Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनीमाथि एक दृष्टि

Posted by Ram Kumar Shrestha on September 21, 2010

By दीपक चौधरी

लुम्बिनीमात्र होइन सिंगो मधेसमा पर्यटनको विकास हुन सकेको छैन, भएका मध्येमा पनि स्थानीयले खासै फाइदा पाउन सकेका छैनन्

केही महिनाअघि बुद्धको जन्मस्थल लुम्बिनीको कपिलवस्तु जाने अवसर मिलेको थियो । खण्डहर अवस्थामा रहेका भग्नावशेषमाझ स्थापित मायावतीको मन्दिर, ऐतिहासिक अशोक स्तम्भ र यसका वरपर विभिन्न बौद्धआस्था भएका देशले बनाएका आकर्षक शैलीका बिहार, गुम्बाआदिको मनोरम दृश्यले सुन्दर र शान्तिको अनुभूति दिलाउँदैन भन्नेमा बिमति राख्ने सायदै भेटिएलान् ।

लुम्बिनीसँग मुख्य रूपमा दुई कुरा जोडिएका मानिन्छन्- एक सम्पूर्ण मानवका लागि शान्तिको सन्देश र दोस्रो नेपालीको हकमा गौरव-पहिचान । आजभन्दा पच्चीस सय वर्षअघि लुम्बिनी-कपिलवस्तुमा जन्मेका शान्तिका दूत गौतम बुद्धको जन्मस्थल नेपालको कपिलवस्तु नै रहेको पुरातात्विक अध्ययनबाट प्रमाणित भइसकेको छ ।

कालिंगनको युद्धबाट विरक्तिएर बुद्धले बाँडेका ज्ञानमा बाँकी जीवन अर्पेकाका महान् अशोकले बुद्ध दर्शनको प्रचारप्रसार विश्वभर गराएका र तिनकी छोरी चारूमतीले पाटनमा बिहार बनाएको कुरा इतिहासमा पढ्न सकिन्छ । अशोकले नै पूर्वमा बर्मा, दक्षिणमा लंका र उत्तरमा चीनसम्म बुद्धदर्शनको प्रचारप्रसार गर्न लगाएका थिए । पछि भारतीय मौर्य सम्राटको समयमा काबुल क्षेत्र बौद्ध दर्शनको केन्द्र बन्न पुग्यो । भारत वर्षका महान् सम्राट अशोकले नै बुद्धको जन्मस्थलको प्रामाणिकता दिएको मानिन्छ । महान् अशोकले लुम्बिनीमा स्तम्भ नगाडेका भए सम्भवतः बुद्धको जन्म नेपाल नै हो भन्ने आधार कमजोर हुनेथियोे । किनकि बुद्ध जन्मेको प्रामाणिकताको प्रमुख आधार नै अशोक स्तम्भलाई मानिएको छ । पछि पाँचौँ शताब्दीमा नेपाल आएका चिनियाँ यात्रीहरू फा र हुवानले पनि अशोक स्तम्भको उल्लेख गरेको गरेको पाइन्छ । तत्कालीन भारतीय शासकहरूको बौद्ध विचारको प्रचारप्रसारमा महत्त्वपूर्ण र अहं भूमिका रहँदै आएको छ । विश्वकै प्रसिद्ध विश्वविद्यालय नालान्दा र तक्षशीला यसका उदाहरण हुन्, जो बौद्ध दर्शन अध्ययनका लागि विश्वमा नै प्रसिद्ध मानिन्थे । बुद्धको जन्मस्थल नेपाल हो भने कर्मस्थल भारत हो, बुद्धको वाणी हामीभन्दा धेरै टाढाका मानिसले अँगाले, बरु हामीले बुद्धलाई अँगाल्न सकेनौँ ।

बुद्धसँग जोडिएका ऐतिहासिक ठाउँ जस्तै- बुद्धले ज्ञानगयाको बोधिगया र महापरिनिर्माण कुशीनारा भारतमा नै पर्ने र भारतीयहरूले नै बौद्ध धर्मको प्रचारप्रसार गरेकाले बौद्धको इतिहास सम्बन्धमा पहिल्यैदेखि भारतको नाम आउनु स्वाभाविक भएता पनि प्रमाणित भइसकेपछि जन्मका बारे अन्यथा आउनुको खासै औचित्य रहँदैन । कसले के भन्यो भन्दा पनि प्रमाणित भइसकेकोले बुद्ध जन्मस्थानबारे स्वस्थ प्रचारप्रसार आवश्यक छ । यसबाट स्थानीय तथा देशकै पहिचान र विकासमा महत्त्वपूर्ण टेवा पुग्नेमा द्विविधा छैन । बरु नेपालको कपिलवस्तुदेखि भारतको गया, सारनाथ र कुशीनारा हुँदै पुनः कपिलवस्तुको रुट बनाएर पर्यटनको विस्तार गर्नुपर्ने एक मित्रको कुरा कम सान्दर्भिक छैन ।

संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव बर्माका ऊ थान्तको प्रयासस्वरूप सन् १९७८ मा यूएनद्वारा लुम्बिनीको अध्ययन र विकासका लागि मास्टर प्लानको घोषणसँगै पुरातात्त्विक अध्ययन र पुनर्निर्माणको कार्य, लुम्बिनी म्युजियम र यस क्षेत्रवरपरको बृहद् विकासको कार्ययोजना ल्याइएको थियो । सन् १९९७ मा यो युनेस्कोको विश्वसम्पदा सूचीमा परेपछि यसको महत्त्व झनै बढेर गयो । हालै विश्वसम्पदाको नियमअनुसार यसको पन्ध्र किलोमिटर परिधिसम्म कार्वन उत्सर्जन गर्ने र अन्य वातावरणीय प्रदूषण गर्ने उद्योगमा सरकारले रोक लगाएको छ । तर, यसबाट त्यहाँको स्थानीय विकास, रोजगारी तथा सामाजिक र आर्थिक विकासमा पर्न सक्ने नकारात्मक असर तथा यसका विकल्पका बारे अध्ययन हुन सकेको छैन, जुन आवश्यक छ ।

केही दिनअघिको कुरा हो, अधिकांश चिनियाँहरू बुद्धको जन्म नेपालमा भएकोबारे अनभिज्ञ रहेको समाचार प्रकाशमा आएको थियो । हालै चीनको संघाईमा भएको अन्तर्राष्ट्रिय व्यापारिक मेलामा बुद्धको जन्मस्थलका बारे गरिएको प्रचारप्रसारलाई यसैको कडीका रूपमा लिन सकिन्छ । नवलपरासीको ऐतिहासिक कोलीय गणराज्य र कपिलवस्तुको शाक्य गणराज्य नेपालको इतिहासमा मानव सभ्यताको दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण मानिन्छन् । शान्तिदूत गौतम बुद्धको जन्मस्थल कपिलवस्तु संसारकै पवित्र र ऐतिहासिक स्थल रहेकामा विवाद छैन । लुम्बिनी कपिलवस्तु नेपालको शान र गौरवयुक्त पहिचान हो भन्नेमा लगभग सबै सहमत देखिन्छन् । यसलाई विश्वमा प्रचारप्रसार गरेर अधिकतम पर्यटक लुम्बिनी भित्र्याउन सकेमा देशको अर्थतन्त्रमा यसले महत्त्वपूर्ण योगदान पुग्ने बताइन्छ । पर्यटकीय विकासका लागि यस क्षेत्रमा सर्वप्रथम आवश्यक भौतिक विकास जस्तै- अन्तर्राष्ट्रिय हवाईमार्ग तथा स्थलमार्गहरू, होटल, सञ्चारआदिको सुविधा आवश्यक पर्दछ । विकासलाई दिगो बनाउन समुदायमा आधारित विकास अपरिहार्य मानिन्छ ।

लुम्बिनीको विकासका लागि स्थापित लुम्बिनी परियोजनाको कुरा गर्दा सम्भवतः यसबाट स्थानीय समुदायले त्यति लाभ लिन नसकेको हो वा यसको उद्देश्य नै स्थानीयको विकासमा केही नगर्ने नीति हो, त्यो छुट्टयाउन गाह्रो पर्छ । किनकि, यसले भौतिकलाई छाडेर हेर्दा पनि सामाजिक र रोजगारीको क्षेत्रमा खासै योगदान दिएको देखिँदैन । यसमा स्थानीयको पहुँच पनि छैन । यस क्षेत्रवरपर आँखा दौडाइयो भने त्यहाँको खराब जीवनस्तर छर्लंगै देख्न सकिन्छ । यसको वरपर मधेसका टिपिकल देहात छरपस्ट देखिन्छन्, मध्यम तथा पेसागत पिछडावर्ग मधेसीको बाक्लो बसोबास रहेको छ । शिक्षा क्षेत्रमा अति पछि परेको कुरा तिनीहरूसँगको क्षणिक कुराकानीबाटै स्वतः थाहा हुन्छ, तथ्यांक केलाउनै पर्दैन । उत्पादनदेखि जीवनशैलीमा आधुनिकताको प्रभाव छँदै छैन भने पनि हुन्छ । स्थानीय रामसेवकलाई लुम्बिनीको महत्त्व र विकासबारे सोध्दा उनको जवाफ थियो, ‘पुर्खौंदेखि हामी यस डिहीबारमा पूजा गर्दै आएका छौँ । यी हाम्रा माइबाप हुन् । …नयाँनयाँ मन्दिरहरू प्रशस्त बनेका छन् । विकासको कुरा गर्नुहुन्छ भने हाम्रो नजिककै गाउँमा खासै केही चिजको विकास भएको छैन । पूजाका सामग्रीहरू बेचेर गुजारा चलाइरहेका छौँ ।’

द्वितीय विश्वयुद्धपछि आधुनिक विकासको अवधारणसँगै भौतिक पूर्वाधारको विकास र कूल ग्रार्हस्थ उत्पादनलाई विकासको सूचकांकका रूपमा मान्दा गरिबीमा खासै कमी नआएपछि मानवीय विकास, दिगो विकास र सामुदायिक विकासको अवधारण आयो । अब विकास भनेको मानिसका लागि र त्यसमा पनि जनताको प्रत्यक्ष सहभागितामूलक विकास, सामाजिक आर्थिक विकासका कुराले अहिले बढी प्राथमिकता पाउँदै गएको पाइन्छ । तर, लुम्बिनी विकासको अवधारणामा स्थानीय जनसहभागिताको व्यापक सहभागिता बढाउनुपर्ने टड्कारो आवश्यकता खड्किन्छ ।

रेमिटेन्स कल्चरका कारण कृषि व्यवसायप्रति अब नयाँ पुस्ताको आकर्षण रहेन । पहाड-हिमालको विकासमा पर्यटनको सम्भावना र योगदान महत्त्वपूर्ण रहेको परिप्रेक्ष्यमा सुगम भइकन पनि जीवनस्तरमा पछाडि परेको तराई-मधेसमा यसको सम्भावना हुँदाहुँदै लुम्बिनीमात्र हैन सिंगो मधेसमा पर्यटनको विकास हुन सकेको छैन र भएका मध्येबाट पनि त्यहीँका स्थानीय रैथानेहरूले खासै फाइदा पाउन नसकेका उदाहरणहरू प्रशस्तै छन् ।

लुम्बिनीलाई हामी शहरिया तथा जानेबुझेकाहरू देशकै पहिचान-गर्वको विषय बनाउँदै आएका छौँ । यहाँनेर स्थानीयको दृष्टिकोण र तिनीहरूको यस परियोजनामा फितलो सहभागिताको सान्दर्भिकतातर्फ कमैै ध्यान गएको छ । गरिब र दुःखीका बारे अत्यन्तै चिन्तित रहने बुद्धले भनेका पनि छन्, ‘भोक नै सबैभन्दा ठूलो रोग हो । मलाई पाउन रोगी र दीनदुःखीको सेवा गर ।’

dipak10@gmail.com

Napa Patrika

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: