Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

असली स्वरुप

Posted by Ram Kumar Shrestha on March 31, 2012

By हरिकुमार श्रेष्ठ 

म आज आश्चर्य चकित छु
तिम्रा ती असली स्वरुप देख्दा
त्यसैले कसैले अब
तिम्रा ती रुप र रङ्गको
अनि नारदीय चरित्र र स्वभावको
जति नै व्याख्या गरे पनि अपुरो र अधुरो नै हुनेछ ।

मलाई अझै याद छ
मेरा पूर्वजहरुको नेपाली उखान टुक्का
“भाइ फुटे गवार लुटे”
तर आज कतियुग लागेर पो हो कि
ती उखान टुक्का पनि उल्टिँदो छ
त्यसैले त होला
तिमी जति जति भाइ फुटाउँछौ
त्यति त्यति गवार जित्दैछ
यसको मतलव
आज तिमीलाई “भाइ फुटे गवार लुटे” को सट्टा
“भाइ फुटे गवार जिते” पो भइ रहेछ
त्यसैले होला
तिम्रो कार्यक्षेत्र फस्टाउँदो छ
तिम्रो डलरखेती मौलाउँदो छ
नितान्त स्वार्थ र घिनलाग्दो
राजनीति र एनजीओ नाममा ।

पार्दैछौ कोकाहल र फसाउँदैछौ अझै
यो देशका जनतालाई
लुटाउँदैछौ यो देश र चेलीको अस्मिता
अनि गुहार्छौ तिम्रा दाताहरु सहयोगको ढोंग रची
केवल आफैँ बोक्सी र आफैँ झाँक्री बन्दै
अनि अझै मेट्न खोज्दैछौ अस्तित्व
प्यारो मातृभूमि नेपाल र नेपालीको
अनि बुद्धको जन्मभूमि नेपालको
सायद तिमीले बिर्सिसक्यौ होला
बुद्धको महत्व
बुद्धत्वको मर्म
अनि बुद्धको जन्मभूमिको माया र ममता
किनिक
तिम्रा हिजोआजका गतिविधिहरु
यस्तै उस्तै र त्यस्तैमा रम्दैछन्
दिनप्रतिदिन महत्वहीन बन्दैछन्
त्यसैले
हिंसा त्यागी शान्तिपथमा हिड्ने
बुद्धका अनुयायीहरुबीच पनि लडाई मच्चाउँदैछौ
महाभारतमा कौरव र पाण्डवहरुको देखासिकी गरेर
अनि कहिले उठाउँछौ गुडाउँछौ उडाउँछौ र सुताउँछौ
तिम्रा ती रङ्गमन्चमा
छाडेनौ तिमीले
ती बुद्धधर्मावलम्वी तिव्वेतियनहरुलाई पनि
तर तिनलाई थाहा छ कि छैन विचरा
तिमीले “बलीको बोको” बनाएको
के पाए त खै तिनले आज
केवल विभिन्न देशको
शरणार्थीको ट्यागबाहेक
तर तिमीले त पायौ डलरको पोका र पुन्तुरा
तिम्रो तथाकथित एनजीओ लागि ।

हिजो म जति गर्व गर्थेँ नेपाली हुनुमा
तर आज म त्यत्तिकै दुःखी पनि छु नेपाली हुनुमा
किनिक
मातृभूमिले सपुत मात्र जन्माएकी रहिनछिन्
कुपुत्र र कुपुत्री पनि जन्माएकी रहिछन्
केही नाम कमाउनेहरुको
कुटिलचाल र फोहरी खेल देख्छु
लाग्छ आज बुद्ध र बुद्धको जन्मभूमिको नाममा
जुवा खेल्दैछन्
पासा पल्टाउँदैछन्
अंशवण्डा गदैछन्
कालोधन्दा मच्चाउँदैछन्
केवल तिनका नितान्त निहित स्वार्थमा
त्यसैले त होला
आज तिनको दलबलले
आफ्नो पहुँच देखाउँदैछन्
“मुखमा रामराम बगलीमा छुरा” जस्तै गरेर
सुनिन्छ करोडौँको चलखेल भइ रहेछ
लुम्बिनीका गतिविधिहरु रोकाउँदैछन्
बुद्धको जन्मस्थान लुम्बिनी नेपालको अपहरण गर्दै
भारतको नक्कली कपिलवस्तु स्थापित गर्न ।

सायद हिजोका सबैनै नेपालीहरु
यस्तै कुलङ्घारे भइ दिएको भए
आज नेपालीपन गुमिसक्ने रहेछ
त्यसैले होसियार राष्ट्रप्रेमी नेपालीहरु
तिनका ती असली रुपको पहिचान हुँदैछ
त्यसैले आज नेपालले
पुनः बलभद्र कुँवर र भक्ति थापाजस्ता
साहशी राष्ट्रप्रेमी नेपाली खोजेको छ
बलभद्रले नालापानीमा पानीको मुहान काटेर
अंग्रेजहरुलाई आकुल ब्याकुल पारेझैँ
भक्ति थापाले राष्ट्रको लागि देउथलमा लडेझैँ
यी राष्ट्रद्रोहीहरुलाई पनि आकुल ब्याकुल पार्न
लागौँ एकभइ कम्मर कसेर होस्टेमा हैँसे गर्दै
गरौँ सामाजिक बहिष्कार
लैजाऔँ कानुनी कठघरामा
केवल नेपाली भइ बाँच्नको लागि
बुद्ध र सगरमाथाको देश
याने हाम्रो मातृभूमि नेपाल र
नेपाली अस्मिता जोगाउन ।

स्युचाटार २ काठमाडौ
मार्च ३१ २०१२

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: