बुद्ध, कपिलवस्तु र बुद्धुहरु
Posted by Ram Kumar Shrestha on November 23, 2010
– डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजक
एउटा घाइते वर्तमान
विवसतासँग असमान सम्झौता गरिहेछ
पृथक चेतनाको ओडारहरुबाट
निस्किरहेकाछन् धेरै मानिसहरु
बुद्ध र बुद्धुहरु
बुद्धहरु संसारलाई दु:खमय देखेर
भीर पाखाहरु जंगल पसिरहेकाछन्
बुद्धुहरु संसारलाई नै जीवन सम्झेर
आफैलाई बिर्सदै बाँचीरहेकाछन्
बुद्ध आफैलाई सोधिरहेछ
म को हुँ
बुद्धु अरुलाई सोधिरहेछ
तँ को होस
जीवन गन्तब्य देखाउन मान्छेलाई
बुद्ध अघि अघि हिडिरहेछ
बुद्धु अज्ञात बाटोमा हराइरहेछ
पृथक समयको यात्रु प्रत्येक घटनाहरु
बेनियम बिचारका पानाहरु
जाँहा प्रतिलिपी वा नक्कल
सभ्यताको कानुन बोलिरहेछ
पाँच दश वटा दशगजा मिचेर
बुद्धको देशको आभाष खोज्छ कोही
मूर्ति बनाएर बुद्धको नक्कल गर्छ कोही
सस्तो प्रतिलिपीमा देखापरेको
बुद्ध
बुद्धको जन्मथलो कपिलवस्तु
बुद्धको देश नेपाल
न्याय मागिरहेछ
बुद्धुहरुबाट
देशको दशगजा नहराएको दाबी गर्दै
भाषणहरुमा कुर्लिरहन्छन नेताहरु
हराएको दशगजा हेर्दै
भ्रममा विश्वास गर्ने तरखरमा छौं हामीहरु
विज्ञापनमा सक्कली देखिएको
बुद्धको सालिकको प्रतिलिपी
बुद्धको देशको प्रतिलिपी
हाम्रो मानसिकताको सिङ्गो प्रतिलिपी
छोपिएर भ्रमहरुले
अनर्थ रुपान्तरीत हाम्रो अस्तित्व
हाम्रै चिन्तनमा थलापरेको
हाम्रो विश्वासमा थलापरेको
आँखामा
एउटा नक्कली गुँरास
सक्कली गुँरासलाई विस्थापन गरिरहेछ
एउटा नक्कली सालिकको प्रतिलिपीले
सक्कली ब्यक्तित्व उपहास गरिरहेछ
नक्कली कपिलवस्तुले
सक्कली कपिलवस्तुको धज्जी उडाउन खोजीरहेछ
बुद्ध हुन नसकेको म एउटा बुद्धु
भ्रममा विश्वास गर्न असमर्थ हुनुपर्दा
आफ्नै भूमीमा म मेरो कपिलवस्तु खोजीरहेछु
चुकाउनै पर्दा पनि जीवनको मूल्य
आफ्नै भूमीमा म मेरो देश खोजीरहेछु ।
Leave a Reply