सुरेन्द्र पौडेल, काठमाडौँ, भदौ २५- थाइल्यान्डका राजा भूमिबोल आदिल्यादेजको चौरासी पूजाको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय मेलामा नेपाल झल्किने बगैंचा बनाउन सरकारले विशेष वनस्पति पठाउने भएको छ।
आफूलाई राजा जनकको सन्तान मान्ने थाई राजा भूमिबोलको आउँदो कात्तिकमा चौरासी पूजा हुँदैछ। हिन्दु र बौद्ध धर्मअनुसार ८४ औं जन्मदिनको अवसरमा यस्तो पूजा गरिन्छ। थाई रानीको ८० औं जन्मदिन र युवराजको ६० औं जन्मदिन पनि यही सेरोफेरोमा पर्छ।
यही मेलोमा थाइल्यान्डको कृषि मन्त्रालयले कात्तिक २३ देखि फागुन ३ सम्म (९९ दिन) राजधानी बैंककको च्याङमाईस्थत ‘रोयल फ्लोरा राजा प्रुएक ‘ पार्कमा अन्तर्राष्ट्रिय कृषि मेला गर्न लागेको हो।
मेलामा नेपाली बगैंचा निर्माण गर्न वर, पिपल, रुद्राक्ष, नेपाली दुबो, सयपत्री र मखमली फूल पठाउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वनस्पति छनोट गरी थाइल्यान्ड पठाउन कृषि विभागको क्वारेन्टाइन महाशाखाले परराष्ट्रलाई सहयोग गरिरहेको छ।
परराष्ट्रका उपसचिव दिलीपकुमार पौडेलले नेपाल झल्किने बगैंचा निर्माण गर्न वनस्पति छनोट गरी थाई विदेश मन्त्रालयसँग पत्राचार गरिरहेको जानकारी दिए। ‘बगैंचा बनाउने जिम्मा नेपालले पाइसक्यो, यो-यो वनस्पति रोप्दैछौं भनी अनुमति मागेका छौं, ‘ उनले भने, ‘जवाफ आउने बित्तिकै पठाउँछौं।’ बगैंचाको नेपाल झल्किने हिस्सा झन्डै १२ आनाको हुनेछ। Read the rest of this entry »