समा श्री (राउत): वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु
Posted by Ram Kumar Shrestha on December 8, 2014
[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]
[ कवियत्रीको परिचय: समा श्री (राउत) प्रकासित कृति : वंशलोचना कविता संग्रह । जन्मस्थान : बालाजु १६ ,काठमाडौं । घर :चाबहिल काठमाडौं, हाल बातयाम इस्राईल ]
एक दूरको अतिथि
एक दूरको परदेशी
मेरो माटोमा आएर बुद्ध खोज्दा
यो बुद्ध जन्मेको देश हो भन्दा
आवाज किन काँप्छन् ?
परदेशी किन मुस्कुराउँछ ?
म आफै किन अलमलिन्छु ?
हो मैले सत्य बोल्दा
मेरा स्वर थर्थराउछन्
अस्तित्व काँप्छन्
शरीर धर्मराउँछन्
उसले हेर्न खोजेको बुद्ध
मैले देखाउन खोजेको बुद्ध
मेरा सासमा किन हुँदैनन ?
निसानी गुमेकोमा अताल्लिएर
पहिचान हराएकोमा छटपटाएर ,
किन खोज्नुपर्छ
ऊ सँगसँगै
मैले पनि बुद्ध
बुद्ध कहाँ छैन ?
हामी बुद्धका धनी छौँ
मस्तिष्कले भन्छ
बुद्ध बाटोबाटोका चैत्यमा छ
बुद्ध पोष्टकार्डमा छापिएको छ
बुद्ध घरमा झुण्डिने क्यालेण्डरमा छ
तर उसले जस्तै
मेरा आँखाले पनि देखेका बुद्ध
मनले मान्न किन तयार छैन
ती बुद्ध निश्तेज छन् हिंसाले छोपेर
ती बुद्ध फुंङ्ग उडेका छन् बारुदका धुँवाले
ती बुद्ध हिउँझैँ जमेका छन् सत्य मरेर
यी यावत बुद्ध
उसले चाहेको बुद्ध होइन
मेरो आफ्नो बुद्ध होइन्
होइन्
यो हाम्रो बुद्ध हुँदै होइन
मैले फेरि खोज्नुपर्छ
उसँगै
मेरो बुद्ध
बुद्ध कहाँ छ ?
नेपालग्रामका हरेक बटुवालाई
छातीतिर हेरेर सोद्धा
ऊ शिरतिर इसारा गर्छ
प्रस्तर बुद्ध देखाउँछ
हतास म बुद्ध खोज्दै
हरेक छाती चाहार्छु
हरेक आँसु निहार्छु
र बुद्ध नपाउँदा
गुहार माग्दै
रुन्छु, कराउँछु छटपटाउँछु
बुद्ध मेरो रोइकराइमा झुल्किदैनन्
बुद्ध मेरो छटपछिमा देखिँदैनन्
बुद्ध मेरो गुहारमा गुञ्जिदैनन्
मेरो हालतमा
युद्धबाट बुद्ध जन्माउन खोज्ने जमात
तिरस्कारका हाँसो हाँस्छन्
तर बुद्ध
ती तिरस्कारमा पनि थिएन
ती हाँसोमा पनि थिएन
मेरो बुद्ध कतै थिएन
के बुद्ध भन्तेले भनेझैँ
त्रिपिटककै बुद्ध हो ?
के गुम्बा भित्रको धुप बत्तीको मुस्लो र
मन्त्रमा गुञ्जिने बुद्ध नै बुद्ध हो ?
महायानको गुफामा कैद
हिनयानको खोरमा जाकिएको
बज्रयानको जंजिरमा जेलिएको
बुद्ध नै बुद्ध हो ?
मन भटएिको छ
मस्तिष्क बहुलाएकोछ
हरेक हृदय चाहार्दै
खोजयात्रा जारी छ
शुद्ध बुद्धको
स्वतन्त्र बुद्धको ||
Leave a Reply