राष्ट्रिय बिपत्तिका कारण आपतकालिन बैठद्धारा अन्तराष्ट्रिय कन्फेरेन्स पछि गर्ने निर्णय
Posted by Ram Kumar Shrestha on April 25, 2015
१२ वैशाख, २०७२: लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अन्तराष्ट्रिय कन्फेरेन्स मूल आयोजक समितिको आज बसेको आपतकालिन बैठकले आगामी बुद्ध जयन्तीमा बेल्जियममा गर्न गैरहेको अन्तराष्ट्रिय कन्फेरेन्स देशमा गएको विनाशकारी भूकम्पका कारण हाललाई स्थगित गरी अभियानको आगामी बार्षिकीको समय पर्ने गरी नोभेम्बर ३० र डिसेम्बर १ मा गर्ने निर्णय गरेको छ । निमेषभरमा राष्ट्रिय पहिचान बोकेका अधिकांश ऐतिहासिक धरोहरहरु ध्वस्त हुने र केही घण्टाभित्रै झन्डै ९ सयको ज्यान जाने गरी अनायाश सामना गर्न परेको यो भयाबह राष्ट्रिय बिपत्तिका कारण लिन परेको यो निर्णयले गर्दा सम्बन्धित सम्पूर्ण ब्यक्ति र संस्थासंग उहाँहरुको असुबिधाको लागि अभियान क्षमा याचना गर्दछ ।
आज गएको यो बिनाशकारी भूकम्पका कारण केही घण्टाभित्रै काठमाडौं उपत्यकामात्र मात्रै करीव ९ सय जनाले ज्यान गुमाएको छ भने सांस्कृतिक नगरिका रुपमा परिचित काठमाडौं उपत्यकाका प्रायः सबै ऐतिहासिक धार्मिक सम्पदाहरु क्षतिग्रस्त भएका छन । भीमसेन थापाले राजधानीको मुटुमा बनाएको धरहरा पूर्ण रुपमा ध्वस्त भएको छ र एउटा इतिहासको अवसान भएको छ । विक्रम संवत १८८२ मा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले ललित त्रिपुरा सुन्दरीको स्मृतिमा यो धरहरा बनाएका थिए । एक सय ९० वर्षअघि बनेको यो धरहरा १९९० सालको महाभूकम्पले क्षतिग्रस्त बनाएपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले पुनिनिर्माण गराएका थिए । अब धरहरा इतिहासमा सिमित भएको छ ।
नेपालको आधुनिक इतिहासको जीवित साक्षी करीव ३ सय वर्ष पूरानेा बसन्तुपुर दरवार क्षेत्र भूकम्पका कारण भग्नावशेषमा परिणत भएको छ । बसन्तुपुर दरवार अगाडि दुई ऐतिहासिक मन्दिर भत्किएर ध्वस्त भएका छन् । त्यस्तै ऐतिहासिक पाटनको कृष्ण मन्दिर पनि क्षतिग्रस्त भएको छ भने भक्तपूरको चाँगुनारायण मन्दिर पनि क्षतिग्रस्त भएको छ । भक्तपूरकै न्यातपोल दरवार पनि क्षति भएको छ ।
सिर्जित यस्तो भयाबह आपतकालिन अवस्थामा विश्वको कुनै पनि भू-भागमा रहने नेपाली मर्माहत नभैरहन सक्तैन र देशले भोगेको यो असह्य पीडामा साथ दिंदै र धैर्यतापूर्बक उद्धार, सहयोग र पुन: निर्माणमा आ-आफ्नो क्षमता अनुरुप एकताबद्ध भएर जुट्नु पर्ने भएको छ । यस घडीमा दिबंगत हुनु भएका संपूर्ण मृतात्माप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै आ-आफ्नो क्षेत्र र स्तरबाट आबस्यकीय उद्धार, सहयोग र पुन: निर्माण कार्यमा जुट्न सबैमा प्रेरणा मिलोस भनी शुभेच्छा ब्यक्त गर्दछु ।
रामकुमार श्रेष्ठ
लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक
Leave a Reply