Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

शान्तिका अग्रदूत गौतम बुद्ध

Posted by Ram Kumar Shrestha on May 26, 2012

– केदार शाक्य

सिद्धार्थ गौतम बुद्धले प्राचीन कपिलवस्तु राजदरवारबाट महाभिनिष्क्रमण गरी सम्पूर्ण राज्यसुखभोग त्याग गरेपछि पनि उनलाई आफ्नो मातृभूमिप्रति माया र श्रद्धा थियो । यो कुरा बुद्धकालीन ऐतिहासिक घटना प्रसङ्गहरूबाट पुष्टि भएको छ ।

प्राचीन कपिलवस्तु शाक्यगणतन्त्र समुन्नत थियो । आफ्नो जातीयताप्रति उत्तिकै गौरवशाली थिए । कोसल नरेश प्रसेनजीत पनि निकै प्रभावित थिए । उनी बुद्धका शाक्यवंशीय राजपरिवारसित वैवाहिक सम्बन्ध गाँस्न चाहन्थे । प्रसेनजीतले आफ्ना लागि शाक्यकुलकी कन्या माग्न पठाए । शाक्यगणतन्त्रका राजपरिवारमा निकै तहल्का मच्चियो । कपिलवस्तुका शाक्यवंशीय राजपरिवारले जातीय स्वाभिमानले गर्दा आफ्ना सजातीय छोरी दिन चाहेनन् । अन्ततः सन्थागारमा एउटा ऐतिहासिक निर्णय गरियो । महानाम शाक्यका नागमुण्डा नामकी दासी पत्नीबाट जन्मिएकी पुत्री वासवखत्तियालाई विवाह गरी पठाउने तय भयो । यो निर्णय पछिगएर कपिलवस्तुका शाक्यवंशकै महाबिनासको कारण बन्यो ।

राजा प्रसेनजीत र वासभखत्तियाको कोखबाट जन्मिएका छोरा बिडुडभले एक दिन मामाघर कपिलवस्तु राजदरवार आउँदा आफू दासीपुत्रीको सन्तान भएको रहस्य उनका अंगरक्षकले अर्की दासीबाट थाहा पाए । आफूलाई भान्सामा अलग राखेर खुवाएको र आफू बसेको पिरूका दूधले धोएको थाहा पाएपछि त्यहीबेला बिडुडभले आफ्नो घोर अपमान भएको महसुस गरी आफू राजा भएपछि कपिलवस्तुका शाक्यहरूको रगतले भान्साको पिरूका पखाल्ने प्रण गरेका थिए

उता कोसल राज्यका महाकोसल राजाले आफ्नी छोरी कोसलदेवीलाई अङ्ग-मगधका राजा विम्बिसारलाई विवाह गरिदिंँदा छोरीका लागि काशी भन्ने गाउँ दाइजो दिएका थिए । जब अजातशत्रु राजाले आफ्ना पिता बिम्बिसारलाई निर्मम हत्या गरे तब शोकले कोसलदेवीको पनि मृत्यु भयो । अजातशत्रुले आफ्ना पिता विम्बिसारलाई मारेको शोकमा डुबेर मेरी बहिनी कोसलदेवी पनि मरिन् । यस्ता पितृ घातक चोरलाई दाइजोमा दिएको काशी गाउँ पनि दिने छैन भनी दुई राज्यबीच युद्ध हुँदा प्रसेनजीत कोसल राजा आफ्ना भाञ्जा अजातशत्रुबाट तीन पटकसम्म पराजित हुनुपरेको थियो । प्रसेनजीत कोसल राजा युवा राजा अजातशत्रुसित बारबार पराजित भएपछि खानपान छाडेर शोक मनाउँदै बसेका बेला बुद्धले ः “विजयले वैरभाव उत्पन्न गराउँछ । पराजित पुरुष दुःखपूर्वक सुत्छ । शान्त पुरुष जय र पराजयलाई त्यागेर सुखपूर्वक सुत्छ” भन्ने धम्मपद गाथा भिक्षुहरूलाई सुनाउनु भएको थियो ।

पछि प्रसेनजीत राजाले अजातशत्रुलाई हराउन जेतवन विहारमा आफ्ना चरपुरुषहरू पठाइ भिक्षुहरूको मन्त्रणा सुनेर सोही अनुसार युद्धकौशल देखाई अजातशत्रुलाई बन्दी बनाएर ल्याएका थिए । प्रसेनजीत राजाले उनलाई सम्झाईबुझाई ठीक ठाउँमा ल्याएर छोरी वजिर राजकुमारी विवाह गरिदिए । काशी गाउँ फेरि छोरीलाई दाइजोमा दिए । त्यसपछि यी दुई राज्यबीच सुमधुर सम्बन्ध कायम भयो ।

यस्तो अवस्थामा जब दीर्घकारायणले धोका दिई बिडुडभ राजकुमारलाई सिंहासनमा राखेपछि प्रसेनजीत कोसल नरेश साह्रै दुःखी भए । अजातशत्रुलाई साथमा लिएर फेरि आफ्नो राज्य फर्काउने सोचेर राजगृहतिर लागेका प्रसेनजीत बास बसेकै ठाउँमा मरे । अजातशत्रुले यो कुरा थाहा पाएर बिडुडभमाथि हमला गर्ने सोच बनाएका थिए तर अमात्यहरूले तपाईंका मित्र प्रसेनजीत राजा नै नभएपछि युद्ध गर्नुृ उचित छैन भनी सम्झाए । बरू तपाईंको कृपाले बिडुडभ पनि छत्र धारण गर्न योग्य छन् भनेपछि अजातशत्रु शान्त भएका थिए । यिनै अजातशत्रुले देवदत्तको कुमन्त्रणाले आफ्ना पिता बिम्बिसार राजाको हत्या गरी ३२ वर्षसम्म राज्य गरेका थिए । पछि यिनी बुद्धको शरणमा गए ।

अन्ततःगत्वा बिडुडभ राजा भएपछि आफ्नो पुरानो अपमानको घाउको बदला लिन लालायित भए । आफ्नो चतुरङ्गीसेना जम्मागरी कपिलवस्तुमाथि आक्रमण गर्न भनी उनी बाटो लागे । यो कुरा बुद्धले थाहा पाए । बिडुडभको आक्रमणबाट कपिलवस्तुलाई बचाउन बुद्ध कपिलवस्तु राज्यको सीमानामा आइपुगे । कपिलवस्तुका राजपरिवारसित बिडुडभ आफूमाथि बाल्यकालमा गरिएको अपमानको बदला लिन चाहन्थे भन्ने कुरा बुद्धले बुझेका थिए ।

बुद्धको महाकरूणाको प्रभावबाट बिडुडभ नतमस्तक थिए । बुद्धको अगाडि उनी आफूलाई निरीह ठान्दथे । बुद्धले उनको मनोभावलाई बुझे तापनि बिडुडभलाई भेटेपछि विनम्रताका साथ दलबलसहित कहाँ हिँडेको भनी प्रश्न गरे । उनले बुद्धलाई आफ्नो मनको कुरा सोझै जाहेर गर्न सकेनन् । आफू वनविहारमा आएको भनी जवाफ दिए । त्यसबेला उनले कोसल राज्यको सीमाभित्रको रूखको सितल छहारीमा आएर थकाइ मार्न बुद्धलाई आग्रह गरेका थिए । बुद्धले उनलाई जवाफमा भनेका थिए । “तिम्रो राज्यको रूखको छायाभन्दा मलाई आफ्नै मातृभूमिको छहारी शीतल छ । हिमालबाट बगेको नदीनालाको पवित्र जलबाट सिञ्चित मेरो जन्मभूमि त्यसै पनि शीतल हराभरा छ । मलाई आफ्नो भूमि प्यारो छ ।” यो भनाइले बुद्ध आफ्नो जन्मभूमिप्रति निकै माया गर्दथे । जे जस्तो भए पनि श्रद्धा राख्दथे भन्ने कुरा थाहा हुन्छ । बुद्धको जवाफ सुनेर बिडुडभ हतास हुँदै आफ्नो मनोकाङ्क्षालाई दबाएर फर्केका थिए ।

बुद्ध कुनै पनि समस्याको समाधान प्रश्न-उत्तरको माध्यमबाट गरिदिन्थे । चाहे त्यो जीवनदर्शन सम्बन्धमा होस्, चाहे आध्यात्मदर्शन बारे नै किन नहोस् । प्रश्नकर्ताको जिज्ञासा चित्तबुझ्ने किसिमले समाधान गरिदिन्थे । बुद्धमा मानिसको मनोविज्ञानलाई बुझ्ने अद्भुत क्षमता थियो । प्रश्नकर्तालाई नै आफूभित्र निहित चेतनशक्तिलाई उजागर गरिदिन्थे । बुद्धको यो आफ्नै विशेषता थियो ।

बुद्धको आफ्नो मातृभूमिप्रति अगाध श्रद्धा र मायाकै कारण नतमस्तक भएर बिडुडभ आफूमाथि गरिएको तिरष्कारको बदला लिन तीन पटकसम्म असफल भए । मनोवैज्ञानिक ढङ्गले बुद्धले तीन पटकसम्म कपिलवस्तुमाथिको आक्रमणलाई पराजित गरिदिए पनि आखिरमा बुद्ध चारिका गर्दै धेरै टाढा भएको मौका छोपी बिडुडभले कपिलवस्तुमाथि चौथो पटकको प्रयासमा आक्रमण गरी शाक्यवंशीयहरूसित अपमानको बदला लिएरै छाडे । त्यसबेला सगरहवामा बिडुडभले सतहत्तर हजार शाक्यहरूको बध गरेको बौद्धवाङ्गमयमा उल्लेख छ । महानामले त्यो युद्ध अन्त्य गर्न आफ्ना नाति राजा बिडुडभसित अनुनय विनयगर्दै आफू पोखरीमा नुहाएर नफर्केसम्म युद्ध विरामगर्ने प्रस्ताव राखे । बिडुडभले आफ्नी आमाका पिता बृद्ध महानामको आग्रहलाई स्वीकार गर्‍यो । त्यसपछि महानामले नुहाउने बहानामा पोखरीभित्र पसेर आफ्नो केश आफैँे रूखको जरामा बाँधी जलसमाधि लिए ।

यसरी कपिलवस्तुमाथिको बिडुडभको हमलाले प्राचीन कपिलवस्तुलाई ध्यस्त बनायो । बाँकी बचेका शाक्यहरू कोही पूर्वतिर लागेर आसाम, बङ्गलादेश हुँदै बर्मासम्म पुगे । आसाम र बङ्गलादेशमा पुगेका शाक्यहरूका सन्तान नै हाल बोडो, बरूवा कहलाउन थालेका छन् । उत्तरतर्फ लागेका शाक्यहरू चाहिंँ पुख्यार्ंैली थातथलो पछ्याएर नेपालमण्डलको कान्तिपुर, भादगाउँ र ललितपुरमा बसोबास गर्न थाले । काठमाडौंँ उपत्यकामा शाक्यहरूको बसोबास बुद्धकालीन अवस्थादेखि नै कायम थियो । बुद्धका उपस्थापक भिक्षु आनन्द त्यसबेला नै यहाँ आफन्तहरू रहेका कारण भेटेन आएका थिए । यिनी बुद्धका काकाका छोरा भाइ थिए । त्यसबेला भिक्षु विनय अनुसार जुत्ता लगाउन नहुने भएकाले कान्तिपुर उपत्यकाबाट र्फकंदा उनको खुट्टा हिउँले खाएको थियो । पछि बुद्धकहाँ फर्किएर सबै कुरा सुनाउँदा उनकै कारणले बुद्ध आफँैले विनयमा सुधार गरिदिएका थिए । भौगोलिक अवस्था अनुसार व्यवहार गर्न हुने विनय बनाइदिए । कपिलवस्तुमाथि बिडुडभको आक्रमणपछि इतिहासले अर्कै मोड लिएको छ । यस ऐतिहासिक घटना प्रसङ्गलेे स्वदेश तथा विदेशमा बस्ने सबै नेपालीका लागि महान प्रेरणादायी दृष्टान्त प्रदान गरेकोे छ ।

कपिलवस्तु र कोलीय राज्यको बीचबाट बग्ने रोहिणी नदीको पानीको बिबादलाई लिएर दुबै गणराज्यबीच पटकपटक झगडा हुनलाग्दा पनि बुद्धले समाधानको उपाय बताएपछिको घटना प्रसङ्गले इतिहासमा अर्कै मोड लिएको छ । जब रोहिणी नदीको पानीको कारण कोलीय र कपिलवस्तुका शाक्यहरूबीच झगडा हुनलागेको थियो । त्यसबेला पनि भगवान् बुद्ध त्यहाँ पुग्नुभएको थियो । बुद्धलाई देखेर कपिलवस्तुका शाक्यहरू नतमस्तक हुँदै उहाँले आफ्नो मनोज्ञानले अवश्य नै हामीहरूको झगडा हुन लागेको कुरा थाहा पाएर यहाँ आउनु भएको होला, हामी भगवान्का अगाडि कसरी शस्त्रपात गर्ने भन्ने सल्लाह गरी चाहे कोलीयहरूले हामीलाई किन नकाटुन् किन नमारून्, किन्तु भगवान्को अगाडि कुनै हालतमा पनि कसैमाथि शस्त्रपात गर्दैनौ भनी सबै हातहतियारहरू भुइँमा राखिदिएका थिए । यसबाट बुद्धको मनोवैज्ञानिक प्रभाव स्पष्ट हुन्छ । बुद्ध कुशीनगरमा महापरिनिर्वाण हुनुभएपछि कपिलवस्तुका शाक्यहरूले भगवानको शरीरधातु माग्न पठाएबाट पनि माथि उल्लेखित कुराको पुष्ठि हुन्छ ।

बौद्धवाङ्गमयमा भएका अनेकौंँ यस्ता ऐतिहासिक घटना प्रसङ्गले बुद्धको महानतालाई प्रदर्शित गरेको छ । भगवान् बुद्धको उपदेशमा निहित देशप्रेम र मातृभूमिप्रतिको मायाले आजका पुस्तालाई पनि उत्तिकै प्रेरणा र ऊर्जा प्रदान गरेका दृष्टान्तहरू छन् । जसले आजको नेपाललाई एकताबद्ध राख्न, शान्ति र सद्भाव कायम गर्न तथा यो मुलुकलाई समृद्ध बनाउन निकै महìवपूर्ण भूमिका निर्वाह गर्न सक्तछ ।

संयुक्त राष्ट्रसङ्घ कार्यालयहरू लगायत संसारका विभिन्न मुलकमा वैशाख पूणिर्मालाई बुद्ध-जयन्तीका रूपमा मनाउने गरिए पनि नेपालमा सरकारले वैशाखपूणिर्माका दिन बिदा दिनेबाहेक राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाउने गरेको छैन । हालै नेपाल सरकारले एक सय रूपियाँको नोटमा बुद्धको चित्र अङ्कित गरिने कुरा सार्वजनिक सञ्चार माध्यममा आइसकेको छ । यो राम्रो कार्य हो । लोकतान्त्रिक गणतन्त्र नेपालमा बुद्धको महानतालाई ध्यानमा राखेर सरकारले नै राष्ट्रियस्तरमा समारोह समिति गठन गरी देशव्यापीरूपमा मनाउने कार्य गर्नुपर्छ ।

 

मधुपर्क जेठ, २०६९

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: