Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपालको गौरव : हेगमा बुद्ध

Posted by Ram Kumar Shrestha on August 18, 2013

Buddha_Heg2-दामोदरप्रसाद आचार्य

पृष्ठभूमि

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी-कपिलवस्तु नेपालमा रहेको तथ्यबाट विश्वका कतिपय देशका जनता बेखबर रहेको तथा कतिपय देशका पाठ्यपुस्तकहरुमा बुद्धको जन्मस्थलसम्बन्धि गलत जानकारी भएका कारण एवं सन् २००९ मा भारतको बिहार राज्य, पिपरहवामा नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको परिदृश्यमा कतैबाट पनि आवाज नउठेकोले “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”का विश्व संयोजक रामकुमार श्रेष्ठको भनाईमा “सर्वपक्षीय मौनता”को अवस्थामा भगवान बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु बारेमा विश्वव्यापी दिग्भ्रम र दुष्प्रचारलाई चिरेर सत्यलाई स्थापित गराउने उद्देश्यले विभिन्न देशमा छरिएर रहेका हामी नेपालीहरुद्धारा यसबारे आवाज उठाउने अभिप्रायले १ डिसेम्बर २००९ मा विभिन्न देशमा विभिन्न कार्यक्रम गरेर र सामाजिक सन्जालमा चौबिसै घण्टा विश्वभरिबाट सहभागिता जनाएर “कपिलवस्तु दिवस” मनाउने कार्य भयो ।

वास्तवमा गौतम बुद्ध लुम्बिनी, नेपालमा जन्मेका हुन भन्ने सबैभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई विश्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वविद् डा. अलोइस अण्टोन फुहररले सार्वजनिक गरेको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरेर नै १ डिसेम्बरलाई “कपिलवस्तु दिवस” को रुपमा मनाउन सुरु गरिएको हो । अभियानको क्रियाकलापलाई संस्थागत गर्दै निरन्तरता दिनु पर्ने आवश्यकता वोध गरि इन्जिनियर रामकुमार श्रेष्ठको विश्व संयोजकत्वमा सन् २०१० को मई र सेप्टेम्बरमा दुइ पटक गरि २१ सदस्यीय “कपिलवस्तु दिवस अभियान” विश्व कार्य समिति गठन भयो । साथै देशका ३ प्रमुख राजनीतिक पार्टीहरुका प्रतिनिधि र दुई जना अन्तर्राष्ट्रिय समुदायका विशिष्ठ विदेशी समेतलाई समावेश गरी ८ जनाको सल्लाहकार समिति पनि गठन भयो । त्यसपछि विभिन्न देशहरुमा अभियानको राष्ट्रिय समितिहरु गठन कार्य अघि बढिरहेको छ र हालसम्ममा विश्वका १७ देशहरुमा अभियानको राष्ट्रिय समितिहरु गठन भइसकेका छन् ।

मुख्यत: नेदरल्याण्डको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा रहेको पीस प्यालेसमा भगवान बुद्धको प्रतिमा प्रतिस्थापन गर्ने विषयको उठान कसले गर्यो, यस कार्यले कसरि सफलता पायो, कार्यक्रममा के कस्ता प्रवृत्ति उजागर भए एवं उक्त कार्यक्रमका सुखद र दुखद पक्षहरु के के थिए भन्ने विषयलाई यहाँ उल्लेख गरिएको छ ।

प्रतिमा प्रतिस्थापन विषयको उठान
लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान, विश्व कार्य समितिले १ डिसेम्बर २०११ मा नेपाल पर्यटन बोर्डसंग सहकार्य गरि काठमाडौँमा तेस्रो कपिलवस्तु दिवस मनाउने क्रममा एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । तत्कालिन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले लुम्बिनी विकाशका लागि गठन गरेको “वृहत लुम्बिनी विकाश राष्ट्रिय निर्देशक समिति”का संयोजक पूर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को प्रमुख आतिथ्यतामा तेस्रो लुम्बिनी- कपिलवस्तु दिवस तथा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । उक्त लुम्बिनी-कपिलवस्तु दिवस तथा कार्यशाला गोष्ठीका संयोजक अभियानका विश्व समिति सल्लाहकार प्रो. डा. कविताराम श्रेष्ठ हुनुहुन्थ्यो । सो गोष्ठीमा अभियानको तर्फबाट प्रस्तुत गरिएको “लुम्बिनी विकाश: सम्भावना र चुनौतिहरु” नामक ४२ पृष्ठ लामो प्रतिवेदन कार्यान्वयनको लागि नेपाल सरकार तथा “वृहत लुम्बिनी विकाश राष्ट्रिय निर्देशक समिति”लाई बुझाइएको थियो । सो प्रतिवेदन नेपालका प्रमुख राजनीतिक दलहरुलाई पनि प्रदान गरिएको थियो । उक्त प्रतिवेदनमा नेपाल सरकारले लुम्बिनीको विकाश, संरक्षण र बुद्दको जन्मस्थलको बारेमा विश्वमा भएका दिग्भ्रम र गलत जानकारीलाई निस्तेज बनाउदै लैजान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्नु पर्ने कार्यहरुलाई उल्लेख गरिएको छ । प्रतिवेदनको पृष्ठ २६ मा धारा ७.१४ को चौथो बुंदामा लेखिएको छ, “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” बेलायतका राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयको पिस प्यालेसमा विश्वभरका ख्याति प्राप्त व्यक्तिहरुको पूर्ण तथा अर्धकदका सालिकहरु राखिएका छन् तर नेपालको तर्फबाट भने कसैको सालिक राखिएको छैन । यहाँ विश्वशान्तिका प्रतिमूर्ति विश्वविभूति महामानव गौतम बुद्धको सालिक नेपालको तर्फबाट राख्न पाँउनु नेपाल र नेपालीको लागि अति नै गौरवशाली सुयोग हुनेछ ।”

यस महत्वपूर्ण विषयलाई कार्यान्वयनको लागि “वृहत लुम्बिनी विकाश राष्ट्रिय निर्देशक समिति”का तर्फबाट समिति संयोजक प्रचण्डको निर्देशनमा तत्कालिन सभासद् केशव नेपाल र प्रचण्डका सहयोगी समीर दाहालले सरकारी निकायमार्फत गर्नुभएको सहयोगको अभियानका विश्व समिति सल्लाहकार प्रो. डा कविताराम श्रेष्ठले स्मरण गर्दै यस महान कार्यमा योगदान गर्नु हुने सबैलाई विर्सन नहुने कुरा बुद्ध प्रतिमा प्रतिस्थापन कार्यक्रम सम्पन्न हुनु अगावै मसंगको टेलिफोन कुराकानीमा बताउनु भएको थियो ।

नेपाल सरकारको क्रियाशीलता:

तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पिस प्यालेसमा बुद्ध प्रतिमा प्रतिस्थापनको विषयलाई महत्व दिएर कार्यान्वयनको लागि सक्रियता देखाए पनि तत्कालिन बेनेलक्सका लागि नेपाली राजदुतको भूमिका प्रभावकारी हुन नसकेका कारण यस विषयले अगाडि नै सार्थकता पाउँन नसकेको कुरा बेनेलक्सका लागि महामहिम राजदुत राममणि पोखरेलले संचार माध्यमलाई दिनुभएको अभिव्यक्तिले उजागर गरेको छ । महामहिम राजदूत पोखरेलका अनुसार, उहाँले अन्तर्राष्ट्रिय न्यायालयका रजिष्ट्रारसंग सम्पर्क गरि नेपाल सरकारको तर्फबाट बुद्धको प्रतिमा पिस प्यालेसमा स्थापनाको लागि अनुरोध गर्नु भए पछि न्यायालयका तर्फबाट प्रतिमा राख्न दिने स्वीकृति गत वैशाखमा प्राप्त भएको थियो । अभियानले गम्भीरताका साथ उठाएको विषयलाई सुरुमा सरकारी प्रयास र पछि गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको पनि सरकारसंग समन्वयकारी भूमिका रहेको देखियो र बुद्दको प्रतिमालाई खरिद गरेर पिस प्यालेसमा ल्याउनेसम्म कार्यमा गैर आवासिय नेपाली संघको आर्थिक र भौतिक सहयोगी भूमिका रह्यो ।

अभियानका वेलायत संयोजक तथा गैर आवासीय नेपाली संघ बेलायतका सल्लाहकार गैरआवासीय नेपाली सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा गैर आवासीय नेपाली संघले एउटा बुद्ध प्रतिमा प्रतिस्थापन समिति पनि गठन गरेको थियो ।

कार्यक्रमको तयारी र मेरा अनुभूति:

यस विषयलाई सामाजिक र संस्थागतरुपमा अगाडि बढाउने र कार्यान्वयनको लागि अग्रसरता लिने कार्य “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”को तर्फबाट सुरु भएको तर अभियानलाई कार्यक्रममा सहभागिताको लागि औंपचारिक प्रयास गर्न खासै जाँगर कतैबाट पनि नलगाएको देखे पछि अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ तथा विश्व समिति सल्लाहकार डा. कविताराम श्रेष्ठको सल्लाहअनुरुप अभियानको युरोप सल्लाहकार म पंक्तिकार दामोदरप्रसाद आचार्यले महामहिम राजदुत राममणि पोखरेलसंग भेट गरि अभियानको क्रियाकलापको विषयमा जानकारी दिलाउने कार्य गरेँ । उहाँसंगको कुराकानीको क्रममा, मैले यस महान कार्यमा योगदान गरेका सबैको कदर गरिनु पर्ने र कसैको पनि अवमुल्यन हुनु हुदैन भनेर आफ्नो विचार राखें । त्यसमा उहाँले सहमति जनाउनु भयो । मैले भेट गरेको केहि साता पछि कार्यक्रममा अभियानको तर्फबाट प्रतिनिधित्वको लागि मलाई प्रस्ताव गरिए अनुसार महामहिम राजदुत पोखरेलले यस पंक्तिकारको नाम पनि प्रतिनिधिको लिष्टमा समावेश गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय न्यायालयका तर्फबाट सोमवार, २४ जुन २०१३ का दिन दिउसो २.३० बजे प्रतिमा प्रतिस्थापनको औपचारिक कार्यक्रम तय भएको जानकारीका साथै प्रतिमा अनावरण गरिने मूख्य कार्यक्रमस्थलमा जम्मा १० जनाको प्रतिनिधिमण्डलले मात्र भित्र जान अनुमति पाँउने अन्तर्राष्ट्रिय न्यायालयको तर्फबाट तय भएको जानकारी मलाई राजदुत पोखरेलले टेलिफोनमार्फत दिनुभएको थियो । कार्यक्रममा अभियानको तर्फबाट मन्तव्यको लागि राजदुत पोखरेलसंग मैले जिज्ञासा राख्दा, अन्तर्राष्ट्रिय न्यायालयको मूख्य न्यायाधीश, त्यसैका एक अर्का न्यायाधीश र नेपाल सरकारका तर्फबाट प्रतिमा अनावरण गर्ने राजदुत पोखरेल समेत ३ जनाले मात्र वक्तब्य दिने व्यवस्था भएको जानकारी मलाई दिनुभएको थियो । उहाँले दिनुभएको जानकारीपछि अभियानको तर्फबाट त्यहाँ उपस्थित जनसमुदायलाई एउटा प्रेस विज्ञप्ति प्रदान गर्ने निर्णय भयो । सोहि तयारी गरेर यो पंक्तिकारसहित अभियानका बेल्जियम संयोजक सन्तोष न्यौपाने २४ जुन २०१३ को बिहान १० बजे नेदरल्याण्डको हेगतर्फ प्रस्थान गर्यौं । दिनको २ बज्नै लाग्दा हामी हेगको रेल्वे स्टेसनमा पुग्यौं । त्यहाँस्थित पत्रकार दिनेश खरेलले हामीलाई रिसिभ गर्नुभयो र ट्याक्सीद्वारा हामी ३ जना नै पिस प्यालेसतर्फ लाग्यौं । केहि बेरमा नै हामी पिस प्यालेसको मुख्य प्रवेशद्वारमा उत्रियौं, जहाँ महामहिम राजदुत राममणि पोखरेल, उहाँकी पत्नीलगायत राजदुतावासका कर्मचारीहरु र गैर आवासिय नेपाली संघका प्रतिनिधिहरुको अधिक उपस्थिति थियो । राजदुत पोखरेलले अगाडि १० जना प्रतिनिधिको लागि प्रवेशको अनुमति तय भए पनि २ जना थपेर १२ जना मात्र भित्र जान पाँउने तय भएको जानकारी दिनुभयो । मूख्य प्रवेशद्वारबाट भित्र जान लाग्दा राजदुत पोखरेलले उहाँकै मोटरमा बसेर संगै भित्र जान मलाई प्रस्ताव गर्नुभयो र त्यो स्वीकार गरि म उहांसंगै पिस प्यालेसको बुद्धको प्रतिमा राखिएको स्थानमा पुगेँ । अभियानका विश्व समिति सल्लाहकार प्रो. डा. कविताराम श्रेष्ठले कार्यक्रम पूर्व नै प्रतिमा अनावरण कार्यक्रमको पुरा भिडियो खिचेर ल्याउन मलाई अनुरोध गर्नु भए अनुसार म कार्यक्रमको मुख्य अनावरणको क्षणमा भिडियो खिच्ने तयारीमा लागेको थिएँ, लगत्तै कार्यक्रमस्थल पुरै गोडा टेक्न नै असहज हुने गरि मानिसहरुको भिडले भरियो । नेपालीहरुको लागि एउटा ऐतिहासिक सुखद अवसर भएको ठानेर त्यहाँ उपस्थित सबै नेपालीको लागि त्यहाँका प्रबन्धकले मूख्य कार्यक्रमस्थलमा जान खुल्ला गरिदिए छन् । जुन अत्यन्त खुशीको क्षण रह्यो ।

प्रतिमा अनावरण कार्यक्रममा अन्तर्राष्ट्रिय न्यायालयका १५ जना नै न्यायाधीशसमेत अगाडि उपस्थित हुने कार्यक्रम भए पनि भिडको कारण धेरै जसो न्यायाधीशले भिड छिचोलेर अगाडि जाने इच्छा गरेनन् र परैबाट “इट इज ओके” भनेको सुनियो । त्यहि भिडको बिचमा न्यायालयका मूख्य न्यायाधीश पिटर टोम्का, अन्य न्यायाधीशहरु र गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, संरक्षक उपेन्द्र महतो, लुम्बिनी-कपिलवस्तु दिवस अभियानको युरोप सल्लाहकार पंक्तिकार, प्रतिमा प्रतिस्थापन समितिका संयोजक सुरेन्द्र श्रेष्ठलगायत गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको उपस्थितिमा महामहिम राजदुत राममणि पोखरेलले २.५ फिट उचाईको “बुद्ध वाज बर्न इन ६२३ बि, सी, इन लुम्बिनी, नेपाल” लेखिएको बुद्धको प्रतिमाको सगौरव अनावरण गर्नुभयो ।

कार्यक्रममा राजदुत पोखरेलले “विश्वशान्तिका अग्रदुत भगवान गौतम बुद्धको प्रतिमा अन्तर्राष्ट्रिय न्यायालयमा स्थापना गर्न नेपाल सरकारले गरेको अनुरोधलाई स्वीकार गरेकोमा” नेपाल सरकारको तर्फबाट न्यायालयप्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।

मन्तव्यको क्रममा न्यायालयका मुख्य न्यायाधीश पिटर टोम्काले शान्तिका प्रतिमूर्ति बुद्धको प्रतिमा अन्तर्राष्ट्रिय न्यायालयलाई उपहार दिएको प्रति अत्यन्तै खुशी व्यक्त गर्दै नेपाल सरकार र नेपाली समुदाय डायस्पोराप्रति हार्दिक धन्यवाद दिदै भन्नुभयो- “बुद्द अन्तर्राष्ट्रिय कानुनका लागि श्रोत हुनुभएकोले यो विश्वशान्तिको लागि महत्वपुर्ण छ साथै शान्ति र न्याय दुवै एकै भएकोले पनि यहाँ यसको महत्व बढ्ता छ ।” साथै मन्तव्यका क्रममा अन्तर्राष्ट्रिय न्यायालयका तर्फबाट न्यायाधीश दलबीर भण्डारीले पनि बुद्दको जीवनीको विषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा राजदुत पोखरेल बाहेक अन्य नेपालीको तर्फबाट मन्तब्य राख्ने व्यवस्था नभएको जानकारी भए पनि त्यहाँ त्यसो हुन सकेन । गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले पनि मन्तव्य राख्न पाँउनु भयो । मन्तव्य राख्नु पाँउनु र नपाँउनु ठुलो विषय नहोला । भनिने एउटा तर गरिने अर्को संस्कारको चाही हामीले ख्याल राख्न पछि पर्नु हुदैन । आफ्नो मन्तव्यका क्रममा अध्यक्ष लामिछानेले “अन्तर्राष्ट्रिय न्यायालयमा बुद्धको प्रतिमा प्रतिस्थापन गर्न पाउनु सबै नेपालीको गर्वको विषय भएको र यस कार्यले बुद्धको जन्मस्थल सम्बन्धमा भैरहेका विवाद, भ्रम र दुष्प्रचारलाई निस्तेज बनाउदै अब यो विवाद टुंगिएको धारणा राख्नु भयो ।” जीवाजीले यसो भने पनि बुद्दको प्रतिमा अन्तर्राष्ट्रिय न्यायालयमा प्रतिस्थापन गर्दैमा यो विवाद अब टुंगियो भनेर हामीले बुझ्नु चाही उपयुक्त नहोला । सत्य के हो भने यस कार्यले बुद्दको जन्मस्थल सम्बन्धको विवादलाई न्यूनीकरण गर्न महत्वपूर्ण एउटा सफलता चाही हामीलाई मिलेको छ ।

अब कुटनीतिक प्रयासबाट नेपाल सरकारले हरेक मित्रराष्ट्रहरुसंग त्यस देशका पाठ्यपुस्तकमा रहेका बुद्दको जन्मस्थलको बारेमा भएका गलत जानकारीहरुको पहिचान गरि त्यसलाई मेटाउन र लुम्बिनीको विकाश र संरक्षणसंगै बुद्दको जन्मस्थल लुम्बिनी, नेपालमा भएको तथ्य सम्बन्धि सूचना दिने कार्यहरुलाई अगाडी बढाउनु आवस्यक छ ।

स्मरणीय छ, विश्वव्यापीरुपमा बुद्दको जन्मस्थल सम्बन्धि विवाद र दुष्प्रचारलाई चिरेर बुद्दको जन्मस्थल नेपालमा रहेको सत्यलाई नेपालीहरुको नसा नसामा प्रवाहित गर्न अग्रणी भूमिका खेलीरहेको र यो कार्य गर्न नेपाल सरकार र वृहत लुम्बिनी विकाश राष्ट्रिय निर्देशक समितिलाई सुरुमा नै प्रस्ताव गर्ने अभियानको नाम चाही राजदुत पोखरेलबाट छुट्न पुग्यो साथै अध्यक्ष लामिछानेले पनि अभियानको नाम लिनु भएन । वास्तवमा कार्यक्रमको दुखद पक्ष यो रह्यो ।

समारोहमा नेपाली राजदुतावासको तर्फबाट सबै उपस्थित महानुभावहरु र सर्वसाधारणलाई खुशियाली मनाउन चिसो पेय पदार्थको व्यवस्था भएको थियो । त्यहि बिचमा भिडमा एक अर्कामा ठक्कर लाग्न पुग्दा केहि सिसाका गिलासहरु फुटे । अर्कोतर्फ, समारोह समापन पछि त्यहाँका कर्मचारीले १२ जनाको प्रतिनिधिमंडललाई मात्र उक्त भवनभित्र रहेको पिस प्यालेस लाइब्रेरी, हेग एकेडेमी अफ इन्टरनेशनल ल र सबै न्यायाधीशहरु बस्ने इजलास कक्ष अवलोकन गराउदै त्यहाँ रहेका सामाग्रीहरुको विषयमा जानकारी दिदै गर्दा केहि प्रतिनिधिहरुले धैर्य र चाख दिनुको सट्टा सम्बन्धित विषयवस्तुको वेवास्ता गर्दै फरक विषयवस्तुका बारेमा एक आपसमा बोलेका विषयले हामीहरु कत्ति अनुशासित रहेछौं भन्ने विषयबाट पनि अन्तर्राष्ट्रिय न्यायालयका कर्मचारीहरु अनभिज्ञ रहेनन् । त्यस कार्यक्रमको टिठ लाग्दो विषय यहि रह्यो ।

अन्त्यमा, केहि प्राविधिक कमिकमजोरी रहे पनि सबैभन्दा मुख्य कुरा बुद्धलाई हेगको अन्तराष्ट्रिय न्यायालयको पिस प्यालेसमा स्थापित गर्नु थियो र बुद्ध नेपालको लुम्बिनी, कपिलवस्तुमा जन्मेका हुन् भनेर अन्तर्राष्ट्रिय समुदायलाई प्रमाण पुर्याउनु थियो । यो गौरवको कार्य गर्ने सम्बन्धित सबैलाई आभार व्यक्त गर्ने पर्दछ ।

१० जुलाई २०१३
लुभेन, बेल्जियम

(लेखक लुम्बिनी-कपिलवस्तु दिवस अभियानका युरोप सल्लाहकार हुन् ।)
ऐक्यबद्दता मासिकको श्रावण महिनाको अंकमा आवरण आलेखको रुपमा प्रकाशित ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: