Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

भेटियो बुद्धभन्दा ७०० वर्ष जेठो बस्ती

Posted by Ram Kumar Shrestha on January 31, 2013

Old findingकाठमाडौं, माघ १८ – लुम्बिनीमा बुद्ध जन्मनुभन्दा झन्डै ७ सय वर्षअघि नै मानव आवादी रहेको ऐतिहासिक तथ्य फेला परेको छ। मायादेवी मन्दिर र गुम्बामा काठबाट निर्मित संरचना र उत्खननमा भेटिएका प्रमाण इशापूर्व छैठौं शताब्दीका रहेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको पुरातत्वविद्ले जानकारी दिएका हुन्। बेलायतको दुर्हाम विश्वविद्यालय, पुरातत्व विभाग, युनेस्को काठमाडौं र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविदहरुले गरेको तीनवर्षे अध्ययनको प्रारम्भिक प्रतिवेदन बुधबार राजधानीमा सार्वजिनक गरिएको छ।
उत्खननमा भेटिएका इँटा, घर बनाउँदा गाडिएका काठ, अँगार, माटाका भाँडाका टुक्रालगायत सामाग्री ३ हजार ३ सय १३ वर्ष पुराना सामग्री भेटिएको विज्ञहरुले जनाए। विभागका लुम्बिनीको उत्खनन् र अध्ययन सन् १९६० मै थालिए पनि यसअघि यस्ता प्रमाण भेटिएको थिएन।
उत्खननका क्रममा मान्छेले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री भेटिनुले बुद्ध जन्मनुअगाडि पनि त्यहाँ मानिसको चहलपहल रहेको पुष्टि भएको पुरातत्वविदले बताए।
गौतम बुद्ध इशापूर्व ६२३ मा लुम्बिनीमा जन्मेका थिए। भेटिएका प्रमाणहरु १३ सय इशापूर्वतिरका रहेको अध्ययनमा देखिएको हो।
‘लुम्बिनीमा बुद्ध जन्मनुभन्दा ५ सय वर्षअघि मात्र मानवीय बसोबास रहेको अनुमान थियो, यो अध्ययनमा ७ सय वर्षअघि नै त्यहाँ मान्छेको चहलपहल रहेको वैज्ञानिक प्रमाण भेटिएको छ,’ अनुसन्धानमा संलग्न पुरातत्व अधिकृत रामबहादुर कुँवरले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘यसले लुम्बिनीको इतिहास नै लम्ब्याइएको छ।’
यसअघि लुम्बिनीमा रहेको सम्राट अशोकले गाडेको स्तम्भबाट बुद्ध जन्मनुअघि नै त्यहाँ मानव बस्ती रहेको अनुमान रहेकोमा अहिले प्रमाण मिलेको विभागको भनाइ छ।
‘सम्राट अशोकले नै गाडेको स्तम्भबाट नै बुद्ध जन्मिनुभन्दा अगाडि त्यहाँ मान्छे रहेको कुरा थियो,’ विभागका पुरातत्वविद प्रकाश दर्नालले भने, ‘स्तम्भका लिपिमा मात्र भर पर्ने कुरा आएन, अहिले त्यो भन्दा पुरानो प्रमाण नै मिल्यो।’ यस्ता प्रमाणले अध्ययनमा थप जागरुकता ल्याएको उनले बताए।
भेटिएका वस्तुहरुको ल्याब टेस्टपछि रिपोर्ट तयार गरिएको विश्वविद्यालयका प्रोफेसर रोविन कोन्निघमले बताए। ‘हामी हाम्रो अध्ययनबाट खुसी छौं, किनकि हामीले नयाँ कुरा ल्याउन सक्यौं,’ कार्यक्रममा उनले भने।
कोन्निघमले लुम्बिनी अध्ययनका क्रममा थुप्रै माटाका भाँडा, इनार, इनारमा प्रयोग हुने इँट्टा, भत्केका स्तुपलगायत पुराना सामग्री भेटिएको जानकारी दिए। बुधबार प्रारम्भिक रिपोर्ट मात्र ल्याइएको भन्दै उनले पूर्ण रिपोर्टमा थप कुरा बाहिर आउने जानकारी दिए।
जापानिज फन्ड एन्ड ट्रस्टको आर्थिक सहयोगमा टोलीले मायादेवी मन्दिर, नर्सरी, हेलिप्याडलगायत क्षेत्र उत्खनन गरेको थियो। ट्रस्टले बुद्ध जन्मस्थल क्षेत्रमा रहेका विभिन्न संरचनाको संरक्षण कार्यमा पनि सहयोग गरेको र काम चित्तबुझ्दो रहेकाले नेपालका अन्य क्षेत्रमा पनि उत्खनन्को जिम्मा दिन सकिने विभाग महानिर्देशक भेषनारायण दाहालले बताए। नागरिक

Leave a comment