Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

दाहालसम्वद्ध चिनियाँ संस्थाले लुम्बिनीमा २ खर्ब २५ अर्ब लगानी गर्ने

Posted by Ram Kumar Shrestha on June 19, 2011

पूर्ण बस्नेत, हङकङ, असार ५- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संलग्न चिनियाँ संस्थाले लुम्बिनी क्षेत्रको विकासमा करिब २ खर्ब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। नेपाल सरकारसँग मिलेर लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रुपमा विकास गर्ने रणनीति अनुसार दाहाल सम्वद्ध एसिया प्यासेफिक एक्स्चेन्ज एण्ड कोअपरेसन फाउण्डेसनले उक्त रकम जुटाउन लागेको हो।

एमाले-माओवादी सरकारबनेपछि चैतमा काठमाडौँ आएका फाउण्डेसनका अधिकारी र संस्कृत मन्त्रालयबीच यससम्बन्धी सम्झौता भएको छ।

चीन सरकारको सहमतिमा फाउण्डेसनले ‘लुम्बिनी नगर विकास’ अवधारणा अनुसार बौद्ध गुम्बा, विमानस्थल, रोड, होटल, सम्मेलन केन्द्र तथा बौद्ध विश्वविद्यालय निर्माणमा लगानी गर्न लागेको हो। मुस्लिमको मक्का र क्याथोलिकको भ्याटिकन जस्तै बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रुपमा विकास गर्ने सहमती अनुसार परियोजना अघि बढाइएको बताइएको छ। फाउण्डेसनले लुम्बिनीमा पर्याप्त मात्रामा सञ्चार, पानी र विद्युत पुर्‍याउने प्रतिवद्धता पनि जनाएको छ।

लुम्बिनीको विकासले नेपालमा पर्यटक वृद्धि गरी राजश्व बढाउने, रोजगार सिर्जना गर्ने र पूर्वाधार विकास गर्ने दुई पक्षबीचको सम्झौतामा छ। “लुम्बिनीले धर्म, विचार र जातको भावनालाई माथ गर्नेछ, बुद्ध भगवानको भावना पुर्नउदय हुनेमा हामी आशावादी छौँ, फाउण्डेसनका उपाध्यक्ष स्याओलाई उद्धृत गर्दै रोयटर्सले बेइजिङबाट लेखेको छ।
फाउण्डेसनको हङकङ वानचाईस्थित सम्पर्क कार्यालय स्रोतका अनुसार लुम्बिनी विकासका लागि चीन र अन्य देशबाट २२ अर्ब ५० करोड रुपैयाँ जुटाउने अभियान सुरु भैसकेको छ। परियोजना सफल बनाउने उद्देश्यले दाहाल आफै लगानी जुटाउन सक्रिय रहेको र त्यही क्रममा उनले मलेसिया, सिंगापुर र पछिल्लो पटक चीन भ्रमण गरेको स्रोतको दावी छ।
‘न्यू एसिया थिङ्क ट्याङ्क’ को रुपमा गतवर्ष स्थापना गरिएको एसिया प्यासेफिक एक्स्चेन्ज एण्ड कोअपरेसन फाउण्डेसको मुख्यालय बेइजिङमा छ भने ग्वान्झाओ, हङकङ र ताइवानमा सम्पर्क कार्यालय खोलिएको छ। सरकारी अधिकारी, कुटनीतिज्ञ, अनुसन्धानकर्मी, सामाजिक अभियानकर्ताहरू संलग्न फाउण्डेसनले एसिया प्यासेफिक क्षेत्रको भूराजनीति, कुटनीति, अर्थराजनीति लगायतका विषयमा छलफल र एक्स्चेञ्ज कार्यक्रम गर्दै आएको छ।
स्रोतका अनुसार फाउण्डेसन स्थापना भेलामा सहभागी हुन गत अक्टोबरमा मलेसिया जाँदा दाहालले लुम्बिनीविकासको परियोजना प्रस्ताव गरेका थिए। त्यसलगत्तै सांघाई र बेइजिङ भ्रमणको क्रममा उनले चिनियाँ पक्षसँग परियोजनाबारे थप छलफल गरेका थिए। सांघाईस्थित नेपाल पेभेलियनको एक भेलामा ‘बुद्धको जन्मस्थल लुम्बिनीको विकासले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि माथि पुग्ने’ बताएर उनले त्यसमा आफू पनि संलग्न भएको जनाउ दिएका थिए। फाउण्डेसनका उपाध्यक्ष उननको नेतृत्वमा गत चैतमा नेपाल आएको करिब दुई दर्जन चिनियाँ संलग्न टोलीसँग अध्यक्ष दाहालले ‘डिनर मिटिङ’ गरेका थिए। टोलीले उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, त्यसबेला संस्कृत मन्त्रालय समेत हेरिरहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा, रक्षामन्त्री विष्णु पौडेलसँग भेटवार्ता गर्नुको साथै नेपाल सरकारका अधिकारीहरूको साथमा लुम्बिनी भ्रमण गरी परियोजनाको संभाव्यता अध्ययन गरेको थियो। फाउण्डेसनको वेबसाइटमा दाहाललाई संस्थाको अध्यक्षको रुपमा प्रस्तुत गरिएको छ। तर गतवर्ष मलेसिया भ्रमणबाट फर्कंदा दाहालले काठमाडौँ विमानस्थलमा आफूलाईफाउण्डेसनले सहअध्यक्ष बनाएको प्रमाणपत्र देखाएका थिए।
विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको विकासमा चिनियाँ पक्षले विभिन्न समयमा चासो देखाउँदै आएको छ। सय मिटर अग्लो बुद्ध प्रतिमा सहित लुम्बिनी विकासमा आठ अर्ब रुपैयाँ लगानी गर्ने एक चिनियाँ कम्पनीको प्रस्ताव अगाडि बढाउने अनुमति दिए पनि माधव नेपाल सरकारले अन्तमा सम्झौता गर्न अस्वीकार गरेको थियो। नेपालका लागि पूर्व चिनियाँ राजदूत ली थप्यायोको बेइजिङ जोङताई जिङ्सु इन्भेष्टमेन्ट कम्पनीले अझै आफ्नो प्रयास जारी राखेको छ। खनाल सरकार बनेपछि संस्कृति मन्त्रालयले उक्त परियोजना प्रस्तावबारे अध्ययन गर्न लुम्बिनी विकास कोषका कोषाध्यक्ष मझीलाल थारुको अध्यक्षतामा समिति गठन गरेका छ। अध्यक्ष दाहालले बेइजिङ भ्रमणको क्रममा ली थप्याओसँग पनि भेटेर लुम्बिनी परियोजनाबारे छलफल गरेका थिए।

@ नागरिक

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: