Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध जन्मस्थानको दिग्भ्रम, राष्ट्रियता र लुक अभियान

Posted by Ram Kumar Shrestha on July 12, 2014

Hariडा. हरिकुमार श्रेष्ठ*
स्युचाटार २, काठमाडौँ

१. बुद्ध
Anton Fuhrer defined Ashokan Pillar in Lumbini as the marker where Buddha was born 200 yrs after Bhuddha's deathविश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक महामानव सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा शाक्य वंशीय पिता राजा शुद्धोधन र माता मायादेवीको कोखबाट ६२५ इशापूर्व भएको थियो । उनी राजपरिवारका राजकुमार भएर करिब २९ वर्ष कपिलवस्तु (तिलौराकोट) मा बिताएपछिका आफ्ना सम्पूण जीवन विश्व शान्तिको लागि अग्रदूत बनेर बिताए, जुन दिनप्रतिदिन विश्वव्यापी लोकप्रिय बन्दैछ ।

गौतम बुद्धले आफ्नो जीवनमा चार तीर्थस्थलहरूलाई विशेष महत्व दिएका छन् । पहिलो तीर्थस्थल बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो, जहाँ बैशाख पूर्णिमाको दिन बुद्धको जन्म भएको थियो । त्यसै दिनलाई विश्वभरका बौद्ध अनुयायीहरूले बुद्ध जयन्तिको रूपमा मनाउँदै आएका छन् । यो वर्ष २५५८ सौँ बुद्ध जयन्ति मनाईंदैछ । उनको दोस्रो स्थानमा उनले निर्वाण प्राप्त गरेको बोधगया, भारत हो । त्यहाँ उनले बैशाख पूर्णिमाकै दिन ३५ वर्षको उमेरमा निर्वाण प्राप्त गरे । तेस्रो स्थानमा सारनाथ पर्दछ, जहाँ उनले धर्मचक्र प्रवर्तन प्राप्त गरे । चौथो स्थानमा कुशीनगर पर्दछ । त्यहाँ उनले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरे ।

कपिलवस्तु जिल्ला गौतम बुद्धसँग सम्बन्धित १५१ भन्दा बढी ऐतिहासिक तथा पुरातात्विक महत्वका हिसाबले एक खुला संग्रहालय र विश्व शान्तिको एक केन्द्र विन्दु पनि हो । तर आज बुद्धको जन्मस्थान लुम्बिनीप्रति विश्वभरी भ्रम फैलाई राष्ट्रिताको सवाल चर्को रूपमा अगाडि आएको छ । यसो हुनुमा नेपाल स्वयंले यो अध्यात्मक र साँस्कृतिक सम्पदाले महत्वपूर्ण धरोहरको विकासमा उपेक्षा गर्दै उदासिन हुनु हो । जुन कुरामा हजारौँ व्यक्तिले सहमति जनाइसकेका छन् । त्यसैले यस लेखमा यससम्बन्धी उठेका महत्वपूर्ण दिग्भ्रम तथा सवालहरू, लुम्बिनी-कपिलवस्तु (लुक) अभियानको भूमिका तथा समाधानका उपायहरूको बारेमा छोँटो चर्चा गर्ने जमर्को गरिएको छ ।

२. विश्वव्यापी दिग्भ्रमको सूत्रपात
बुद्धको जन्मस्थान लुम्बिनी, नेपाल बौद्ध धर्मावलम्बीहरू तथा विश्वका लाखौँ पर्यटकहरूको लागि पनि एक महत्वपूर्ण केन्द्र भए तापनि शताब्दिऔँदेखि विश्वभरी नै यसबारे दिग्भ्रम फैलाइएको छ । जुन नेपाल र नेपालीको राष्ट्रियतासँग पनि सम्बन्धित सवाल हो । तर यस प्रकारको दिग्भ्रमको सूत्रपात कसरी भयो त भन्ने बारेमा जानकारी राख्न नितान्त आवस्यक छ । यसमा खासगरेर, सन् १३१२ तिर नालन्दालगायत अन्य धेरै महत्वपूर्ण तीर्थस्थलहरूमा मुस्लिमहरूको आक्रमणले लुम्बिनीमा बौद्ध भिक्षुहरूको आवागमनमा पनि प्रत्यक्ष असर प¥यो । यसको परिणामस्वरुप बुद्धको जन्मस्थलमा इ.पू. २४५ तिर खडा गरिएको अशोकस्तम्भ पनि नेपालकै कारणले ६ सय वर्षसम्म परित्यक्त अवस्थामा रह्यो । त्यसपछि सन् १८७४ मा वेलायती नागरिक विलियम जोन्सनले ऐतिहासिक सोसाइटी स्थापना गरी बुद्धको जन्मस्थानको खोजीलाई तीब्रता दिएको पाईन्छ । त्यसपछि सन् १८६२ मा स्थापित इन्स्पेक्टोरेट अफ आर्कियोलोजी संस्थाका प्रमुख अलेकजाण्डर कनिङ्घमले बौद्ध वाङ्मयको आधारमा बुद्ध जन्मेको स्थान हिमालको काखमा अवस्थित रहेको तथ्य पत्ता लगाएको कुरा जानकारीमा आयो । उनले यसबारेमा गहिरो अध्ययन गरी विश्वजगतमा जानकारी दिन नेपालका तत्कालिन राणा प्रशासनसँग स्वीकृति लिएर अध्ययन गर्ने चाहना राखे तापनि उनीहरूबाट सो स्वीकृति पाउन नसकि उक्त कार्य सन्चालन गर्न सकेनन् र उनले आफ्नो किताब “द एन्सिएन्ट जोग्राफी अफ ईण्डिया” मा “लुम्बिनी र कपिलवस्तु हिमालयको काखमा अवस्थित छ” भनेर मात्र उल्लेख गरे । यदि त्यस समयमा सो उत्खनन् कार्य सन्चालन गरेको भए अवस्य पनि उनले सो किताबमा स्पष्ठरूपमा उल्लेख गर्ने थिए होलान् कि बुद्धको जन्मस्थान लुम्बिनी नै हो भनेर र आजको यो दिग्भ्रम रहने थिएनजस्तो लाग्दछ । त्यसपछि, पछिल्लो चरणका विभिन्न पुरातत्वविदहरूले यो स्थान उत्तरी भारत (North India) को कुनै स्थानमा हुनसक्छ भनी अड्कलबाजी लगाउँदै आएकाले त्यसै समयदेखि यो दिग्भ्रमको सूत्रपात भई विश्वव्यापी बन्दै आयो । नेपाल सरकारले पनि यस विषयवस्तुलाई खासै चासो र महत्व दिएन र यो भ्रम विश्वव्यापी रूपमा स्थापित बन्न सहज भयो ।

पछि सन् १८९६ नोभेम्बरमा नेपालका तत्कालिन पाल्पाका वडाहाकिम जनरल खड्ग शम्शेरले उक्त अशोकस्तम्भ परित्यक्त अवस्थामा नै रहेको पत्ता लगाए । तर सो कुराको जानकारी पाएपछि त्यस समयमा भारतमा कार्यरत जर्मन पुरातत्वविद डा. एन्टोन फुहरर लुम्बिनी नेपाल आई अशोकस्तम्भमा लेखिएको लिपी अध्ययन गरी सोको आधारमा नै उक्त स्तम्भलाई गौतम बुद्धको वास्तविक जन्मस्थानको पुष्टि गर्ने स्मारक हो भनी विश्वव्यापी रूपमा प्रचार प्रसार कार्यको थालनी गरे । त्यो दिन डिसेम्बर १, १८९६ थियो । त्यसपछि पनि यो विषयवस्तु नेपाल सरकारको प्राथमिकतामा पर्न नसके तापनि विश्व प्रसिद्ध व्यक्तित्वहरू जस्तै संयुक्त राष्ट्रसंघको महासचिव ऊत्थान्तको सन् १९६७ मा लुम्बिनीमा भ्रमण भयो । त्यसपछि केहि परिवर्तनका रूपरेखा कोरिँदै केही सकारात्मक कार्यहरू हुन थाल्यो र सोहिअनुसार जापानको आर्किटेक्ट ईन्जिनियर प्रा. केन्जो टाँगेले लुम्बिनी विकासको गुरूयोजना तर्जुमा गरी नेपाल सरकारबाट सन् १९७८ मा स्वीकृति प्राप्त गरे र सन् १९८७ मा पूरा गर्ने लक्ष राखिएको थियो । तर आजसम्म पनि यो योजना पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा पनि यसको प्रचार प्रसार कार्य प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन र पहिला सृजित भ्रमहरूलाई चिर्न नसकि यो भ्रम विश्वव्यापी बन्दै गयो, जुन आजसम्म पनि यथावत नै छ । यो नेपाल सरकार र सम्बन्धित निकायको गैर जिम्मेवारीपनको पराकाष्टाले गर्दा भएको कुरा सर्वविदितै छ तापनि सरकार अझै मौन अवस्थामा छ भन्दा पनि अत्युक्ति नहोला ।

३. विश्वव्यापी मुख्य–मुख्य दिग्भ्रमहरू
सन् १९९६ मा युनेस्कोले बुद्धको जन्मस्थान लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखी सकेको भए तापनि लुम्बिनी र यससँग सम्बन्धित महत्वपूर्ण स्थानहरू आजसम्म पनि सरकारी ओझेलमै परेका छन् । अझ स्मरणीय कुरा त के छ भने खुला सीमानाको फाइदा उठाउँदै भारतबाट वर्षेनि लाखौँ पर्यटकहरू प्याकेजको रूपमा नेपालको लुम्बिनी भ्रमण गराइए तापनि न त तिनीहरूलाई बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा पर्दछ भनेर जानकारी दिईन्छ न त तिनीहरूबाट राज्यलाई कुनै लाभ नै । नेपाल घुमाएर पनि उनीहरूलाई त भारतमै घुमाईएको भन्ने भ्रम पारिन्छ ।

तात्कालिन सरकारहरू यसप्रति गम्भीर नभएकोले भारत, कोरिया, चीन, जापान, ताईवान, थाईल्याण्ड, बेल्जियम, डेनमार्क, स्वीडेन, अमेरिकालगायत विश्वका थुप्रै देशहरूमा शताब्दिऔँदेखि उनीहरूको पाठ्यपुस्तकमा बुद्धको जन्मस्थान उत्तर भारत भनी उल्लेख गरिएको पाईन्छ । त्यस्तै गरेर, यस्ता दिग्भ्रमहरू केही देशका म्युजियम, किताब तथा डकुमेन्ट्रीहरूमा पनि पाईन्छ । नेपालको त्रिभुवन विश्वविद्यालयको एमए दोस्रो वर्षको अंग्रेजी विषयमा पढाइने पाठ्यपुस्तक पनि यसको अपवाद रहन सकेको थिएन ।

बुद्ध वाङ्मयका विज्ञ एबं अभियानका सार्क सल्लाहकार केदार शाक्य थप्छन् कि बुद्ध लुम्बिनीमा जन्मिएका हुन भन्ने कुरामा संसारमा दिग्भ्रम छै्रन, तर विवाद त लुम्बिनी र कपिलवस्तु नेपाल कि भारतमा पर्दछ भन्नेमा हो । यसमा भारतीयहरूले पर्यटन प्रवद्र्धन गर्दा स्वार्थबस दिग्भ्रम फैलाएका हुन् । जुन कुरा अहिले पुष्टि भएको देखिन्छ । किनकि भारतको उत्तर प्रदेश सरकारले करिब एक दशकअघि लुम्बिनी कपिलवस्तु सीमामा जोडिएको जिल्लालाई विभाजन गरी सिद्धार्थनगर जिल्ला निर्माण गरेको छ । उक्त जिल्लाको सदसमुकामको रूपमा पिपरहवा भन्ने स्थानलाई हाल कपिलवस्तु चित्रित गर्दै केही वर्षदेखि अरबौँ रूपियाँ खर्च गरी नक्कली कपिलवस्तु निर्माण कार्यले अझै दिग्भ्रम छर्नसक्छ ।

त्यस्तै गरेर, राष्ट्रबैँकले निकालेको सय रुपियाँको नोटमा “लुम्बिनी बुद्धको पवित्र जन्मस्थान” मात्र उल्लेख गरिएको छ । झट्ट हेर्दा गजब छ कि सयको नोटमा लुम्बिनी र अशोकस्तम्भ । तर नेपाल शब्द राख्न कन्जुस्याईं गरिनुले चलखेल गर्ने मौका दिएको छ । यसरी लेखेर त जुन देशले पनि नोट निकाल्न सक्दछ । यदि यस्तै लेखेर भारतले नयाँ नोट निकालेमा के त्यसले नेपाल नै भनेर अङ्कित गर्दछ त ? यसले के देखाउँछ भने राष्ट्रियताको मामलामा हामी सम्बेदनशील छैनौँ, जसले सधै दिग्भ्रम पैदा गराउने काम गर्दछ ।

४. लुक अभियानको सूत्रपात
बुद्धको जन्मस्थलबारे विश्वव्यापी रूपमा सिर्जित दिग्भ्रमहरू निस्तेज पार्ने उद्देश्य बोकी विभिन्न देश छरिएर रहेका नेपालीहरूको स्वस्फूर्त पहलमा सूत्रपात भएको यस लुम्बिनी कपिलवस्तु दिवश अभियान (लुक अभियान) आफ्नो पाँचवर्षे कार्यकाल सम्पन्न गरिराखेको छ । प्रारम्भमा, सेप्टेम्बर ५, २००९ मा शम्भु कट्टेल, युएसएबाट प्रस्ताव भएअनुसार भानु शर्मा–क्यानाडा, रामकुमार श्रेष्ठ–युके (हाल अस्ट्रेलिया ) र डा. हरिकुमार श्रेष्ठ–ताईवान सम्मिलित तीन सदस्यीय कोर कमिटिको गठन गरी तमाम् अभियन्ताहरूको पहल तथा सहयोगमा लुम्बिनीसम्बन्धी विभिन्न विषयमा तथ्याङ्क सङ्कलन तथा अध्ययन अनुसन्धान कार्यक्रम सन्चालन गरियो । तत् पश्चात्, बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्ने सबभन्दा राम्रो प्रमाण अशोकस्तम्भलाई डिसेम्बर १, १८९६ मा जर्मन पूरातत्वविद् अन्टोन फुहरर्ले विश्वसामु प्रचार प्रसार कार्यको थालनी गरेको दिन भएकोले सो दिनलाई कपिलवस्तु दिवस मनाउने कार्यको थालनी डिसेम्बर १, २००९ बाट शुभारम्भ गरी सन् २०१३ मा पाँचौ दिवश मनाईएको छ । धेरै शुभचिन्तकहरूको राय, सल्लाह र सुझावअनुसार अभियानको तेस्रो वार्षिकोत्सव मनाउने सिलसिलामा अभियानको पुनः नामाकरण गरी लुम्बिनी कपिलवस्तु दिवश अभियान राखियो ।

यस अभियानको अभिभारा दिनानुदिन बढ्दै गएकोले छोंटो समयमा नै कोर कमिटिबाट विश्व कमिटि गठन गर्ने निर्णय पश्चात सन् २०१० मा दुई चरणमा गरेर ई. रामकुमार श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय विश्व कार्य समिति गठन गरियो । जसमा विभिन्न राजनीतिक दलका व्यक्तित्व, सम्बन्धित विषय तथा क्षेत्रका विज्ञहरूलाई सल्लाहकारको रूपमा चयन गरिएको छ । त्यसपछि, हालसम्म विश्वका करिव १९ देशहरू, जस्तै स्पेन, बेल्जियम, बेलायत, क्यानाडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल, अष्टे«लिया, मलेशिया, कम्बोडिया, भियतनाम, नेदरल्याण्ड, नर्वे र स्वीडेनमा यसका राष्ट्रिय समितिहरू, तीन देशमा स्टेटस्तरीय, स्कटल्याण्ड र मेलबर्नमा विश्वविद्यालयहरूमा, नेपालमा पत्रकार र पर्यटन व्यवसायीहरूको र लुम्बिनीमा स्थानीयस्तरमा समितिहरू गठन भइ आफ्ना गतिविधिहरू नियमित रूपमा सन्चालन गर्दै आएका छन् । त्यस्तै गरेर, गैर आवासीय नेपाली संघसँग पनि संयुक्त रूपमा लुम्बिनी प्रबद्र्धन अन्तर्राष्ट्रिय समिति पनि गठन भएको छ । अभियानले यसको स्थापनाकालदेखि नै निकै नै महत्वपूर्ण कामहरू पनि गर्दै आई बुद्धको जन्मस्थानको बारेमा परेको दिग्भ्रम हटाउन गरेका पहलहरू तथा यसका उपलब्धिहरू छोँटकरीमा यस प्रकार प्रस्तुत गरिएको छ ।

५. लुक अभियानले दिग्भ्रम चिर्न गरेका पहलहरू तथा यसका उपलब्धिहरू
लुक अभियान (https://worldamity.wordpress.com/) ले यसको स्थापनाकालदेखि नै निकै नै महत्वपूर्ण कामहरू पनि गर्दै आई बुद्धको जन्मस्थानको बारेमा परेको दिग्भ्रम हटाउन गरेका पहलहरू गरी केही महत्वपूर्ण उपलब्धिहरू पनि हासिल गरेको छ, जुन छोँटकरीमा यस प्रकार प्रस्तुत गरिएको छ ।

  • प्रत्येक वर्ष डिसेम्बर १, २००९ देखि करिब १९ देशमा यस अभियानले वार्षिक दिवसको रूपमा लुम्बिनी कपिलवस्तु दिवस मनाउँदै बुद्धको जन्मस्थान लुम्बिनी, नेपालको व्यापक रूपमा प्रचार प्रसार गरी जनचेतनामूलका कार्यहरू गर्दै आएको छ ।
  • गुगल म्यापमा बुद्धको जन्मस्थान भारत भनी उल्लेख भएकोमा अभियानले भारतको ठाउँमा नेपाल राखी सच्याउन लगाई पहिलो ऐतिहासिक सफलता हाता लगाएको थियो ।
  • फेसबुकको सदुपयोग गरी विश्वव्यापी दिग्भ्रम हटाउन १५० मिलियन मानिसको बीच आफ्ना सामग्रीहरू लैजाने पिविएस, अन्तर्राष्ट्रिय पत्रिका न्युजविकका प्रधान सम्पादक, ‘द पोष्ट अमेरिकन वल्र्ड’ को लेखक एवम् सिएनएन को कार्यक्रम प्रस्तोता फारिद जाकिराले दिएको गलत जानाकारी सच्याउन दबाब दिइएको ।
  • बुद्धको जन्मस्थानसम्बन्धी विश्वव्यापी रूपमा भएको दिग्भ्रम चिर्नको लागि सरकारी तवरबाट पहल गरी समाधानको लागि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई अगस्त १२, २०१० मा अभियानको तर्फबाट पूर्वमन्त्री द्वय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा. आरजू देउवा राणा, प्रो.डा. कविताराम श्रेष्ठ र अभियानका केही सदस्यहरूसहितका प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको । त्यस्तै गरेर, तत्कालिन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलगायत परराष्ट्र मन्त्रालयमा पनि पत्र पठाई विश्वव्यापी दिग्भ्रम सच्याउन कुटनीतिक पहल गरी समाधान गर्न अनुरोध गरिएको । तर हालसम्म केही प्रगति भएको छैन । तर हालसम्म पनि सरकारी पक्षबाट कुटनीतिक पहल भएको छैन ।
  • नेपालको त्रिभुवन विश्वविद्यालयको स्नातक तहको दोस्रो वर्षमा अध्यापन गराइने “म्यचभल ऋजबचभिक ख्बल” द्वारा लिखित Doren Charles Van द्धारा लिखित  “A History of Knowledge नामक अंग्रेजी पाठ्यपुस्तकमा ‘बुद्ध उत्तरी भारतमा जन्मिएको एउटा राजकुमार थिए’ भन्ने कुरा पढाइने गरिएको तथ्य प्राप्त भएपछि उक्त पुस्तक पाठ्यपुस्तकबाट अविलम्ब हटाउनको लागि अभियानले फेब्रुअरी २, २०१२ मा त्यहाँको कूलपतिसमक्ष ज्ञापनपत्र बुझाएको थियो । स्मरणमा रहोस् त्यतिखेरसम्म त्यो पुस्तक सन् १९९९ देखि २०१० सम्म करिव ११ वर्ष पढाइ सकिएको थियो । हाल उक्त पुस्तक पढाईएको छैन भन्ने सुनिएको छ तर उक्त स्थानमा गएर बुझ्न कार्यमा कमी भएको छ ।
  • लुम्बिनीमा नेपाल चिनाउने कुनै सामग्री नभएकोले स्कूलका विद्यार्थीहरूको पहलमा आफ्नो खाजाखर्चबाट रू. १ कटाई लुम्बिनीमा गेट निर्माणको लागि पहलकदमी शुरु गरिएको र लुम्बिनीको प्रवेशद्वार ६ मा “ध्भअियmभ तय ल्भउब,ि तजभ द्यष्चतजउबिअभ या द्यगममजब” लेखिएको व्यानर फेब्रुअरी २३, २०१२ मा टाँगिएको थियो । यसको नेतृत्व विद्यार्थी दूत किशोर कुईँकेलबाट भएको थियो । यसको सहयोगार्थ अष्ट्रेलिया र युकेका विद्यार्थीहरूले पनि ऐक्यबद्धता प्रकट गरिसकेका छन् ।
  • दक्षिण कोरियामा त्यहाँका तत्कालीन नेपाली राजदूत कमल कोईरालाले डिसेम्बर १९, २०१२ मा त्यहाँका राष्ट्रपति ‘ली म्यङ् वाक’समक्ष त्यस देशको पाठ्यपुस्तकमा पनि बुद्धको जन्मस्थान नेपालको सट्ठा भारत भनी उल्लेख भएकोले उक्त त्रुटी सच्याई भारतको ठाउँमा नेपाल भनेर उल्लेख गर्नको लागि चार पेज लामो पत्र लेखी पठाइए पश्चात कोरिया सरकारले त्यहाँको दिग्भ्रमहरू हटाउने निर्णय गरी संशोधन गरिसकेको छ ।
  • नोभेम्बर ७, २०११ मा ब्रिटिस म्युजियमले अभियानका करिव ११०० अभियन्ताहरूको पृष्टपोषण तथा राय सुझावको आधारमा आफ्नो कमजोरी सुधार गरी “The Life of Buddha” मा “North East India” को ठाउँमा “Lumbini Nepal” राखिसकेको छ । यसले गर्दा विश्वका धेरै मानिसहरूले त्यहाँबाट पनि सहि जानकारी लिन थालेका छन् ।
  • संयुक्त राष्ट्रसंघको नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालयमा पनि बुद्धको मूर्ति स्थापना गरी बुद्धको जन्मस्थान लुम्बिनी नेपाल भनी स्थापित गरिसकेको छ । यसले गर्दा विश्व जनमानसमा निकै नै प्रभाव परिरहेको छ ।
  • नेपालमा, सन् २०११ र २०१३ मा गरी क्रमशः अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरको गोष्ठिहरू सन्चालन गरिएको थियो । सन् २०११ मा नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा बृहद लुम्बिनी विकास निर्देशक समितिका अध्यक्ष श्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा “लुम्बिनी विकास: सम्भावना र चुनौतिहरू” विषयक अन्तरक्रिया कार्यक्रम सन्चालन गरेको थियो । त्यस्तै गरेर, सन् २०१३ मा “बुद्धको जन्मस्थान लुम्बिनीको दिग्भ्रम: समाधानका उपाय तथा प्रयासहरू” विषयक अन्तरक्रिया कार्यक्रम तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री श्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सन्चालन गरेको थियो । यसमा नेपालका सम्बन्धित सरकारी सयन्त्रहरूलाई पनि आमन्त्रित तथा सहभागिता गराईंदै आएकोले हिजोआज सरकारी क्षेत्रले पनि हल्का चासो देखाउन थालेका छन् । यदि सरकारी संयन्त्रले कुटनीतिक तवरबाट समाधानको लागि पहल गरेमा विश्वव्यापी रूपमा फैलिएको यस्तो भ्रम चिर्न छिटो हुने अपेक्षा पनि गरिएको छ ।
  • पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष अभियानले तेस्रो लुम्बिनी कपिलवस्तु दिवशको उपलक्षमा तयार पारिएको अन्तरक्रिया गोष्ठिको प्रतिवेदन कार्यान्वयनको लागि पेश गरिएको । त्यस्तै गरेर, सिड्नी, अष्ट्रेलियामा जानुहुँदा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठलगायत अभियन्ताहरूले लुम्बिनी विकासको अन्तर्राष्ट्रिय समितिको संयोजक बस्न राजी हुनुभएका वान्की मुनलाई संयोजक बनाई लुम्बिनी विकासमा जोड दिन मार्च २८, २०१३ मा डा. भट्टराईमार्फत बृहद लुम्बिनी विकास निर्देशक समितिका सँयोजक पुष्पकमल दाहालसमक्ष पत्र पठाइएको ।
  • बुद्ध जयन्तिलाई अभियानले विभिन्न देशहरूमा एक पहत्वपूर्ण दिवशको रूपमा मनाउँदै आईएको छ ।
  • अष्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री जुलिया गिलार्डलाई बुद्ध नेपालमा जन्मनुभएकोले नेपालीका तर्फबाट अष्ट्रेलियाले गरेको भौतिक विकास तथा शान्ति प्राप्तिको लागि कामनासहित बुद्धको मुर्ति उपहार दिइएको ।
  • युरोपेली मुलुक स्वीडेनमा बुद्धको जन्मस्थान लुम्बिनी, नेपालमा भएको तथ्य विपरित गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन अभियानको तर्फबाट युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, बेल्जियम संयोजक सन्तोष न्यौपाने तथा साहित्यकार तथा बेल्जियम सदस्य बिमल गिरीसहितको तीन सदस्यीय टोलीबाट कुटनीतिक प्रयासको लागि ब्रुसेल्सस्थित नेपाली राजदूत राममणि पोख्रेलको कार्यकक्षमा एक औपचारिक कार्यक्रमको सुरुवात भइ गरिएको पहल पनि निर्णायक मोडमा पुगेको छ । (सच्याउने काम भैसकेको र समाचार प्रकाशमा आइसकेको )
  • त्यस्तै गरेर, विश्वको झण्डै २० प्रतिशत जनसंख्या ओगटेको चीनमा पनि यस्तो दिग्भ्रम हटाउने पहल सुरु भइसकेको छ भने जापानमा पनि यसको पहल सुरु हुँदैछ । यस्तो कार्यलाई प्राथमिकतामा राखेर अभियान अगाडि बढाउनको लागि चीनका लागि राजदूतको रूपमा काम गरिसक्नु भएका टङ्क कार्कीको पनि अभियानमा सहभागिताले यस कुरा पनि सार्थकता पाउने अभियान आशावादी छ ।
  • विश्वव्यापी दिग्भ्रम निस्तेज पार्नको लागि अभियानको सहयोगमा गत वर्ष अस्ट्रेलियाको मेलवर्नमा नेपाली सन्चार रेडियो र टि.भि. ले २४ घण्टे कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको र यस वर्षको २५५८ औँ बुद्ध जयन्तिको अवसरमा लुम्बिनी र बुद्धसम्बन्धी प्रश्नमा सम्बद्ध विभिन्न पार्टि नेता, कुटनितिक नियोगका प्रमुख, बुद्धिजीवि, पत्रकार, कलाकार, विदेशीहरूसँग छलफल चलाइनेछ । यसको लागि विभिन्न एफएमहरूले ऐक्यवद्धता प्रकट गरिसकेका छन् ।
  • यस अभियानले लुम्बिनी, कपिलवस्तु, बुद्ध र अभियानको लागि उल्लेखनीय योगदान पु¥याउनु भएका दर्जनौ व्यक्तित्वहरूलाई सम्मान पनि गरिसकेको छ ।

६. निष्कर्श तथा सुझावहरू
निष्कर्श
बुद्धको जन्मस्थान लुम्बिनी, नेपालको बारेमा युनस्कोले विश्व सम्पदा सूचीमा राखी प्रमाणित गर्नुको साथै विभिन्न चरणको उत्खनन् कार्यहरूले पनि यसको थप प्रमाणित गरिसकेको छ । यसको अलावा, जापानले पनि युनेस्कोमार्फत पाँच वर्षे परियोजना सुरू गरेको हो भने प्रो. केन्जो टाँगे र प्रो. क्याकले लुम्बिनीको गुरुयोजना तयार पारी कार्यान्वयनका लागि ल्याएका हुन् । तर पनि बिगत सयौँवर्षदेखि परित्यक्त अवस्थामा रहेको र भारतको पर्यटकीय स्वार्थ तथा नेपाल सरकारको मौनताको कारण न त यसको प्रभावकारी विकास हुनसक्यो, न त प्रचार प्रसार नै । सरकारी तथ्यबाट कुटनीतिक पहल गरी समस्या समाधान गर्न त्यति समय नलाग्ने कुरा त कोरियाका लागि तत्कालीन राजदूत कमल कोईरालाले प्रमाणित गरेर देखाइदिनु भएको छ । तर पनि नेपाल सरकारले यसबारे हालसम्म कुनै साँेचाई वा ठोस कदम चाल्न सकेको छैन । त्यसैले बुद्धको जन्म भारतमा नै भएको भन्ने सयौँ वर्ष पहिला छरिएको दिग्भ्रम मौलिँदै गएको छ ।

खास गरेर, विभिन्न देशको पाठ्यपुस्तकहरू, ठूलाठूला संग्रहालयहरू, प्रभावशाली अन्तर्राष्ट्रिय संस्थाहरू तथा पत्रिकाहरू, चलचित्र, डकुमेन्ट्री, पुस्तक, नक्कली लुम्बिनी र कपिलवस्तु, इ. मार्फत दिग्भ्रम बनाउने काम भएको छ यसले नेपालको राष्ट्रियतालाई कमजोर बनाउनुको साथै बुद्धको जन्मस्थानको दर्शन गर्न चाहनेको लागि नक्कली लुम्बिनी पुग्ने र पु¥याईने काम गरिनुले मानवअधिकार हनन् पनि गरेका छन् । यसको अलावा उत्खनन् गरिएका पुरातात्विक प्रमाणहरूसमेत लगातार चोरी निकासी हुनु, उत्खनन् कार्यमा बाधा अड्चन खडा गरिनु, ऐतिहासिक स्थलमा संरक्षणको अभावमा गाईभैँसी चरनमा बदलिनु, भेटिएका ऐतिहासिक महत्वका प्रमाणहरू पनि अलपत्र पर्नु, परीक्षणको लागि विदेश पठाईएका वस्तुहरू ५० वर्ष वित्दा पनि फिर्ता नगरिनु, लुम्बिनी क्षेत्रलाई अतिक्रमण गरिनुजस्ता विषयवस्तुहरू यो क्षेत्रको उपेक्षाका प्रमाणहरू हुन् ।

अभियानको कार्य सहजरूपमा अगाडि बढ्दै गएमा आगामी १० वर्ष भित्रमा विश्वव्यापी रूपमा फैलिएको दिग्भ्रम चिर्न सकिन्छ भन्नेमा यो अभियानका अभियन्ताहरू विश्वस्त छन् । यसको लागि अभियानले थालेको पहलकदमीमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण क्षेत्रका नेपाली, र नेपालको शुभचिन्तकहरूले आफू एक कदम अगाडि उठि सकेको सहयोग गर्नु आवस्यक छ ।

सुझावहरू

  • लुम्बिनीसम्बन्धी दिग्भ्रम हटाउनको लागि यस अभियानले धेरै नै प्रयासहरू गरेको छ । यसको लागि अभियानले सन् २०१२ मा सरकारसमक्ष पेश गरेको प्रतिवेदन मात्र पनि कार्यान्वयनमा ल्याउँदा सहज रूपमा धेरै कुराहरू समाधान हुने देखिन्छ ।
  • सम्पदास्थल अतिक्रमण चर्को भएकोले रोक्नको लागि लुम्बिनी कपिलवस्तुको सीमाक्षेत्र एकिन गरी सुरक्षा गर्नुको साथै उत्खनन् कार्यहरूलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनु अति आवस्यक छ ।
  • लुम्बिनी विकास कोषको भूमिकामा परिमार्जन गरी कोषमा राजनीतिक नियुक्तिभन्दा पनि विज्ञता वा सम्बन्धित क्षेत्रमा योगदानको आधारमा चयन गर्ने,
  • सन् १९६५ मा भारतीय पूरातत्वविद देवला मित्रालाई २ ट्रक सामग्री कार्बन परीक्षणको लागि भारत पठाईएकोमा हालसम्म पनि फिर्ता नआएको जानकारी पाइएकोले त्यसको खोजीनीति गरी अविलम्ब फिर्ता गरिनुपर्दछ,
  • विश्वव्यापी रहेको दिग्भ्रण चिर्न सरकारले यथासक्य चाँडो कुटनीतिक पहल गर्नुपर्ने,
  • लुम्बिनीको प्रचार प्रसारमा विशेष जोड दिनुको साथै लुम्बिनीको बृहत्तर विकासमा जोड दिने,
  • अन्तर्राष्ट्रिय विमानस्थललगायत प्रत्येक घरेलु विमानस्थलमा बुद्धको विशाल मूर्ति स्थापना गरी बुद्धको जन्मदेश नेपालमा स्वागत गर्ने खालको सन्देश दिने । पर्यटकलाई विमानस्थलमा ओर्लने बित्तिकै लुम्बिनीसम्बन्धी जानकारीमूलक प्याकेज दिने,
  • विभिन्न देशका व्यक्तिहरू जस्तै अमेरिकाका राष्ट्रपति बाराक ओबामा, भारतका बहुप्रतिभाशाली चलचित्र कलाकार अमिताभ बच्चन, योग गुरु रामदेव नेपाल आउँदा, काठमाडौँको भारतीय दुतावास र भारतकी सुजाता सिँहजस्ता व्यक्तिहरूले पनि बुद्धको जन्मस्थान नेपालको लुम्बिनी भनेका छन् । तर उनीहरूकै देशमा यो दिग्भ्रम यथावत भएकोले उनीहरूले पनि आफ्नो बोलीलाई कार्यान्वयनमा ल्याउनुपर्दछ ।

* लेखक लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व कार्य समितिका सचिबालय सदस्य एबं नेपाल/सार्क च्याप्टरका संयोजक हुन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: