Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

वुद्ध जयन्ती सन्दर्भमा केदार शाक्यसंगको अन्तर्वार्ता

Posted by Ram Kumar Shrestha on May 17, 2017

[ २६४१ औं वुद्ध जयन्तीका सन्दर्भमा अन्तर्वार्ता दिनु हुने केदार शाक्य गोर्खापत्रका पूर्व संपादक, लुम्बिनी बिस्वबिध्यालयका पूर्व रजिस्टार एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सार्क सल्लाहकार हुनुहुन्छ । ]

बुद्धजयन्ती मनाउने प्रचलन सम्बन्धमा प्रकाश पारीदिनु हुन्थ्यो कि त?

Kedar Shakyaवैशाखपूर्णिमा,बुद्धपुर्णिमा,स्वायाँपुन्हि The Full moon day आदि बिभिन्न नामलेBJ संसारका थुप्रै मुलुकमा बुद्धजन्मोत्सव,बुद्धजयन्ती र महापरिनिर्वाण दिवसलाई जनाउने गरेको छ । इतिहासको कालखण्डमा प्राचीन कपिलबस्तु र कोलीयगणराज्यको बीचभागमा पर्ने लुम्बिनी शालोद्यान थियो । दुबै गणराज्यको कृडास्थल पनि थियो । वैशाख महिनाको अत्यन्त रमणीय फूलैफूलको मनमोहक वातावरण थियो । कपिलबस्तुबाट माइतीघरतर्फ लागिरहेकी गर्भवती रानी महामायादेवीलाई लुम्बिनी वनमा आइपुगेपछि एकछिन् आरामगर्ने इच्छा भयो । त्यहीबेला सिद्धार्थ कुमारको जन्मभयो । पहिलो पटक कपिलबस्तुबासी र कोलीयगणराज्यका देवदहबासीहरुले सिद्धार्थको शुभजन्मोत्सव मनाए । राजा शुद्धोदनले साँस्कृतिक महाउत्सव प्रदर्शन गरे । नरसिंहा र धिमेवाजा बजाएर परपरसम्म मंगलध्वनिको उद्घोषगर्दै हर्साेल्लासपूर्बक महामायादेवी र नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलबस्तुमा आगमनपछि महाउत्सव मनाइयो ।

बौद्धवांगमय अनुसार सिद्धार्थ जन्मदा लुम्बिनीमा घुँडासम्म सेतामन्दार फूलफुलिरहेको थियो । आकाशबाट पुष्पबृष्टि भइरहेको थियो । हल्काभूकम्पन भएको थियो । सिमसिम पानी परिरहेको थियो । मन्दगतिमा सितल हावा चलिरहेको थियो । प्राकृतिक वातावरण अत्यन्त मनमोहक थियो । आकाशमा पन्छीहरु खुशीले नाचीरहेका थिए । वोधिसत्वको जन्महुँदा यसकिसिमको घटनाहुने कुरा उल्लेख छ ।

राजकुमार सिद्धार्थको जन्मको समयमा यस्ता केही अद्भुत घटनाहरु भएको कुरा ललितविस्तरमा उल्लेख छ ।
सामान्य मानिसको जन्महुँदा आमाको गर्भबाट पहिले शिर बाहिर निस्कन्छ । सिद्धार्थ जन्मदा पहिले दुबै पाउ यो संसारमा परेको थियो । जन्मनासाथ सातपाइला हिंडेर माइली औंला उठाएर म बुद्ध बन्छु भन्ने उद्घोष भएको थियो । सिद्धार्थको पवित्रपाइला परेको ठाउँमा पुष्प कमल फुलेको थियो । मगधसम्राट अशोकले आफ्नो शासनकालको बीसौं बर्षमा शुभराज्याभिषेकको अवसरमा तीर्थयात्रा गरेको बेला हिदवुधेजाते सक्यमुनि यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको छ । भन्ने अभिलेखसहित शिलास्तम्भ राखेका छन् । सम्राट अशोकले राखेको मार्करस्टोनको वैज्ञानिक उत्खनन भइसकेको छ ।

महाभिनिष्क्रमण अघिसम्म कपिलबस्तुबासीहरुले कुमार सिद्धार्थको २९ बर्षसम्म जन्मोत्सव मनाए ।

यो क्रमलाई गणनागर्दा यो बर्ष २६४१ औं बुद्धजन्मोत्सव हुन्छ । बुद्धजयन्ती मनाउने सिलसिलामा चाहिं बुद्धमहापरिनिर्वाण कालखण्डलाई लिएर मनाउन थालिएको हो । कुशीनगरमा ८० बर्षको उमेरमा बुद्धमहापरिनिर्वाणपछि जयन्ती मनाउन थालिएको हो । वास्तबमा बुद्धजयन्ती महापरिनिर्वाण दिवस हो । प्रश्न उठ्छ । जयन्ती किन भनियो त ?

माथिउल्लेख भएझैं वैशाखपूर्णिमा वा बुद्धपूर्णिमा शाक्यमुनिबुद्धको जीवनकालका तीन ऐतिहासिक महानघटनाको संयोग दिवस हो । सिद्धार्थजन्म,संवोधिलाभ र महापरिनिर्वाण दिवस हो । वैशाख पूर्णिमा तीन संयोग परेको दिन भएकोले बुद्धजयन्ती भनेर नाम दिइएको हो । यसले तीन महानघटनाको स्मरण गराउँछ । यो बर्ष २६४१ औं बुद्धजयन्ती हो ।

बैशाख पूर्णिमासंग गाँसिएका भगवान बुद्धका जीवनका अन्य महत्वपूर्ण घटनाको बारेमा पनि थाहा पाउन पाए बेसहुने थियो ?

महाभिनिष्क्रमण पछि सिद्धार्थलाई गयाको उरुवेल वनमा छ बर्षसम्म दुष्कार तपस्यागर्दा पनि चाहेको ज्ञानलाभ भएन । अन्न ग्रहण नगरीकन हावापानीको भरमा छ बर्षसम्म आध्यात्मिक ज्ञानको खोजमा ध्यानमालिन भएका सिद्धार्थको भौतिक शरीर अत्यन्त कमजोर भइसकेको थियो । छ बर्षसम्म पनि कुनै अन्न ग्रहण बिना पीपल बृक्षमुनि ध्यानसाधनागरी बसेका सिद्धार्थले एकदिन सेनानी निगमका सुजाता नाम गरेकी कन्याले चढाएको खिर भोजन ग्रहणगर्नु भयो । त्यो खिर ४९ गाँस भएको कुरा बौद्ध साहित्यमा उल्लेख छ ।

खिर भोजन ग्रहणपछि सिद्धार्थलाई आफुले खोजेको दिव्यज्ञान प्राप्त भयो । कुनै अन्न ग्रहण नगरी शरीरलाई दुःख कष्ट दिएर आफुले खोजेको ज्ञान नमिल्ने रहस्य सिद्धार्थले अनुभव गरे । यस्तो दिव्य ज्ञानको अनुभुति सिद्धार्थलाई यही वैशाखपूर्णिमाकै दिन भयो । यो जगत संसारमा बस्ने सबै प्राणी जगतले भोगिरहेका दुःखको मुलकारण तृष्णा हो । त्यसलाई निर्मुलगर्न सकिन्छ । त्यसका उपाय बुद्धले अनुभुत गरेका छन् । चार आर्यसत्यको वोध सिद्धार्थलाई भयो । यसभन्दा अघि कहिल्यै कसैबाट नसुनेको ज्ञानको अनुभुति सिद्धार्थलाई भयो । त्यसपछि सिद्धार्थले आफुलाई बुद्धत्वलाभ भएको उद्घोष गरेका थिए ।

सेनानी निगमकी कन्या सुजाताले सुयोग्यवर पाउन र पहिलो गर्भमा पुत्रलाभ होस भन्ने मनोकामना राखेर बृक्ष देवतालाई भाकलगर्दै पुजागर्ने गरेकी थिइन् । व्रत समाप्तीको दिन विहानै दासीलाई बृक्षको ओरीपरी सफासुघरगर्न पठाइन् । दासीले सिद्धार्थलाई देखेर बृक्षदेवता प्रकट भएको कुरा सुजातालाई बताइन् । मनोकामना पूर्णहोस् भनिकन व्रत समाप्तगर्ने दिन बृक्षदेवतालाई सुवर्णपात्रमा खिर भोजन चढाउने निश्चय गरिन् । टाढाबाटै विहानी सूर्यकिरणजस्तै अत्यन्त तेजिलो,चम्किलो उज्यालो मुहारका सिद्धार्थलाई पूर्बदिशाउन्मुखभइ उभिरहेको देखिन् । उनले आफ्नो पुजाबाट बृक्षदेवता प्रशन्नभइ दर्शन दिएको ठानिन् । उनले सिद्धार्थको दिव्यमुहार देखेर स्वयम बृक्षदेवता प्रकट भएको अनुभव गरिन् ।

सुजाताले बृक्षदेवता मानेर सिद्धार्थलाई अर्पण गरेको खिर भोजन ग्रहणपछि भनिन् । हे बृक्ष देवता, आज हजुरले मैले श्रद्धापूर्बक अर्पण गरेको खिर भोजन ग्रहणगर्नु भएर मेरो मनको इच्छापुर्ण गरिदिनुभयो । त्यसैगरी हजुरले चिताएको कुरा पनि पूर्णहोस् भन्ने कामना गर्छु । त्यो दिन वैशाख पूणिमाकै दिन थियो । त्यही दिन सन्याकाल सूर्य छँदै मार विजय गर्नुभयो । प्रथम याममा पूर्बजन्मको ज्ञान,दोस्रो याममा दिव्यचक्षु र तेस्रो याममा प्रतित्यसमुद्पाद अनुभुतगर्दै अरुणागमन हुँदासम्ममा सर्बज्ञ ज्ञानमा पुग्नुभयो । महावंशमा उल्लेख छ । उरुवेलाको वोधिबृक्षमुनि वैशाखपूर्णिमाका दिन महामुनि सिद्धार्थलाई आफुले खोजेको बुद्धत्वज्ञानलाभ भयो । त्यही दिनको संझनामा वैशाखपूर्णिमाको दिन खिर भोजन दानगर्ने बौद्धसंस्कृतिको प्रचलन पनि गाँसिएको छ ।

आफुले खोजेको ज्ञान प्राप्त भएपछि बुद्ध सारनाथतिर लाग्नु भयो । कपिलबस्तु राजदरवारमा छँदा पहिलेका आफ्ना आचार्य कौडन्य लगायत पंचभद्रवर्गीयहरुलाई आफुले प्राप्तगरेका चार आर्यसत्यको उपदेश दिनुभयो । यसलाइ धम्मचक्र प्रवर्तन भनिन्छ । ४५ बर्षसम्म बुद्धले गाउँ नगर घुम्दै ज्ञानको प्रचार गर्नुभयो । अन्त्यमा ८० बर्षको उमेरमा कुशीनगरमा मल्लहरुको उद्यानमा बुद्ध महापरिनिर्वाण हुनुभयो । त्यो दिन पनि वैशाखपूर्णिमा कै दिन थियो । यसरी बुद्ध जीवनीसंग गाँसिएका वैशाखपूर्णिमा सबैका लागि महत्वपूर्ण छ । प्रेरणादायी छ ।

नेपाल र विश्वमा बौद्धहरुको जनसंख्या कति छ ?

गुगलले दिएको जानकारी अनुसार संसारमा सबैभन्दा बढी क्रिश्चियन,दोस्रोमा इस्लाम,तेस्रो हिन्दु र चौथोमा बुद्धधर्मावलम्वीहरु छन् । बुद्धधर्मावलम्बीहरु ८० करोड भन्दा बढी भएको तथ्यांक छ । यो तथ्यांक दश बर्षजति अगाडिको हो । ऐले यो तथ्यांकलाइ बिचार गर्दा ६ अर्ब भन्दाबढीको बिश्वजनसंख्यामा एक अर्ब बौद्ध जनसंख्या भएको विश्वास छ । नेपालको सन्दर्भमा २०६८ को जनगणनामा १०.१० प्रतिशत बौद्ध जनसंख्या देखाइएको छ । वास्तबिकता यो पनि हैन । नेपालका आदीबासी जनजाति थारु समुदाय आफनो धर्मसंग अझै पनि अनभिज्ञ देखिएको छ । उनिहरु मात्र हैन । केही बर्ष अघिसम्म गुरुंग,मगरहरु पनि आफ्नो पुर्खौली धर्मसंग बेखबर थिए । उनिहरुमा चेतना र जागरण आइसकेको छ । अब यी सबैखाले आदीबासी जनजातिहरुले आफ्नो पुर्खाको आदर सम्मानगर्दै पहिचानको राजनीतिक चेतना जगाउनुपर्ने भएको छ ।

बुद्ध उपदेश अनुसरणगर्न कुनै जातजाति विशेषको सीमा भित्र सीमित छैन । बुद्ध उपदेश सबै मानिसहरुका लागि हो । बिनाभेदभाव उपदेश ग्रहणगर्ने सन्देश बुद्ध स्वयमले दिनुभएको छ । नेपाल मात्र यस्तो देश हो । जहाँ बुद्ध उपदेश मान्नेहरुलाई जातीयताको सीमाभित्र सिमित गरिएको छ । यो राम्रो कुरा हैन । बुद्ध उपदेश महासागरभन्दा विशाल छ । हिमाल भन्दा पनि माथि छ । बुद्ध उपदेश ऐले अष्ट्रेलिया,अफ्रिकासम्म पनि पुगिसकेको छ । नेपालमा केही नेताहरु ९५ प्रतिशत हिन्दुधर्मावलम्वी छन् भनेर झुटा भाषण गर्छन् । राष्टीय जनगणनाको परिणाम हेर्ने फुर्सद उनिहरुलाई छैन । धर्मको नाममा हावादारी भाषण दिएर जनतालाई भ्रममापार्न यिनीहरु सिपालु छन् । त्यसैले धर्मनिरपेक्ष राष्टलाई बलियो बनाउनु परेको हो ।

के तराइमा बसोबासगर्ने थारु समुदाय पनि बौद्ध हुन्

नेपालको तराइ प्रदेशमा बसोबासगर्ने थारु समुदायका आदीबासी जनजाति पनि शाक्यवंशीय जत्तिकै प्राचीनकालदेखि बौद्ध हुन् । प्राचीन इतिहास अध्ययन अनुसन्धानगर्दा र समाजिक साँस्कृतिक गतिबिधिहरुको बिश्लेसनगर्दा थारु समुदायका मानिसहरु मुलतः बुद्धधर्मका अनुयायी हुन् । ऐतिहासिक घटना प्रसंगलाइ बिश्लेसनगर्दा थाहा हुन्छ ।

बुद्धकालीन ग्रन्थहरुका रचनाकार आचार्य भिक्षु अमृतानन्दको भनाइ उल्लेखनीय छ । बुद्धका मौलिक उपदेशहरुलाई थेरवाद भनिन्छ । यो शव्दको व्युत्पत्ती थरवट शव्दबाट भएको हो । थरवट प्रदेशमा बसोबासगर्ने मानिसहरु नै थारु हुन् । प्राचीनकालमा लुम्बिनी, कपिलबस्तु र कोलीय गणराज्यको राजधानी देवदह थरवट प्रदेशमा थियो । यी समुदायका आदीबासी जनजाति किसान हुन् । मानिसहरु पशुपालन गर्थे । उव्जाउ जमिन थियो । कुनै समय यो प्रदेशमा प्रशस्त अन्न उव्जनीहुने जग्गा जमिन थरवट समुदायका मानिसहरुको स्वामित्वमा थियो । यिनीहरु काठमाडौं उपत्यकामा बसोबासगर्ने आदीबसी जनजाति ज्यापुहरु जस्तै भूमिपुत्र हुन् । प्राचीन कपिलबस्तु र लुम्बिनी नेपालको तराइप्रदेशमा बिद्यमान छ । राजा शुद्धोदन स्वयमले खेतमा हलो चलाएको ऐतिहासिक प्रसंग उल्लेखनीय छ । प्रत्येक बर्ष खेतमा हलोउत्सव हुन्थ्यो । सिद्धार्थ कुमार सानो छँदाका केही घटना वर्णनीय छ । पानी नपरेर खडेरीपर्दा खेतमा राजाले हलो चलाएमा बर्षा हुने जनविश्वास थियो । एकपटक हलोउत्सवमा शुद्धोदन राजा स्वयमले हलो चलाउने बेलामा सिद्धार्थलाई पनि सुसारेहरुले साथै लगेका थिए । सिद्धार्थलाई यौटा जामुन बृक्षको सितल छहारीमा राखेर उनिहरु हलोउत्सव हेर्न गएका थिए । घाम निकै ढल्किसकेपछि सुसारेहरुले सिद्धार्थलाई लिन गए । उनिहरु आश्चर्य चकित भए । घाम अस्ताउन लागेको थियो । सिद्धार्थलाइ राखिएको जामुन बृक्षको छायाँ हटेको थिएन । सिद्धार्थमा परिरहेको थियो । यस्तो अद्भुत घटना थाहा पाएर राजा शुद्धोदनले बालक सिद्धार्थलाई नमस्कार गरेका थिए ।

अर्कोपटक हलो उत्सवमा खेतमा साना साना प्राणीहरुलाई हिंसक पंक्षीहरुले आहारा बनाएको देखेर सिद्धार्थमा करुणा जागृत भएको थियो । किसान हलोउत्सव र थारु समुदायको प्रसंग बुद्ध, धम्मउपदेश र साँस्कृतिक महोत्सवसंग गाँसिएको छ । कपिलबस्तुबासीहरु मुलतःशाक्यवंशी र थारु समुदायभित्र पर्छन् ।

अर्को एक प्रसंग छ । यो प्रसंग अझै बलियो छ । पूर्बपश्चिम राजमार्गसंगै कैलालीमा यौटा ताल छ । जसलाई घोडघोडी ताल भनिन्छ । यो तालमा रुखका जराहरु जेलिएको छ । तालसंगै यौटा ढिष्कोमा माटाका मुर्तिहरु छन् । घोडा चडेका सिपाहीहरुको आकृति छ । भाला तरवार लिएका सिपाहीहरुको माटोको आकृति छ । थारु समुदायका आदीबासी जनजातिहरु यसलाई आफ्नो कुलदेवता थान भनेर पुजागर्छन् । यसको परम्परागत साँस्कृतिक महत्ता र औचित्यको ऐतिहासिक बिश्लेसनगर्न सकिन्छ । कुन कालखण्डदेखि थारु समुदायले यसलाई कुलदेवताको थान मानेर पुजागर्न थालेका हुन् वैज्ञानिक अनुसन्धानको खाँचो छ । म यो प्रसंगलाई कपिलबस्तुमाथि बिडुडभको आक्रमणसंग जोडेर बिश्लेषण गर्न चाहन्छु ।

बिडुडभ कपिलबस्तुका शाक्यबंशीय राजा महानामका बेजातीय पत्नीबाट जन्मिएका छोरी वासभखत्तियाका छोरा थिए । यिनी आफ्ना पिताराजालाई मारेर राजा भएपछि आफुलाई सानोछँदा मामलीमा बेइजत गरेको बदलालिन यिनले कपिलबस्तुमाथि हमला गरे । सगरहवामा सतहत्तर हजार शाक्यहरुको हत्यागरे । आजित भएर महानामले आफ्ना नातिसंग हत्या हिंसा बन्दगर्न शर्त राखे । आफु तालबाट नुहाएर नफर्किएसम्म हत्या हिंसा रोक्न अनुरोध गरे । बिडुडभले मान्यो । महानाम कपिलबस्तुबाट अलिपरको तालमा पुगेर नुहाउन पसे । उनले तालभित्रको रुखको जरामा आफ्नो केश बाँधेर जल समाधि लिए । घोडचडी सिपाहींहरु तालको ओरीपरि पहरा दिएर बसेका थिए । यो ऐतिहासिक घटनालाई विश्लेसनगर्दा अद्यापि घोडाघोडी तालको किनारमा थारु समुदायले आफ्ना पुर्खाको नाममा कुलदेवता पुजागर्नु आफैमा यौटा ऐतिहासिक रहस्य गाँसिएको छ । महानामका सिपाहीहरु थारु समुदायकै थिए । विश्वासगर्न सकिन्छ । यहीकारण उनिहरु आफ्ना पुर्खालाई कुलदेवताको रुपमा पुजासत्कार गर्छन् । महानाम राजा बुद्धका पिता शुद्धोदनका भाइका छोरा थिए । यिनीहरु सबै बुद्ध र धम्मका अनुयायी थिए ।

केही बर्ष अघिसम्म तराइका थारु समुदायले बुद्धजन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरमा उव्जीएको पीपलबृक्षलाई कुलदेवता भन्दै जलचढाउने गर्थे । मायादेवी मन्दिर उत्खननपछि अगाडिको अर्को पीपलबृक्षलाई पनि जलचढाउने गरेका थिए । पीपल बृक्षलाई देवताको रुपमा पुज्ने चलन प्राचीनकालदेखि थियो ।

देवदहमा लुम्बिनी कै जस्तो सिद्धार्थ जन्मको प्रतिमुर्ति मायादेवी स्थापना गरिएको छ । त्यहाँ आसपासका थारुसमुदायका महिलाले आफुमाथि बुद्धको प्रभाव परेको बताउने गछन् । कहिंकतै हिंसा भयो भने अनर्थ हुने संकेत गर्छन् । मायादेवीको मन्दिरमा नित्य पानी चढाउने गर्छन् । दीयो बत्ती बाल्छन् । यो सांस्कृतिक सम्बन्ध उनिहरुको पुर्खौली आस्थाको प्रतिक हो । उनिहरु आदीकाल देखि नै बुद्धधर्मावलम्वी भएको आन्तरिक चेतना हो ।

नेपालमा बुद्धको नाममा अन्तर्राष्ट्रिय पर्यटक भित्राउन सकिन्छ । यो सम्भावना पुरागर्न कस्तो खालको कार्यक्रम ल्याउनुपर्ला ?

नेपाल बुद्धको जन्मस्थल हो । लुम्बिनी बौद्धहरुको पवित्रतीर्थस्थल हो । यो कुरालाई हाम्रा छिमेकी मुलुक भारत र चीनले राम्रोसंग बुझेका छन् । चीनले तिब्बतको सिगात्सेसम्म ल्याएको रेलमार्गलाई लुम्बिनीसम्म बिस्तारगर्ने कुरा गरिरहेको छ । नेपालले पनि त्यो प्रस्ताबलाई उच्चस्तरमा समर्थन गरेको छ । यस्तै भारतले पनि बुद्ध परिक्रमापथको अवधारणा ल्याएको छ । बुद्ध परिक्रमापथको मतलव लुम्बिनी,बुद्धगया,कुशीनगर र सारनाथलाई सुगम यात्राको सुबिधा दिने नै हो । यसलाई सकारात्मक सोचका रुपमा लिनुपर्छ । नेपालमा धार्मिक पर्यटनलाई प्रोत्साहन दिन यस किसिमको सोचलाई पूर्बाग्रह रहित ढंगले हेरिनुपर्छ ।

चीनको तिब्बतमा रहेको मानसरोबरको यात्रागर्न भारतको उत्तरप्रदेश सरकारले प्रतियात्री एक लाख रुपियाँ अनुदान दिन सुरुगरेको छ । यसबाट धार्मिक तीर्थयात्रालाई प्रोत्साहान मिलेको छ । नेपालमा पनि लुम्बिनी दर्शनको लागि सरकारले विशेष सहुलियतको व्याबस्था मिलाउनुपर्छ । भैरहवाको गौतमबुद्ध अन्तरराष्टीय बिमानस्थल निर्माण सम्पन्न भएपछि लुम्बिनी दर्शनको लागि आउने अन्तरराष्टीय पर्यटकहरु बढ्छन् । सरकारले विशेष् प्राथमिकता दिनुपर्छ । दोस्रो अन्तरराष्टीय विमानस्थल निर्माण कछुवा तालमा छ । साथसाथै सडकमार्ग पनि सुबिधायुक्त हुनु जरुरी छ । बुद्धको नाम जपेर अन्तरराष्टिय क्षेत्रबाट पर्यटक ल्याउनुपर्छ भन्नेहरुको जमात बढेको देखिन्छ । लुम्बिनी गुरुयोजनालाई पुरागर्न सरकारको कछुवाताल छ ।

लुम्बिनी गुरुयोजना पुरागर्न सरकारले तीन अर्ब रुपियाँको बन्दोबस्त गर्नुपर्छ भनेर केही बर्ष अघि पूर्बसभामुखले संसदमा पेसगरेको प्रतिबेदन कहाँ छ ? थाहा छैन । कार्यक्रम मात्र ल्याएर के गर्नु ? कार्यान्वयन राम्रो छैन । सरकारको इच्छाशक्ति बलियो देखिंदैन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: