Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी प्राथमिकता

Posted by Ram Kumar Shrestha on May 6, 2012

लुम्बिनी बृहत् परिक्रमा चलाउन सके लुम्बिनीको छविलाई ओझेलमा पार्नेहरुको बदनियत विखण्डन हुनेछ ।

भिक्षु कृष्णमान

बुद्ध जयन्ती वैशाख पूणिर्मा अर्थात् लुम्बिनी दिवसलाई त्रिसंयोग दिवसका नामले पुकारिन्छ । आजकै दिन शाक्यमुनि बुद्धले लुम्बिनी उद्यानमा जन्म लिनुभएको, बोधगयामा बुद्धत्व प्राप्त गर्नुभएको र आजकै दिन बुद्धले कुशीनगरमा महा परिनिर्वाण प्राप्त गर्नुभएको हो भन्ने मान्यता छ । अतः आजको दिनलाई त्रिसंयोग दिवसका रूपमा जोडिएको छ । विश्वका विभिन्न बौद्ध समुदायहरूले बुद्ध जयन्तीलाई आआफ्नै देशकाल, परिस्थितिअनुसार मनाउने गरेको पाइन्छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय बौद्ध समुदायले ज्ञान लाभ गरेको दिन अर्थात् बुद्धत्व प्राप्त गरेको दिनलाई बोधगया दिवस भनेर मनाउने गरेको छ ।

भारतीय संविधानका महान् प्रवर्तक बाबा अम्बेडकर नेपाल आएर भाग लिनुभएको चतुर्थ विश्व बौद्ध सम्मेलनले राजा महेन्द्रको मस्तिष्कमा लुम्बिनी विकासप्रति ध्यान केन्दि्रत गराएको हो । तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव उथान्तको लुम्बिनी भ्रमणपश्चात् आजको लुम्बिनी दिग्दर्शन बौद्ध जगत्ले नियाल्न पाएको हो । उथान्तकै पहलमा खटिएको जापानका महान् विश्वप्रसिद्ध शिल्पकार प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार पार्नुभएको लुम्बिनी गुरुयोजनाको साकार रूप देख्न नपाउँदै उहाँ बित्नुको र आजसम्म गुरुयोजनाले पूर्णता पाउन नसक्नुको तीतो सत्यलाई सबैले महसुस गर्नुपरेको छ, यद्यपि नेपाल सरकार र लुम्बिनी विकास कोषको अगुवाइमा वर्ष २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । यसबाट लुम्बिनी गुरुयोजनाको बाँकी काम निकट भविष्यमा सम्पन्न हुने आशा पलाएको छ ।

उक्त भ्रमण वर्षअन्तर्गत बौद्ध अनुयायीहरू र अन्तर्राष्ट्रिय पर्यटकहरूको ठूलो संख्यालाई आकषिर्त गर्न विभिन्न कार्यक्रमको आयोजना भएको छ । सोअनुसार कपिलवस्तु, रुपन्देही र नवलपरासीमा रहेका बौद्ध ऐतिहासिक स्थलको संरक्षण तथा विकास गर्ने र हालको भैरहवा हवाई अड्डालाई अन्तर्राष्ट्रियस्तरमा विकसित गर्ने योजना रहेको छ । अन्तर्राष्ट्रियस्तरमा स्थापना हुनसके विभिन्न देशबाट हवाई मार्गद्वारा लुम्बिनी तीर्थाटनमा आउने यात्रीहरू सिधा भैरहवा हवाई अड्डामा उत्रन सक्छन् ।

लुम्बिनी गुरुयोजनाको नक्साअनुसार १२ सय बिघामा फैलिएको जमिनलाई तीन भागमा विभक्त गरिएको छ । प्रथम भागमा मायादेवी मन्दिर, दोस्रो भागमा विहार क्षेत्र र तेस्रो भागमा लुम्बिनी ग्राम क्षेत्र रहेको छ । दुईवटै क्षेत्रहरू घेरिएर बनेको पर्खालभित्र या बाहिर बन्न सक्ने लुम्बिनी बृहत् परिक्रमाको अवधारणालाई लुम्बिनी विकास कोषले अनुमोदन गरी परिक्रमाको कन्सेप्ट -डिजाइन) पनि बनिसकेको छ ।

जनक राजाले शासन गरेको मिथिला प्रदेश जनकपुर सीताको जन्मथलो हो । त्यस्तै, शुद्धोधन राजाले शासन गरेको कपिलवस्तु प्रदेशसँगै जोडिएको लुम्बिनी उद्यान सिद्धार्थ गौतम बुद्धको जन्मथलो हो । यी दुवै महान् तीर्थस्थलहरू हिन्दु तथा बौद्ध भक्तजनहरूका लागि आराधनाका मूल केन्द्र मानिन्छन् । जनकपुर बृहत् परिक्रमाको पद्धतिजस्तै लुम्बिनी बृहत् परिक्रमा चलाउन सके लुम्बिनीको छविलाई ओझेलमा पार्नेहरूको बदनियत विखण्डन हुनेछ ।

लुम्बिनी बृहत् परिक्रमाको कन्सेप्ट (डिजाइन) अनुसार ११/१२ किलोमिटर दूरीमा बन्ने पदयात्राको पथमाथि सोलार पानेलको छाना बन्ने र पथसँगै बासनामय रंगीबिरंगी फूलहरूको लहरा लाग्नेछ । फूलहरूसँगै बगिरहने पानीको बहावले शीतलता प्रदान गर्छ भने फूलहरूको लहराले बासनामय सुगन्ध प्रदान गर्नेछ । सोलार पानेलबाट निस्कने ऊर्जा शक्तिबाट पदयात्राको रुटभरि बिजुली र सिलिङ फाइन (पंखा) सञ्चालन हुनेछ । परिक्रमाको सर्कुलर रुटको बीचबीचमा प्रशाधन (रेस्टरुम) र चिसो पेयजलको सुविधा जडित विश्राम स्थलहरू बन्नेछन् । यसै ठाउँमा लुम्बिनी इतिहास लेखिएको मार्बल प्लेक रहनेछ ।

वृद्ध तथा विकलांग यात्रीहरूका लागि चियर कार चलाउन सक्ने सम्भाव्यता पनि छ । परिक्रमा पथको प्रवेशद्वारभित्र पस्नासाथ तीर्थयात्रीले आध्यात्मिक आनन्दको अनुभूति पाउनेछ । विश्वका शान्तिकामीहरू तथा बौद्ध धर्मावलम्बीका लागि संसारकै सबैभन्दा पवित्र गन्तव्य स्थल मानिने विश्वसम्पदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकसित गर्न लुम्बिनी बृहत् परिक्रमा योजनाको परिचालनमा विदेशी पर्यटक र अन्य तीर्थालुहरूको लुम्बिनी बसाइ स्वतः लम्बिने र नेपाली अर्थव्यवस्थामा व्यापक सुधार आउने कुरा निश्चित छ ।

@ekantipur

Leave a comment