Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपाली सञ्चार प्राथमिकता र डा. कलाम

Posted by Ram Kumar Shrestha on December 24, 2011

शिवजी श्रेष्ठ

गत हप्ता जब चिनिया प्रधानमन्त्री वेन जियाबाओको पुस ५ देखि ७ गतेसम्मको निर्धारित नेपाल भ्रमण अकस्मात स्थगित भएको समाचार आउने बित्तिकै यस्ता टिकाटिप्पणी र समाचारहरु नेपाली छापा र अनलाइनमा मिडियामा आए, लाग्थ्यो कि नेपाली राजनीतिमाथि आकाश नै खसेको छ । प्रतिपक्षी राजनीतिक पार्टीहरुका नेताहरुबाट मात्र होइन सत्तारुढ पार्टी अर्थात् प्रधानमन्त्री अनि परराष्ट्रमन्त्रीका आफ्नै नेताहरु पनि सरकारको कूटनीतिक असफलतादेखि सम्पूर्ण असफलतासम्मका प्रतिक्रियासहित कुर्लिएका समाचारहरुले मिडियाहरु रंगिएका थिए । सञ्चार माध्यमहरु चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित हुने कारणहरुलाई लिएर यति नकारात्मक रुपमा प्रस्तुत भए कि, नेपालका लागि चीनका राजदूत योङ होउलानले भ्रमण स्थगित हुनुको कारण नेपाली सञ्चारमाध्यमा आएजस्तो नकारात्मक होइन भनि विज्ञप्ति नै प्रकाशित गर्नुपर्‍यो ।
कुनै पनि नेपाली अनलाइन मिडिया होस् वा छापाहरु, अधिकाश समाचार शीर्षकहरु नकारात्मक समाचारले भरिएका हुन्छन् । चाहे त्यो कारागारभित्रको हत्या होस् वा स्कूल कम्पाउण्डबाटै अपहरण हुन् साथै हिंसा र बन्दका समाचारहरु प्रभाव प्राथमिकतामा छापिएका हुन्छन् । दिनको शुरुवात समाचार हेरेर वा पढेर शुरु गर्नेहरुको सम्पूर्ण दिन यिनै कुराहरुबाट प्रभावित हुन्छन् । प्रत्येक दिनको कुनै पनि सञ्चार माध्यमलाई हेर्ने हो भने लगभग साठी प्रतिशत समाचार यी र यस्तै सन्देशहरुले भरिएको सन्दर्भमा स्वदेशमा बस्नेलाई पार्ने पनि पनि खै हो के ? भन्ने बताइरहेका हुन्छ । के साँच्चि म बसेको समाज, मेरो गाउँ अर्थात् मेरो देश अनिश्चिय, हिंसा, अस्थिरताबाट मात्रै गुजि्रएको छ त ? भन्ने प्रश्नवाचक चिहृन प्रत्येक नेपालीको मनमा प्रत्येक समाचारहरुको श्रृंखलाले भान पारिदिइरहेको हुन्छ । लाग्छ, राम्रा र पढुँपढुँ लाग्ने समाचारहरु त छँदै छैनन् वा हुँदै हुँदैनन्, भए पनि ती कम प्राथमिकतामा कताकता भित्री पृष्ठतिर हुन्छन् । किन यस्तो हुन्छ त ? के हाम्रो देशमा राम्रा कार्यहरु नभएका हुन् त ? 
भारतका तत्कालिन राष्ट्रपति डा. एपिजे अब्दुल कलामले भारतको सञ्चार माध्यम किन यति नकारात्मक भएका ? भन्ने प्रश्न उठाउँदै सन् २००६ मा हैदराबादमा एक महत्वपूर्ण भाषण दिएका थिए । त्यसमा भारतीय सञ्चार माध्यमको तुलनात्मक रुपमा समीक्षा गर्दै गुनासो पोखेका थिए । उनले सोधेका थिए, सञ्चार माध्यम किन यति नकारात्मक भएका ? आफ्नो शक्ति र उपलब्धताको पहिचान गर्ने हामी किन लजाएका ? हाम्रो राष्ट्र यति ठूलो छ, हामीसित यतिका सफलताका कुरा छन् । तर हामीले यसलाई स्वीकार्न चाहेनौँ किन ? भारतमा हामी सधैँ हत्या, हिंसा, आतंक र अपराधका दुःखद् खबरहरु पढ्छौँ । किन हामी त्यही रुचाउँछौँ ? हामी रिमोट सेन्सिङमा पहिलो छौँ । दूध उत्पादनमा पहिला छौँ । गहुँ र धान उत्पादनमा हामी संसारमा दोश्रो छौँ, डा. सुदर्शनले एउटा सानो गाउँलाई समुन्नत बनाएका छन् । हामीले यस्ता लाखौँ उपलब्धि हासिल गरेका छौँ । तर त्यसलाई छाडेर सञ्चार माध्यमले सधैँ असफलताका कुराहरु मात्र सम्पे्रषण गर्छन् । अनि उनले आफ्नो अनुभव सहितको उदाहरण दिएका थिए- “म तेल अभिभ जाँदा एउटा इजरायली पत्रिका पढ्दै थिएँ । त्यो दिन त्यहाँ बम बिस्फोटनका कारणबाट धेरै मानिसहरु हताहत भएका थिए । तर पत्रिकाले पहिलो पृष्ठमा चार जना यहुदीहरुले कसरी मरुभूमिलाई सुनगाभाको बगैँचा बनाए भन्ने लेख छापिएको थियो र दुर्घटनामा मानिस मरेको र दुर्घटनाको खबर भित्री पेजमा हराएको थियो ।”
सञ्चार माध्यम भनेको त्यो राष्ट्रको ऐना हो, जँहा त्यो राष्ट्रको मुहार हेर्न सकिन्छ । संसारले नेपाल कस्तो देश हो ? भन्ने बुझ्ने माध्यम भनेकै त्यो देशको सञ्चार माध्यमबाट हो । अनि संसारले त्यही अनुसारको धारणा बनाउँछ । माथि डा. कलामले भनेझैँ हाम्रो देश पनि संसारको एउटा सुन्दर अनि सम्भावना बोकेको देश हो । संसारका चौध वटा आठ हजारभन्दा अग्ला हिमालयहरु हाम्रो देशमा पर्छ । छोटो समयमा नै छिचोल्न सकिने अर्थात् अनुभव गर्न सकिने तीन भिन्न भौगोलिक अवस्थिति हाम्रै देशमा छ । बुद्ध अझै भारतमा हैन नेपालमा जन्मिएको भनेर भनिरहनु परेको छ । बुद्ध नेपालमा जन्मिएको हो भनेर विश्व अभियान चलाएको कपिलबस्तु दिवस अभियानले हाम्रो सञ्चार माध्यममा पर्याप्त ठाउँ पाउँदैन, बरु चिनियाँ प्रधानमन्त्री नेपाल आउने हुँदा पि|m तिब्बत अभियानले चर्चा पाएको छ । ऐश्वर्या रायको छोरीको नाम नजुर्दा समाचार बन्छ तर शारीरिक रुपमा अशक्त तर खुट्टाले लेखेर इतिहास बनाएका झमककुमारी घिमिरेको नागरिक अभिनन्दन हुँदा सञ्चार माध्यमले उचित स्थान दिँदैन । अमेरिकाको नासामा कुनै भारतीय वैज्ञानिकले काम गरेको समाचार बन्छ तर विदेशबाट स्वदेश फर्किएर नर्भिक अस्पतालमा काम गर्दै असम्भव प्रायः अवस्थाका पाँच रोगीलाई बचाएका डा. निरज जोशीको समाचार बन्दैन । धान्द्रुकमा जुत्ताको माला लगाएको समाचार बन्छ तर सप्तरीको स्कूलमा शिक्षकलाई फूलको माला लगाएको समाचार बन्दैन । एनआरएनको पाँचौँ विश्व सम्मेलनका दुई नेतृत्वबीच अन्तरक्रिया गर्दा भएको सामान्य होहल्लालाई कुटाकुट भनेर ब्रेकिङ न्युज दिन कोही पछि पर्दैनन् तर त्यहि नेतृत्व सर्वसम्मत हुँदा सामान्य समाचारमा परिणत भयो । नराम्रो कुरा प्रकाशित गर्न हामीलाई कत्रो हतारो हुन्छ, किन होला ?
साफ फुटबलको बेला नेपालले जिते अपार्टमेन्ट दिने घोषणा गरेका गणेश थापाको घोषणाको सराहना गर्नु त कता हो कता त्यसको नकारात्मक पक्षको खोजीमा समाचार केन्दि्रत देखिन्थ्यो । लुक्लामा मौसम खराब भएर पर्यटक रोकिँदा जुन समाचारको बाढी आएको थियो तर भइरहेको उद्धार प्रयास र उदार कार्यले त्यति प्राथमिकता पाएन, शायद पर्यटक, ट्राभल एजेन्सीहरु त तिनै समाचारमा आँखा गाढेर बसिरहेको थिए होलान् । त्यसले आउने पर्यटकलाई नेपाल आउने वातावरण तयार गर्छ कि बिगार्छ ? केहि समयअघि आयोजक बिनै हल्लैको भरमा काठमाडौं बन्द भएको थियो कारण सञ्चार माध्यममा आएको समाचार “आज पनि उपत्यका बन्द” भन्ने समाचार थियो । हाम्रा समाचारहरु बिकाउ प्रकृतिका हुन्छन्, ठूला-ठूला भंगेरे टाउकामा उत्तेजित, आक्रोशित वा त्रसित हेडलाइनबाट आˆनो पत्रिकाको स्तर निर्धारित गर्ने प्रवृत्तिले पत्रिकालाई त फाइदा होला, तर त्यसले दिने सन्देशले जनतालाई, अनि देशलाई के फाइदा हुन्छ ?
चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित हुने बित्तिकै देशकै सरकार असफल भएको डंका पिटनै पर्ने, नेपालका प्रत्येक सरकारको गठन र भाविष्य भारतसँग जोडतोडका साथ जोडनै पर्ने, सरकारमा रहनेहरुले आत्मविश्वास गिराउनै पर्ने ? कहिलेकाहिँ सकारात्मक सामाचारहरु दिँदा सकारात्मक काम गर्नेको मनोबल बढछ र अरुलाई पनि प्रोत्साहन हुन सक्छ भने कुरालाई पनि ख्याल गर्ने हो कि ? परराष्ट्र मन्त्रालयको राहदानी शाखामा लागेको लाइन देखाउनुभन्दा ओखलढुंगामा बाख्रा पालन गरेर स्वावलम्बी भएको युवाहरुको कथा बढि प्राथमिकतामा छाप्ने हो कि ? अमेरिकामा डिभी परेको कथाभन्दा नवलपरासीको अष्ट्रिच पालनको कथालाई प्राथमिकता दिने हो कि ? परिस्थितिले परदेशिएकालाई स्वदेशको केही सपि्रएको परिस्थिति देखाएर स्वदेश फिर्ता गराउने समाचार छाप्ने हो कि ? नकारात्मक समाचार देखाएर उतै रोक्ने वातावरण बनाउने ? नेपालको गाउँ-गाउँमा बिहेमा बैण्डबाजा भित्र्याएको समाचारभन्दा बेलायतमा गुल्मेली समाजले भित्र्याएको पञ्चेबाजाको समाचार छाप्ने हो ?
जे होस्- स्वदेश वा विदेश, जहाँको नेपाली सञ्चारमाध्यममा भए पनि आफू र आफूभित्रको प्राथमिकतालाई केलाउने पर्ने भएकोछ । सकारात्मक वा नकारात्मक समाचार कुनलाई प्राथमिकता दिने ? त्यसको समयक्रममा प्राथमिकता निर्धारण गर्नु जरुरी छ । सकारात्मक समाचार पनि सकारात्मक सन्देश प्रवाह हुनेगरी छाप्न सकिन्छ । हामी अगाडि जान नसकेको हामी पछाडि नै छौँ भन्ने मानसिकताले त हैन ? हाम्रो विकास हुन नसकेको हामी अविकसित नै छौं भन्ने मानसिकताले त हैन ? हाम्रा सरकार जुन आए पनि असफल भइरहने, जुन जोगी आए पनि कानै चिरेको भन्ने मानसिकताले त हैन ? अनि यी मानसिकता बन्ने वातारण हाम्रै सञ्चार माध्यमहरुमा सदा छाइरहने नकारात्मक समाचार सामाग्रीहरुले त हैन ? किन कि सञ्चार माध्यम भनेको समाज, राष्ट्र अनि त्यहाँका नागरिक जीवनको ऐना हुन् । त्यहि ऐनाले सबै कुरा छर्लङ्ग देखाउँछ ।
तसर्थ, एकपटक ती तत्कालिन भारतीय राष्ट्रपति डा. कलामको गुनासो र सुझावलाई हामी पनि हाम्रै सन्दर्भमा पनि हेर्ने हो कि ? जहाँ मनाङको डा. देवी गुरुङ, नर्भिकका डा. निरज जोशी, महावीर पुनका कथाहरु आऊन् अनि कपिलबस्तु अभियानका डा. कवितारामदेखि रामकुमार श्रेष्ठजस्ता अभियन्ताहरुले पनि उपयुक्त स्थान पाइरहून् ।

One Response to “नेपाली सञ्चार प्राथमिकता र डा. कलाम”

  1. I’m not sure where you’re getting your information, but great topic. I needs to spend some time learning more or understanding more. Thanks for magnificent info I was looking for this info for my mission.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: