए। सुप्रबुद्धकी दिदीहरु मायादेवी र प्रजापति गौतमी शुद्धोदनकी रानी थिए। प्रजापति गौतमीको कोख सफल थिएन। मायादेवीको पवित्र कोखबाट लुम्बिनीमा सिद्धार्थ कुमार जन्मको सातै दिनमा मायादेवीको देहान्त भएपछि अर्की आमा प्रजापति गौतमीले सिद्धार्थलाई सहोदर आमा भएर हुर्काइन्। सिद्धार्थ कुमारका पत्नी यशोधरादेवी कोलीय राजा सुप्रबुद्धकी छोरी हुन्। यस किसिमले दुवै देशबीच गहिरो नाता सम्बन्ध कायम थियो। तर पनि दुवै देशको सिमानामा बग्ने रोहीणी नदीको पानी बाँडफाँड गर्ने सम्बन्धमा आपसमा लडाइँ झगडाको स्थिति उत्पन्न भएको वर्णनले इतिहासमा निकै चर्चा पाएको छ।

अहिले त अनुसन्धानकर्ताका नाममा कसैकसैले पुराना मूल्य र मान्यता प्राप्त इतिहासका घटना प्रसंगलाई पनि तोडमरोड गर्ने बङ्ग्याउने र आफूलाई ठूला इतिहासकार साबित गर्ने होडमा कोही कोही नेपाली नै लागिपरेका छन्। तर हालसम्म स्थापित मूल्यमान्यतालाई तोडमरोड गर्ने बङ्ग्याउने र नयाँ पुस्तक लेख्ने होड चलाएर आखिर कसलाई फाइदा पुग्छ त्यसबाट भ्रम मात्र सिर्जना हुन्छ। नयाँ मूल्य कायम हुन सक्ने देखिँदैन। भ्रमपूर्ण रुपमा उल्लेख गरिएका यस्ता लेखरचनाको आधिकारिक रुपमा सत्यतथ्यका आधारमा खण्डन लेख्ने र प्रकाशन गर्ने संस्थाको खाँचो छ। प्रमाणहरु यथेष्ट नभईकन कुनै कुरा पनि ग्रहण गर्न सकिँदैन। कसैको पनि धृष्टता विद्वान्हरुलाई पच्ने छैन।

डा. भीमराव अम्बेदकरले आफ्नो पुस्तकमा राजनीतिक विश्लेषण गर्दै सिद्धार्थले गृहत्याग गर्नुको एउटा कारण कोलीय राज्य र कपिलवस्तुका शाक्यहरुको बीच पानीको विवादलाई लक्षित गर्दै प्राकृतिक उपजमाथि सबैको हक लाग्छ नदीको पानी आधाआधा हुनुपर्छ प्रकृतिको वरदान पानीको लागि लडाइँ झगडा गर्नु उचित छैन भन्ने सिद्धार्थको विचार जनमत संग्रहमा हार भएका कारण लडाइँ हुने निश्चित भएपछि उनी देश छाडेर गएका थिए भन्ने कुरा पहिले नै उल्लेख भइसकेकोलाई नयाँ खोजको विषय मान्न सकिने आधार छैन। आचार्य भिक्षा अमृतानन्दले बुद्धकालीन पुस्तकहरुमा यस विचारलाई मान्यता दिनुभएको छैन। सर्वमान्य त्रिपिटकअनुसार सिद्धार्थ कुमारले जरा मरण र व्याधिजस्ता दुःखबाट प्राणी जगत्लाई मुक्त गर्ने उपाय पत्ता लगाउन सम्पूर्ण राजसुख वैभवलाई त्यागेर ज्ञानको खोजमा महाभिनिष्क्रमण गरेका थिए। यही सत्य हो।

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा देवदह भन्नाले शाक्यवंशका सुभूति र सुप्रबुद्ध राजाहरुको प्राचीन कोलीय गणराज्यको राजधानी देवदह नै सम्झने गरिएको छ। सुभूति राजाका सात बहिनी छोरीहरुमध्ये मायादेवी र प्रजापति गौतमी शुद्धोदन राजाले बिहे गरेका र उनका अरु पाँच छोरीहरु महामाया अतिमाया अनन्तमाया चुलिका र कोकिलाहरुको बिहे पनि शुद्धोदनका भाइहरुसित सम्पन्न भएको थियो। महामाया र अतिमायाको विवाह धौतोदनसित अनन्तमाया र चुलिका शुक्रोदनसित अनि कोकिला एक जनाको विवाह अमृतोदनसित भयो। यसरी शुद्धोदन राजाका चार भाइहरुको पनि विवाह सुभूति राजाकी छोरीहरुसित भएको वर्णन ललितविस्तर सूत्रमा छ।

उता काशी कोलराजाका कुलका कन्या ऊह भन्ने नगरका सुभूति राजाले विवाह गरेका थिए। कोलीय भनिने यही नगरका सुभूति राजाका सात जना छोरी शुद्धोदनसहित पाँच जना दाजुभाइसित विवाह भएको वर्णन पनि ललितविस्तरमा छ। कोलीय राजा सुप्रबुद्धकी छोरी कपिलवस्तुका राजा शुद्धोदनका सुपुत्र सिद्धार्थ कुमारकी अर्धाड्डिनी यशोधरा र उनै राजाका दिदीबहिनी मायादेवी र प्रजापति गौतमीजस्ता सुशील र आदर्श नारीकी माइतीघर प्राचीन देवदहलाई जन्मस्थलको रुपमा विकास गर्नुपर्दछ। सम्राट अशोकले ‘हिदबुधे जाते शाक्यमुनि भगवान’ भन्ने शिलाअभिलेखसहितको स्तम्भ खडा गरेकै कारण नेपाल संसारमा बुद्ध जन्मेको देश भनेर चिनिएको छ। तिलौराकोट प्राचीन कपिलवस्तुको भग्नावशेषको रुपमा परिचित छ। सम्राट अशोकले अस्थिधातुसहितको ८४ हजार स्तुप बनाउने सिलसिलामा आठ भाग लगाएर राखिएको अस्थिधातुमध्ये रामग्रामको अस्थिधातुचाहिँ नागहरुले संरक्षण गरिराखेकाले निकाल्न नसकिएको हुँदा भूगर्भमा नै रहेको विश्वास र सन्देश नवलपरासीको रामग्राम स्तुपले दिइरहेको छ। लुम्बिनी कपिलवस्तु रामग्राम र देवदहलाई लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत राखिएको भए पनि यथोचित विकास हुन सकेको छैन।

पूर्वपश्चिम राजमार्गको बुटवल-देवदह-सुनवल खण्डको देवदह गाविसस्थित बुद्धचोकमा बुद्धमाता मायादेवी र सिद्धार्थकुमार जन्मसहितको तेस्रो शताब्दीमा निर्मित लुम्बिनीको प्राचीन ऐतिहासिक मायादेवीप्रस्तर प्रतिमाको प्रतिमूर्ति निर्माण गरी स्थापना गर्न देवदह संरक्षण प्रतिष्ठानको विशेष आग्रहमा संखुवासभा जिल्लाबाट पुनरागमन भई काठमाडौं उपत्यकामा बसोबास गर्दै आएकाहरुको सामाजिक संस्था ‘चैनपुर शाक्य समाज’ले उक्त प्रतिमा स्थापना गर्न चन्दा संकलन गर्ने पहल गरेको हो। मायादेवी बुद्धमाता हुन्। मायादेवीको जन्मस्थल प्राचीन कोलीय राज्यको राजधानी देवदह अहिलेको रुपन्देही जिल्लामा मायादेवी प्रतिमा स्थापना हुनु गौरवकै कुरा हो।

महायानी रिम्पोचे गुरुहरु गुम्बामा आउने सबै श्रद्धालु महिलाहरुलाई भविष्यका बुद्ध- बोधिसत्वलाई गर्भधारण गर्ने पवित्र अवसर मिलोस् भनी आशीर्वाद दिने गर्दछन्। यसबाट के सिद्ध हुन्छ भने सबै महिलाहरुले शुद्धचित्तले मायादेवी बन्ने प्रयत्न गर्नुपर्दछ। विगतकालमा मानव बुद्धलाई जन्मदिने मायादेवी स्वतः महान् छन्। आगतका बुद्धलाई गर्भधारण गरी जन्माउने मायादेवीहरुलाई पनि नेपालले पुनः जन्माउनुपरेको छ। यसरी प्राचीन कोलीय राज्यको राजधानी देवदह नेपालको प्राचीन पवित्रभूमि भएको इतिहासलाई अध्ययन अनुसन्धान र पुरातात्विक उत्खननबाट प्रमाणित गर्नुछ। त्यो पवित्र कार्यको सम्झनामा सिद्धार्थ जन्मसहितको मायादेवी प्रतिमा निर्माणको प्रेरणाले नेपालको यो धर्ती सदा पवित्र बनिरहनेछ। लुम्बिनीको ऐतिहासिक पुरातात्विक मायादेवीको प्रतिमुर्ति र मन्दिरको स्थापनाले प्राचीन देवदहको ऐतिहासिक महत्वलाई चिर स्थायी बनाउन बल मिलेको देखिन्छ।

२०६७ असार १५ गते मंगलवार, Tuesday 2010 June 29

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: