Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

तीन अर्बको लुम्बिनी परियोजनाका लागि एपेकद्वारा दुई चिनियाँ संस्थासँग सम्झौता

Posted by Ram Kumar Shrestha on August 12, 2011

नागरिक, काठमाडौं, साउन २७ (नागरिक)- चिनियाँ गैरसरकारी संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) ले बिहीबार राजधानीमा ‘लुम्बिनी विकास विशेष परियोजना’ कार्यान्वयनका लागि दुई चिनियाँ संस्थासँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

एपेकसँग सम्झौतापत्रमा हस्ताक्षर गर्ने दुई चिनियाँ संस्थामा ताई तुङ कम्युनिकेसन लिमिटेड र भ्यानिअन इनभेस्टमेन्ट ग्रुप छन्।

एपेकका पदाधिकारीले राजधानीको होटल याक एन्ड यतीमा आयोजित एक कार्यक्रममा परियोजना ३ अर्ब अमेरिकी डलरको रहेको जानकारी दिँदै भने, ‘हामीले परियोजनाबारे नेपाल सरकारसँग औपचारिक रूपमा कुरा गरेका छैनौं।’

सरकारलाई जानकारी नदिई बनाइएको परियोजना हस्ताक्षर कार्यक्रममा संस्कृतिमन्त्री खगेन्द्रराज प्रसाईं भने दर्शकदीर्घामा बसी ताली पिटिरहेका थिए। एकीकृत माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल, उनकै स्वकीय सचिव समीर दाहाल, माओवादीकै नेताद्वय अमिक शेरचन र अग्नि सापकोटालगायत थिए।

‘धेरैपटक नेपाल आउँदा नेपाल सरकारका पदाधिकारीसँग भेटघाट गरेका थियौं, तर औपचारिक रूपमा लुम्बिनी विकास विशेष योजनाका विषयमा भने छलफल भएको छैन,’ एपेकका कार्यकारी उपाध्यक्ष लिनुस जिआओ उनानले कार्यक्रममा भने, ‘हामीले हाम्रो सन्देश दिएका छौं, अब हुन्छ-हुन्न भन्ने जिम्मा नेपालको हो।’

माओवादी अध्यक्ष दाहाल मलेसियाबाट फर्कने क्रममा एपेक अधिकारी सँगै आएका थिए। दाहाल एपेककै बैठकमा सहभागी हुन मलेसिया पुगेका थिए। लुम्बिनी विकास विशेष परियोजनाको पारदर्शिता तथा विश्वसनीयतामा प्रश्न उठ्न थालेपछि एपेकका पदाधिकारी यससम्बन्धी जानकारी दिन काठमाडौं आएका हुन्।

कार्यक्रममा उपाध्यक्ष उनानले पत्रकारका प्रश्नको गोलमटोल जवाफ दिएका थिए। कुनै प्रश्नको स्पष्ट जवाफ उनले दिन चाहेनन्। परियोजनामा चिनियाँ सरकारको लगानीबारे सोधिएकोमा उनले भने, ‘एपेक गैरसरकारी संस्था हो, यसले गैरसरकारी संस्थाको रिसोर्स प्रयोग गर्छ। चिनियाँ सरकारको सहभागिता भए यसबारे नेपाल सरकारलाई थाहा होला।’
एसिया क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै समग्र विकास गर्नु एपेकको उद्देश्य रहेको जनाउँदै उनले नेपालमा परियोजना ल्याउनुपछाडि कुनै स्वार्थ नरहेको बताए। नेपालमा रहेका तिब्बती शरणार्थीमाथि दबाब सृजना गर्न नेपालमा परियोजना ल्याउन लागिएको त होइन भनेर सोध्दा कार्यकारी उपाध्यक्ष उनानले भने, ‘हामी बुद्धिस्ट हौं, ध्यान गर्ने मान्छेले त्यस्तो गर्दैन।’

एपेकमा एसिया, युरोप, अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व सबैतिरका सदस्य रहेको जनाउँदै उनले यी सबै ठाउँका उद्योगपति, समाजसेवी परियोजनामा लगानी गर्न इच्छुक रहेको जानकारी दिए। कार्यक्रममा ‘लुम्बिनी रिकभरी योजना’ को सामान्य रुपरेखासमेत प्रस्तुत गरिएको थियो।

५० पृष्ठको उक्त रूपरेखामा विभिन्न धर्म र संस्कृतिबीच अन्तर्क्रिया गर्ने थलोमा रूपमा लुम्बिनीलाई विकास गर्न खोजिएको उल्लेख छ।

‘ग्रिन इनर्जी’ अवधारणाअनुसार पर्यावरणमा कुनै असर नपर्ने गरी परियोजनालाई ३ वर्षभित्र पूर्णता दिने जनाइएको छ। लुम्बिनीलाई ‘आध्यात्मिक गृह,’ ‘पवित्र सहर’ जस्ता उपनाम बिहीबार प्रस्तुत रूपरेखामा दिइएको छ। नयाँ सहर, आधुनिक सडक, अन्तर्राष्ट्रिय विमानस्थल, आधुनिक टेलिफोन, ब्रोडब्यान्ड इन्टरनेट, अग्नि तथा आपतकालीन सेवा, ठूलादेखि साना होटल, अस्पताल, उद्योग, मन्दिर, क्षेत्रीय अनुसन्धान केन्द्र, विद्यालय, विश्वविद्यालयसहितको पवित्र सहरको रूपमा लुम्बिनीको विकास गर्ने एपेकको दाबी थियो।

‘लुम्बिनी सबै धर्मावलम्बी तथा संस्कृतिको संवाद गर्ने साझा थलो बनोस् भन्ने हाम्रो चाह हो,’ एपेकका अर्का उपाध्यक्ष टाङले कार्यक्रममा भने, ‘नेपालले चाहे केही वर्षमै लुम्बिनीलाई एउटा आध्यात्मिक गृहका रूपमा विकास गर्न सकिन्छ।’

टाङका अनुसार परियोजना पूर्ण व्यावसायिक रूपमा विकास गरिनेछ। व्यावसायिक रुपमा यसको निर्माण गरे विश्वभरबाट लगानीकर्ता आकर्षित गर्न सकिने तर्क एपेकको छ।

 


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: