Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध, तिमी र तिम्रो जन्म देश नेपाल

Posted by Ram Kumar Shrestha on December 22, 2010

By डा.  हरिकुमार श्रेष्ठ,  ताइपेई ताइवान

बुद्ध, तिमी र तिम्रा शान्तिका सन्देशहरु विश्व प्रसिद्ध बन्दैछन्
तर तिमी जन्मे हुर्केको देश नेपालमा भने
तिम्रा सबै चिजहरु बत्तिमुनिको अध्यारो बन्दैछन्
त्यतिमात्र कहाँ हो र?
तिम्रा शान्तिका सन्देशहरु
दिन प्रतिदिन अन्धकार कोठेरीको सन्दुकभित्र कैद बनाईंदैछन् ।

म त तिम्रा शान्ति सन्देश र उपदेशहरुका इमान्दार पालक हुँ
त्यसैले त तिम्राबारेमा नकारात्मक भ्रमहरु फैलदा
मेरो पनि टाउको दुख्छ
अनि दुःख र पीडाको छटपटि कसैलाई सुनाउन मन लाग्छ
तर कठै ! यहाँ त जस्ले सुन्नु पर्ने थियो सुन्नेवाला नै छैनन्
जसले गर्नु पर्ने थियो गर्नेवाला नै छैन
किनकि उनीहरु त तिम्रो जन्मथलोलाई
कता कता टेण्डर पो हाल्न खोज्दै छन क्यारे ।

त्यसैले त आज तिम्रो जन्मस्थान लुटिंदैछ
तिम्रै नजिकको छिमेकीले
तिम्रो जन्मस्थानको अस्तित्व निमिट्यान्न पर्न खोज्दैछ
अनि विश्वभरी
तिम्रो जन्मस्थानबारे भ्रम फैलाउन तल्लिन छ ।

तर तिम्रै देशका रक्षकहरु भने
दिन प्रतिदिन भक्षक बन्दैछन्
तिम्रो जन्मस्थान लुम्बिनी सहितको कपिलबस्तु पनि
कोशी र महाकाली जस्तै बनाउन त लागिरहेका होइनन
आशंका लागिरहेछ –
आँफैले अग्रसरता दर्शाउनु पर्ने काममा पनि
जनआवाज जति चर्के पनि
कानमा तेल हालेर बसेको देखेर ।

त्यसैले त बुद्ध यो देशमा तिम्रो अभावको महसुश भएको छ
किनकि तिमी त स्वच्छ छबिका थियौ
तिमीमा न त लोभलालच थियो न त क्रोध नै
न त आफ्नो नाता कुटुम्ब र पराइ भन्ने भेदभाव नै थियो
तिम्रो अभावमा आज त यहाँ जे नहुनु पर्ने थियो त्यो सबै भैरहेछ
जे हुनु पर्ने थियो त्यो सबै हराइरहेछ ।

बुद्ध! तिम्रो पुनर्जन्म खटकिरहेछ
आज तिम्रै देशमा
आफ्नै देशको वास्तविक साँध किल्ला छुट्याउन पनि
तिम्रै नाममा व्यापार गर्न उद्धतहरुलाई दण्डित गर्न पनि
दृष्टिभ्रम परेकाहरु भ्रममुक्त गर्न पनि
तिम्रो जन्मस्थान लुम्बिनी सहितको नक्कली कपिलबस्तु
निर्माण कार्य नै पुरा हुने बेलासम्म पनि
मुख खोल्न नस्कने लाचार छायाँहरुलाई
अस्तित्वहीन बनाउन पनि ।

Leave a comment