बुद्धसँग सम्बन्धित सङ्ग्रहालय ओझेलमा
Posted by Ram Kumar Shrestha on April 4, 2011
२१ चैत्र, कपिलवस्तु । संसारभरि शान्तिको सन्देश फैलाउने बुद्धसँग सम्बन्धित प्राचीनवस्तु रहेको कपिलवस्तु सङ्ग्रहालय पर्यटन वर्षमा पनि ओझेलमा पर्दै गएको छ ।
तिलौराकोट क्षेत्रमा पर्ने कपिलवस्तु सङ्ग्रहालयको हाताभित्र रहेका बुद्धकालीन सम्पदाको उचित प्रचारप्रसार र संरक्षणको अभावमा सङ्ग्रहालय ओझेलमा पर्दै गएको हो । सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयको मातहतमा रहेको कपिलवस्तु सङ्ग्रहालयको रेखदेखमा कमी हुँदा यो स्थान संरक्षणबिहीन बन्दै गएको हो ।
चार बिगाहा क्षेत्रफलमा फैलिएको बुद्धसँग सम्बन्धित दुई हजार ७०० वर्ष पुराना सयौँ महत्वपूर्ण ऐतिहासिक वस्तु रहेको कपिलवस्तु सङ्ग्रहालय अहिले आएर सुनसान बनेको हो । राजा शुद्धोधनको राजदरबार भएर पनि यहाँ आउने पर्यटकले उचित सेवासुविधा नपाउँदा सङ्ग्रहालयको महत्वमा कमी आएको स्थानीय बासिन्दा घनश्याम घिमिरेको भनाइ छ ।
विसं २०४१ मा सङ्ग्रहालयको स्थापना गरी प्राचीन मूर्ति, धातु, शिलापत्रलगायतका महत्वपूर्ण वस्तु यहाँ राखिएका छन् । सङ्ग्रहालयभित्र रहेका दुईदर्जन बढी मूर्ति राखिएको घरसमेत प्रयोगबिहीन बन्दै गएको छ ।
मन्त्रालयबाट सङ्ग्रहालयका लागि वाषिर्क रु २५ हजारमात्र बजेट आउने भएकाले समेत आर्थिक अभावमा यस ठाउँलाई व्यवस्थित गर्न समस्या परेको कार्यालयको दाबी छ । तर महत्वपूर्ण दस्तावेज रहेका सङ्ग्रहालयका सामग्रीसँगैको हाता सरसफाइ र रेखदेखको अभावमा दैनिकजसो घाँसे मैदानमा परिणत भएको छ ।
एघारजना कर्मचारीको दरबन्दी रहेको सङ्ग्रहालयमा अहिले आठजनामात्रै कार्यरत छन् । सरकारले सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाउने भने पनि पुरातत्व विभागबाट कुनै सहयोग नहुँदा समस्या भएको सङ्ग्रहालयका प्रमुख कृपाशङ्कर गुप्ता गुनासो गर्नुहुन्छ ।
सन् २०११ को जनवरी महिनादेखि मार्च २८ तारेखसम्म स्वदेशी एक हजार पर्यटकले यस ठाउँको अवलोकन गरेका छन् भने विदेशी पर्यटकमात्र १८६ आएको सङ्ग्रहालयको तथ्याङ्कमा उल्लेख छ ।
Blog o podrózach said
Dear author. You are using my image of Buddha on your website (downloaded from flickr: http://www.flickr.com/photos/noelii/2659140692/in/set-72157606109683035). I wish you asked for permission before doing that because it is copyrighted. However, feel free to use it as long as you sign it with my full name and the link to my blog (www.dalekoniedaleko.pl). Thank you.
Ewa