गौतम बुद्धका बारेमा भारतीय लेखकले छरेको अर्को भ्रम
Posted by Ram Kumar Shrestha on November 8, 2011
-ऋषिराज बुढाथोकी
प्रत्येक नेपालीलाई थाहा छ भगवान् गौतम बुद्ध लुम्बिनीको कपिलवस्तु जिल्लाको राजपरिवारमा जन्मिएका हुन्। यसमा कुनै दुइ मत छैन किनभने तपाई हामी सबैले सानै देखी किताबमा पढेका थियौ गौतम बुद्ध कपिलवस्तुका राजा शुद्धोदनका पुत्र थिए। तर नेपाल बाहिरका करोडौं व्यक्तिले पढ्ने पुस्तकमा भगवान् गौतम बुद्ध भारतका शासक थिए भनेर वर्णन गरिएको छ।
बेलायतको सार्वजनिक पुस्तकालयहरुमा लेखक के ई सुल्लिभानको ‘ईन्डियन मिथ्स् एण्ड लैजेन्ड्स’ नामक पुस्तकमा यस्तो भ्रमात्मक कुरा लेखिएको छ। सन् १९९८ मा पहिलो पटक प्रकाशित ‘ईन्डियन मिथ्स् एण्ड लैजेन्ड्स’ नामक पुस्तकको पेज नम्बर ७७ भित्र चौथो प्याराग्राफमा भगवान् गौतम बुद्धले एउटा साधारण भारतीय शासकको रुपमा प्रारम्भिक जीवन बिताएका थिए भनेर उल्लेख गरिएको छ। यहाँ लगभग प्रत्येक व्यक्ति पुस्तकालय जान्छ र कुनै न कुनै पुस्तक लिएर फर्कन्छ त्यसैले पुस्तकालयको अति नै महत्व रहेको मुलुकको पुस्तकालयमा त्यसरी भ्रमात्मक जानकारी दिने खालको पुस्तक राखिनुले हाम्रो भावनामा एकातिर ठेस पुर्याइएको छ भने अर्कातिर तथ्यलाई मिथ्याले छोप्न खोजेको छ।
विश्व मानचित्रमा नेपाललाई खोज्न गाह्रो पर्छ तर पनि विश्वसामु नेपालको आफ्नै पहिचान छ। नेपालीलाई विदेशमा आफ्नो देशको पहिचान दिन गाह्रो पर्दैन किनभने नेपाल संसारको अग्लो हिमाल सगमाथा र भगावान् गौतम बुद्ध जन्मिएको देश भनेर चिनिन्छ। मैले पनि विदेशमा आएर आफु नेपाली हुनुको पहिचान भगवान गौतम बुद्ध जन्मिएको देशबाट आएको भनेर परिचय दिएको थिए। मेरो मात्र नभएर स्वदेश तथा विदेशमा बस्ने हरेक नेपालीको नेपाली हुनुको पहिचान पनि भगवान गौतम बुद्धसँग जोडिन्छ। तर अहिले आएर भगवान् गौतम बुद्ध छैटौं शताब्दीको मध्यतीर भारतको उत्तर पूर्वी क्षैत्रमा जन्मिएको भनि गलत प्रचार गरिएको छ।
सेन्ट्रल लण्डनको हलबर्नमा रहेको ग्रेट रसेल स्ट्रिटस्थित ‘द ब्रिटीश म्युजियम’ को ‘द डिपार्टमेन्ट अफ एसिया’ कक्ष अन्तर्गत भारतीय धर्मको प्रदर्शनीमा ‘द लाईफ अफ बुद्ध’ नामको शिर्षकमा टाँसिएको दस्तावेजमा भगवान् गौतम बुद्ध रानी मायाको कोखबाट अनौठो तरिकाले लुम्बिनीको मृगस्थलीमा जन्मिएको भनि उल्लेख गरिएको छ। दस्तावेज अनुसार दरबार भित्रै हुर्केर दरबार भित्रै विवाह समेत गरेका सिद्धार्थ गौतमले जब आफ्नै आँखाबाट मानिसहरु बिरामी भएको भोकाएको र मृत्यु भएको देखेपछि उनले त्यसो हुनुको कारण खोज्न थाले र यसरी सिद्धार्थ गौतमले भौतिक सुःखमय जीवन त्यागेर गौतम बुद्ध सम्मको यात्रा तय गरे।
हलबर्नस्थित विश्वकै पहिलो राष्ट्रिय स्तरको यो सार्वजनिक संगहालयमा वर्षैनी ६५ लाखको हाराहारीमा पर्यटकहरु अवलोकन गर्न आउँछन् । अझ अचम्मको कुरा त यस संग्रहालयका निर्देशक निल म्याकग्रेगोरले बीबीसीमा दिएको एकसय श्रृङ्खलाको ‘अ हिस्ट्रि अफ द वल्र्ड इन हन्ड्रैड अव्जेक्ट्स’ मा समेत बुद्ध भारतमा जन्मिएका हुन् भन्ने विवरण दिएका थिए। यति मात्र होईन भारतले ‘ईन्क्रिेडिबल ईन्डिया’ भन्दै बुद्धको तस्बिर राखेर पोस्टरहरु बेलायतका विभिन्न ठाउँमा राखेको छ। ईन्क्रेडिबल ईन्डिया अर्थात अतुल्य भारतको संज्ञा दिएको उक्त पोस्टरहरु बेलायतका सबैभन्दा व्यस्त रहने अन्डरग्राउन्ड रेल स्टेशन ग्रीनपार्क ईम्ब्याङ्कमेन्ट लगायतका रेल स्टेशनमा राखिएका छन् जहाँ दैनिक लाखौंको संख्यामा मानिहरु ओहोर दोहोर गरीरहेका हुन्छन्।
साथै ईन्क्रेडिबल् ईन्डियाको अफिसियल वेबसाईट http://www.incredibleindia.org/Buddhacontest/microsite/history.htm मा पनि बुद्ध उत्तरी भारतमा जन्मिएको भनि उल्लेख गरिएको छ । विश्वको चौथो स्थानमा रहेको बौद्ध धर्मका प्रर्वतक भगवान् गौतम बुद्धको नामलाई मात्र भए पनि अगाडी सारेर पर्यटन प्रवर्दन गर् यो भने पनि नेपालले अझ बढी नाम अनि दाम कमाउन सक्छ तर बुद्धको नामलाई सहि रुपमा प्रचार प्रसार गर्न नसक्नु र भारतको पिछलग्गु हुन नछाड्नुले नेपाल र नेपालीको विश्वमा ईज्जत नबढ्ने पक्का छ।
एकातिर भारतले आफ्नै भूमिमा लुम्बिनीको नक्कल गरिरहेको छ भने अर्कोतिर गौतम बुद्ध आफ्नो भनेर गलत प्रचारबाजीलाई तीव्रता दिएको छ । संक्रमणकालमा गुज्रिरहेको नेपाल सत्ता मोहमा लिप्त राजनितीज्ञहरु भारतको यस्तो जवर्जस्त प्रचारप्रति वेखबर जस्तै देखीएका छन्। त्यसैले नेपाल सरकारले जति सक्यो चाँडो विश्वसामु वास्तविकता के हो भन्ने कुरा अगाडी ल्याउनु अत्यावश्यक छ र आफ्ना कुटनितीक नियोगका कर्मचारीलाई सत्य तथ्य कुरामा प्रचार प्रसार गराउन आवश्यक छ। हैनभने भोली भोली भन्दा भन्दै सुस्तामा नेपाली ठगिए जस्तै भारतले भगवान् गौतम बुद्धलाई पनि साच्चिनै आफ्नो बनाउन बेर लाग्ने छैन। journalist.rishi@gmail.com
Leave a Reply