Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध जन्मथलोको निरर्थक विवाद

Posted by Ram Kumar Shrestha on July 10, 2011

करबि एक महिनाअघिको प्रसंग हो। मध्यरातमा एकोहोरो ढंगबाट मेरो मोबाइलमा घन्टी बज्यो। त्यसले निद्रा मात्रै बिथोलेन, कसलाई के आपत् परेछ भनेर मभयभीत पनि भएँ। फोन उठाएपछि थाहा भयो, जर्मन मित्र राइनर रहेछन्। उनले अत्यन्तै उत्साहित तर हतारिएको स्वरमा आफूले मूल्य बढाबढमार्फत सामान किन्ने अनलाइन साइट ‘इबे’मा गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक पत्रिका फेला पारेको जानकारी गराए।

अप्रत्यासित रूपमा जुरेको यो संयोग मेरा निम्ति कम्ती रोचक थिएन। बुद्धको जन्मस्थलबारे अझै पनि भारतीयहरू भ्रमको खेती गर्छन्। त्यस्ता खेती गर्नेका विरुद्ध यो एउटा बलियो प्रमाण मात्रै थिएन, बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुरामा एक सय वर्षभन्दा पहिलेदेखि जर्मनहरूसमेत जानकार थिए भन्ने तथ्यको उद्घाटन पनि थियो। अर्धनिद्रामै मैले ती मित्रलाई भने, “जति पैसा परे पनि त्यो पत्रिका किनेर मलाई तुरुन्त पठाइदिनू।”

नभन्दै दुई सातापछि आल्गेमाइनन चाइटुङ् नाम गरेको त्यो पत्रिका मेरो घरमै आइपुग्यो। पत्रिका त हातमा पर्‍यो तर पुरानो जर्मन लिपिमा भएका कारण त्यसलाई पढ्नु, बुझ्नु र अर्थ लगाउनु मेरा निम्ति सहज थिएन। अधिकांश आधुनिक जर्मनहरू त पुरानो लिपिमा लेखिएको त्यो सामग्री पढ्न सक्दैनन् भने नेपालीका निम्ति त्यो सजिलो हुने कुरै भएन। तर पनि तीव्र जिज्ञासाकै कारण मैले झन्डै एक साता लगाएर आठ पृष्ठको त्यो लेख पढी सिध्याएँ। सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तुस्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख छ, जो पढेपछि मेरो खुसीको सीमा रहेन।

सन् १७९८ देखि नियमित प्रकाशित हुँदै आएको उक्त पत्रिकामा लेखक कुर्ट क्लेमले ‘क्युनिक अशोका’ अर्थात् ‘राजा अशोका’ शीर्षकमा सम्राट अशोक र गौतम बुद्धका बारेमा लेखेका छन्। क्लेमले उक्त लेखमा सम्राट अशोकलाई प्रगतिशील समयका सामाजिक सुधारक भनेका छन्। उनले अशोक स्तम्भमा गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएको भनेर लेखिएको कुरालाई पनि लेखमा समावेश गरेका छन्। सम्भवत: यस बुद्धको जन्मस्थानको विषयमा किटान गरिएको सबैभन्दा पुरानो पत्रिका र लेख पनि हुनसक्छ।

भारतमा बि्रटिस शासनकालको समयमा इस्ट इन्डिया कम्पनीका प्रमुख स्िमथले जर्मनीका पुरातत्त्वविद् आन्टोन फ्युररलाई नेपाल सरकारको अनुमतिमा लुम्बिनीको अध्ययन-उत्खननका लागि चाँजोपाँजो मिलाइदिएका थिए। सन् १८९६ मा फ्युररले थालेको उत्खनन कार्यमा नेपाल सरकारका तर्फबाट खड्गशमशेर राणा खटिएका थिए। त्यो कुरा आल्गेमाइनन चाइटुङ्को लेखमा उल्लेख छ। त्यसमा सम्राट अशोकले आफ्नो कार्यकालमा गौतम बुद्धको ऐतिहासिकता उत्खनन कार्यमा गरेका महत्त्वपूर्ण प्रयासहरूको विवरण र सम्राट अशोकको जीवनी समेटिएको छ। सम्राट अशोकले आफ्नो शासनकालमा अशोक स्तम्भ मात्रै गाडेनन्, पाँच-पाँच वर्षमा आफूले गाडेको स्तम्भ र निर्माण गरेका स्तूपहरूको अवलोकन गर्ने थितिसमेत बसालेका थिए। सम्राट अशोकले बुद्धको अस्तुधातुलाई ८४ हजार टुक्रा बनाएर नेपाल र भारतका विभिन्न भागमा पुर्‍याएका थिए। र, त्यति नै संख्यामा स्तुपाहरू निर्माण गर्न लगाएका थिए। त्यसैगरी उनले गौतम बुद्ध जन्मेको, देहत्याग गरेको र ज्ञान प्राप्त गरेको सबै ठाउँको पहिचान गर्नुका साथै बुद्धको प्रचारप्रसारसमेत गरे। सम्राट अशोकले यति नगरेको भए आज बुद्धको जन्मस्थानका रूपमा न लुम्बिनीले मान्यता पाउँथ्यो, न बुद्धको जीवनीका बारेमा नै सही तथ्य थाहा हुन्थ्यो।

उक्त उत्खननपछि फ्युररले एन्टिक्युटी अफ नेपलिज तराई नामक पुस्तक पनि लेखेका छन्। उनले त्यस पुस्तकमा पनि गौतम बुद्ध नेपालको लुम्बिनी कपिलवस्तुमा जन्मिएका हुन् भनेर किटान गरेका छन्। भारत स्वतन्त्र भएपछि उक्त किताबका कैयन् संस्करणहरू भारतबाटै प्रकाशित भएको समेत तथ्य छ। बुद्धको जन्मस्थानका विषयमा यतिका धेरै ऐतिहासिक प्रमाण र कुनै समय भारतले समेत स्वीकार गरेको विषयमा अहिले बुद्ध भारतमै जन्मेको भनेर हल्ला फैलाउनुको कुनै तुक छैन।

प्रस्तुति : जनकराज सापकोटा

@नेपाल

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: