Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनीमा राष्ट्रसंघीय चासो

Posted by Ram Kumar Shrestha on March 23, 2012

By टीकाराम राई

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको प्रस्तावित नेपाल भ्रमण रोकिएपछि विभिन्न प्रश्नहरू उठेका छन् । बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समितिले फागुन ३० गते महासचिव बान गौतमबुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्न आउने बताएपछि यसबारे बहस चर्किएको थियो । एकथरीले पूर्वविद्रोही माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको निर्देशक समितिको निम्तोमा बानले लुम्बिनी भ्रमण गर्न नहुने तर्क गरेका थिए । अर्काथरीले बानले लुम्बिनी अवलोकन गर्दा लुम्बिनीको मात्र होइन, राष्ट्रलाई नै फाइदा हुने तर्क गरेका थिए । बानको भ्रमणका पक्षमा जनमत निर्माण भइरहेको अवस्थामा उनको भ्रमण स्थगित भएको छ । यसबाट लुम्बिनीको हित चाहनेहरू दुःखी भएका छन् ।

विश्वको जनसंख्या करिब ७ अर्बमध्ये करिब १.५ अर्ब इसाईहरूको छ । इसाई धर्मका संस्थापक जिसस क्राइस्टले ज्ञान प्राप्त गरेको स्थान भेटिकन सिटीलाई उनीहरू तीर्थस्थल मान्छन् र जीवनमा एकपल्ट त्यहाँं पुग्न मरिहत्ते गर्छन् । विश्वमा १.६ अर्ब जनसंख्या भएका मुस्लिमहरू साउदीको मक्कालाई पवित्र तीर्थस्थल मान्छन्, जहाँ इस्लाम धर्मका संस्थापक मोहम्मदको जन्म २६ अपि्रल ५७० मा भएको थियो । इसाईहरूको भेटिकन सिटी र मुस्लिमहरूको मक्का-मदिनाजस्तै ५० करोड बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी तीर्थस्थल हो, जहाँ बौद्धधर्मका संस्थापक बुद्धको जन्म ईसापूर्व ६२३ मा भएको थियो । त्यसैगरी ९० करोड हिन्दुहरूको एउटा प्रमुख तीर्थस्थल पशुपतिनाथ हो । यी माथिका तथ्यहरूबाट स्पष्ट हुन्छ, विश्वका कुल जनसंख्यामध्ये १ अर्ब ४० करोड जनसंख्या हिन्दु र बौद्धमार्गीहरूको छ । उनीहरूको तीर्थस्थल नेपालमा पर्छ । तर माल पाएर पनि चाल नपाउने हामी नेपालीले प्रचुर सम्भावना भएका यी दुई सम्पदास्थलको उपयोग गर्नसकेका छैनौं ।

यो लेखको प्रमुख विषय महासचिव बानको लुम्बिनी अवलोकन भएकाले लुम्बिनीकै बारेमा छलफल केन्दि्रत गरौं । शताब्दीसम्म नेपाल हिन्दु अधिराज्य भएकाले अन्य धर्मावलम्बीहरू उपेक्षित भए । त्यसैले त्यसको प्रभाव बुद्ध जन्मस्थल लुम्बिनीमा पनि पर्‍यो । तर प्रमुख रूपमा भारतका मौर्यवंशी सम्राट अशोक र राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त (बर्मेली) को योगदानले गर्दा लुम्बिनीको प्रचार विश्वमा भएको हो । सम्भवतः उनीहरूकै योगदानले गर्दा लुम्बिनी विश्वसम्पदामा अंकित भयो । त्यही कारण नेपालीका लागि प्रचुर सम्भावनाको स्रोत बन्न सफल भएको हो ।

सम्राट अशोक (२६९-२३२ ईसापूर्व) प्राचीन भारतका मौर्यवंशी सम्राट थिए । उनको राज्य वर्तमान भारतको सबै क्षेत्र र हालको बंगलादेश, अफ्गानिस्तान र पाकिस्तानसम्म फैलिएको थियो । वर्तमान भारतको उडिसा राज्यको पूर्व तटीय र आन्ध्र्र प्रदेशको उत्तर तटीय क्षेत्र कलिङमा विजय प्राप्त गर्दा एक लाखभन्दा बढीको ज्यान गयो । त्यसपछि सम्राट अशोक करिब २६४ ईसापूर्वमा बौद्ध धर्मावलम्बी भएका थिए । उनी बौद्धधर्मका प्रमुख प्रचारक पनि भए र बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर नजिकै अशोक स्तम्भ बनाउन लगाए । आफ्नो साम्राज्यमा बौद्धधर्म फैलाई त्यसलाई समृद्ध बनाए । यस अर्थमा सम्राट अशोकलाई प्राचीनकालका प्रमुख बौद्ध प्रचारक मान्न सकिन्छ ।

हिजोका दिनहरूमा हिन्दु राजाहरूका कारण बौद्धधर्मले नेपालमा फस्टाउने अवसर पाएन । सन् १९६१ मा बर्माका कूटनीतिज्ञ ऊ थान्त राष्ट्रसंघका महासचिव नियुक्त भएपछि उनको चासो शान्तिका अग्रदूूत बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा पनि केन्दि्रत भयो । उनले आफ्नो दोस्रो कार्यकालमा सन् १९६७ मा लुम्बिनी भ्रमण गरे । प्रभावकारी र योजनाबद्ध ढंगले लुम्बिनीको विकास गर्न जापानी वास्तुविद क्यान्जु टाङ्गेलाई लुम्बिनी गुरुयोजना बनाउने जिम्मा दिए र टाङ्गेले सन् १९७८ मा आफ्नो जिम्मेवारी पूरा गरे । महासचिव थान्तले नै राष्ट्रसंघका सदस्य राष्ट्रहरूको सहयोग जुटाउन एसियाका १६ देशका राष्ट्रसंघीय प्रतिनिधिहरू संलग्न ‘लुम्बिनी राष्ट्रसंघ समिति’ गठन गरे । तर त्यसबेला लुम्बिनीप्रति नेपालको आफ्नै उपेक्षाले गर्दा थान्तले राष्ट्रसंघबाट सन् १९७१ म्ाा अवकाश लिएपछि त्यो समिति निस्त्रिmयजस्तै भयो ।

करिब ४० वर्षपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा लुम्बिनी विकासबारे सरकारी चासो सुरु भयो । संस्कृतिमन्त्री गोपाल किरातीले लुम्बिनीको विकास बृहत्तर रूपमा गर्नका लागि लुम्बिनी विकास योजनाको कार्यक्षेत्र लुम्बिनीबाट विस्तार गरी रामग्राम, देवदह र तिलौराकोटसम्म पुर्‍याउने निर्णय २०६३ मै विकास कोषमा गराए । राष्ट्रसंघका महासचिव थान्तको अगुवाइमा गठन भएको लुम्बिनी राष्ट्रसंघ समितिलाई ‘अपग्रेड’ गरी मन्त्रीस्तरीय प्रतिनिधिमूलक बनाउने पहल अर्का संस्कृतिमन्त्री मिनेन्द्र रिजालले गरे । यी सबै प्रयासको परिणामस्वरूप सरकारले गत असोज ३० गते माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालको अध्यक्षतामा बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समिति गठन गर्‍यो । त्यही हैसियतमा दाहाल र रिजाल न्युयोर्क गई कात्तिक २३ गते राष्ट्रसंघका महासचिव बानलाई भेटी लुम्बिनीको विकासमा उनको समर्थन हासिल गर्न सफल भए । त्यसबखत बानले लुम्बिनीको संरक्षण र बृहत्तर विकासका लागि आफ्नो नैतिक तथा राजनीतिक समर्थन हुने जनाएका थिए ।

बानको समर्थनपछि लुम्बिनी फेरि एकपल्ट अन्तर्राष्ट्रिय रूपमा गतिशील भएको छ । कम्बोडिया, थाइल्यान्ड, मङ्गोलिया, भुटान, श्रीलंका, जापान, चीन, दक्षिण कोरिया, भियतनाम, सिङ्गापुर आदिमा लुम्बिनीबारे चासो र जागरण बढेको छ । लुम्बिनीमा चिनियाँ, श्रीलंकाली, भुटानी र दक्षिण कोरियाली तीर्थयात्रीहरू ओइरिन थालेका छन् । मङ्गोलिया, भियतनाम, कम्बोडियाको आर्थिक वृद्धिदर बढेकाले ती देशबाट पनि तीर्थालुहरू आउन थालेका छन् । त्यसले गर्दा नेपाल र सीमा नजिकैको भारतीय क्षेत्रमा आर्थिक गतिविधि बढेको छ । आफ्नो देशका तीर्थालुहरूको ओइरो लाग्न थालेपछि लुम्बिनीमा पाँचतारे होटलहरू खोल्न र उद्यानहरू बनाउन चिनियाँ उद्योगपतिहरूले चासो देखाइरहेका छन् । यो अर्थमा बृहत्तर लुम्बिनी क्षेत्रमा आर्थिक उन्नति सुरु भएको छ ।

हिजोका दिनमा लुम्बिनीप्रतिको शासकीय उपेक्षा, त्यसबारे अप्रभावकारी प्रचार तथा विकास कोषको कमजोर व्यवस्थापनका कारण अझै गौतमबुद्ध भारतमा जन्मेको भ्रम विदेशीहरूमा छ । जस्तै- अमेरिकी म्यागेजिन ‘टाइम’का स्तम्भकार फरिद जकारियाले आफ्नो पछिल्लो पुस्तक ‘द पोष्ट अमेरिकन वल्र्ड’मा बुद्ध भारतमा जन्मेका भनी उल्लेख गर्नु । त्यतिमात्र होइन, इन्टरनेटहरूमा उपलब्ध लुम्बिनीसम्बन्धी धेरै सामग्रीमा पनि बुद्ध नेपालमै जन्मेका हुन् भन्ने भेटिँदैन । महासचिव बानको लुम्बिनी भ्रमणले अमेरिकी विद्वान जकारियाहरूलाई बुद्ध नेपालमै जन्मेका हुन् भन्ने चेत सायद खुल्ने थियो । त्यसैले बानले लुम्बिनी भ्रमण गर्दा देशलाई फाइदा नै फाइदा थियो । बान भ्रमणको विरोध गर्ने कथित अधिकारवादीहरूलाई पनि बेफाइदाचाहिँ हुने थिएन ।

हाललाई बैसाख १६ गते हुने भनिएको बानको भ्रमण स्थगन भएको छ । राष्ट्रसंघीय मिसन ‘अनमिन’ र मानवअधिकार उच्चायुक्तको कार्यालय बन्द गराउनेहरूले नै बानको लुम्बिनी भ्रमणबारे विवाद झिकी स्थगित गर्न लगाए । यसबाट स्पष्ट हुन्छ, नेपालमा राष्ट्रसंघको उपस्थिति उनीहरूलाई मन पर्दैन । उनीहरू कूटनीतिक र आर्थिक रूपमा नेपालले प्रगति गरोस् भन्ने चाहँदैनन् । बानको भ्रमण स्थगन हुँदा उनीहरूलाई आफ्नो मनोकांक्षा पूरा भएको महसुस भयो होला । तर लुम्बिनीको माध्यमबाट देशलाई आर्थिक रूपले समुन्नत गराउन लागिपर्नेेहरूलाई चाहिँ खिन्न पारेको छ । बानलाई लुम्बिनी भ्रमण गराउने चुनौती र जिम्मेवारी बृहत्तर लुम्बिनी समितिलाई झन् बढेको छ ।

लुम्बिनीमा राष्ट्रसंघीय चासो | विचार/विश्‍लेषण | ekantipur.com.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: